सर्वप्रथम, व्यवस्था र अवस्था परिवर्तनका लागि भयका सहिद विशेषतः भदौ २३÷२४ का जेनेजी सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
वर्तमान विषम परिस्थितिमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पूर्ण नेपाली नागरिकको गम्भीर चिन्ताको विषय बनेको छ । यस निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले हाम्रो देश, हामी नागरिक र भावी पुस्ताको भाग्य–भविष्यको खाका कोर्न सक्लान् कि नसक्लान् भन्ने प्रश्न आम नागरिकको मनमा उठिरहेको छ ।
कस्ता व्यक्ति र कस्ता राजनीतिक दल सत्ता र शक्तिमा पुग्दैछन् ? सत्ता सम्हाल्ने जनप्रतिनिधि र राजनीतिक दलको नीति, सिद्धान्त र कार्यदिशाले जनयुद्ध, जेनेजी आन्दोलन र सहिदप्रतिको सम्मानलाई स्थान दिन्छ कि दिँदैन ? यस्ता प्रश्नहरूले आज नेपाली समाजलाई गम्भीर रूपमा घेरिरहेको छ ।
२००३ सालदेखि २०८२ भदौ २२ अघिसम्म सत्ता सम्हाल्ने केही राजनीतिक दल र नेताहरूको गैरजिम्मेवार रवैयाका कारण देशले पटक–पटक ठूलो मानवीय, भौतिक र आर्थिक क्षति बेहोर्नु परेको यथार्थ हामीसामु छ । स्थिर सरकारको अभाव, रोजगारीको वातावरण नहुनु र राज्यको कमजोर उत्तरदायित्वका कारण दैनिक हजारौँ नेपाली युवाहरू विदेशिन बाध्य छन् ।
विदेशी भाषा, सीप र क्षमता भन्दा बाहिरको काम, प्रतिकूल हावापानी र स्वास्थ्य जोखिमका कारण दैनिक २०–२५ जना नेपाली नागरिकको शव बाकसमा नेपाल फर्किनु अत्यन्तै दुःखद र लज्जास्पद अवस्था हो। रेमिटेन्सले अर्थतन्त्र चलेको देखिए पनि राज्य उत्तरदायी नहुँदा हाम्रा दाजुभाइ, दिदीबहिनीहरूले कहिलेसम्म यस्तो कहालीलाग्दो पीडा भोग्नुपर्ने ? यसको जिम्मेवार को हो ? के राज्य सञ्चालन गर्ने राजनीतिक दलहरू जिम्मेवार होइनन् ?
व्यवस्था बदलियो, तर आम जनता अझै भुइँमान्छेकै अवस्थामा छन् । नेपाली युवालाई स्वदेशमै रोजगारी दिने, युवाशक्तिलाई देशमै टिकाइराख्ने वातावरण बनाउने चिन्ता राज्यसत्ता सम्हाल्ने व्यक्ति र दलको पहिलो दायित्व हुनुपर्छ । यसको लागि दिगो विकास, उद्योग– कलकारखानाको स्थापना, भूगोलअनुसारका स्रोतसाधन—वन, जल, जडीबुटीको सदुपयोग गर्दै उत्पादन र उद्यमशीलता प्रवद्र्धन गर्न राज्यले युवालाई केन्द्रमा राख्नैपर्छ । युवा स्वरोजगार र रोजगारी सिर्जना गर्नु आजको प्रमुख आवश्यकता हो । यसै कारण, फागुन २१ को निर्वाचनमा मतदान गर्दा हामी सबैले एकपटक गम्भीर भएर सोच्न आवश्यक छ । मतदान गर्दा राष्ट्र निर्माणमा सही पहल कदमी लिन सक्ने, अवस्था परिवर्तनको पक्षधर राजनीतिक दल र व्यक्तिलाई चिन्नु आवश्यक छ । निर्वाचनपछि बन्ने सरकारले लगानीकर्ता, उद्योगी र व्यवसायीका लागि सुरक्षित लगानी वातावरण सिर्जना गर्दै उद्यमशीलतामुखी नीति अवलम्बन गर्नै पर्छ ।
देश आज जटिल परिस्थितिबाट गुज्रिरहेको छ । यसको निकास हामी सबैको सामूहिक दायित्व हो । परिवर्तनका वास्तविक उत्तराधिकारी चिन्नु आवश्यक छ, तर सबै मूल्य–मान्यतालाई लत्याउने छुट कसैलाई छैन । समृद्ध राष्ट्र, स्वदेशमै रोजगारी, उद्यमशीलता, लगानीको सुरक्षा, जनताप्रति न्याय र सुशासनसहित उत्तरदायी सरकार आजको राष्ट्रिय आवश्यकता हो ।
त्यसैले प्रतिनिधिसभा निर्वाचन हाम्रो सही छनोट गर्ने ऐतिहासिक अवसर हो । हाम्रो एक मतले सही व्यक्ति र सही दललाई सत्तामा पु¥याउन सक्छ । फागुन २१ पछाडि देश नयाँ मोडमा प्रवेश गर्नेछ भन्ने विश्वास हामीले गरेका छौँ । हामी आशा गर्दछौँ तपाईंहरू सबैले होसपूर्वक मतदान गरी भावी सन्ततिका लागि सुरक्षित र समृद्ध भविष्यको खाका कोर्नुहुनेछ र देशलाई निकास दिनुहुनेछ । फागुन २१ कोनिर्वाचनमा हाम्रो सहभागिता र उमेदवार छनोट समृद्ध राष्ट्र को जिम्मेवारी हो ।

