छसस । संविधान सभा भंग हुनु अघि आकाशै खसाउने गरी सडक तताउने, टायर बाल्ने, चक्का जाम गरी नेपालै ठप्प पार्ने तमुवान, मगरात, नेवा, खम्बुवान, लिम्बुवान, खसान आदि जस्ता जातीय संगठनहरु अहिले ‘संविधान संशोधन’ गर्न तरखर गरिरहेको बेला कहाँ छन्, यतिबेला के गर्दैछन् ?
ऐतिहासिक पृष्ठभूमि र पहिचानसहितको संघीय राज्य प्राप्तिको खातिर पूर्व–पश्चिम, तराई–मधेश, हिमाल–पहाड सर्वत्र बन्द गरेर आन्दोलित हुने ती संगठनहरु, मोर्चाहरु ‘संविधान संशोधन कार्यदल’ गठन भएर धमाधम कार्य थालनी गरिरहदा यी र यस्ता प्रावधानहरु राख्नुपर्छ भन्दै जागरुक भएर अगाडि बढ्नुपर्ने बेला होइन र ?
पूर्वमा लिम्बुवान, खम्बुवान राज्यको माग गर्दै आएकाहरु संविधान सभा विघटन हुनु अगाडि लिम्बुवान, खम्बुवान राज्यको घोषणा सँगसँगै स्वायत्त सरकार गठन गरेर स्वायत्तताको अभ्यास थाल्ने चेतावनी दिनेहरु तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान सभा विघटन गरेपछि देखि यता कतै देखिएका छैनन् । चुपचाप छन् । जबकी यी लिम्बुवान, खम्बुवानवादीहरुले लिम्बुवान, खम्बुवान अर्थात किरात राज्य प्राप्तिको लागि भन्दै लिम्बुवान र खम्बुवान भोलन्टियर्स फोर्स गठन भएको दाबी समेत सोही बेला गरिसकेका थिए ।
यतिबेला ती लिम्बुवान, खम्बुवानवादीहरु कहाँ, के गर्दैछन् ? अनि स्वायत्तता र राज्यको पहरेदार भोलन्टियर्स फोर्स अहिले के गर्दै छन् ? अस्तित्वमै छन् कि ती फोर्स विघटन गरिए ? जिज्ञासाकै विषय बनेको छ ।
अहिले यावत कुरा छाडेर रास्वपा सरकारले संविधान संशोधन कार्यदललाई जातीय संगठनहरुले आआफ्ना सवालहरुलाई, संशोधित संविधानमा लिपिबद्ध गराउनुमा जोड दिऔं ।

