(सुशाशन र सम्बृद्धिका लागि नेपाल र नेपाली समाजको जातीय, भाषिक र सांस्कृतिक बिबिधतालाई बुझ्न सक्ने सवल, सक्षम र इमान्दार राजनीतिक नेतृत्वको वकालत गर्नुहुने प्रा. डा. युवराज लिम्बू सँग छहरा सम्बाददाताले गरेको अन्तर्वार्ता)
प्रश्न १) हालै नेपालमा भएको Gen Z आन्दोलनलाई यहाँले कसरि हेर्नु भएको छ ?
हामीले geopolitics, conspiracy theory आदि लाई एकै छिन् पर राखेर नेपालको वर्तमान सामाजिक, आर्थिक स्थितिलाई हेर्ने हो भने यहाँ कुशाशन र भ्रष्टाचारले सीमा नाघी सकेको छ l जनताहरु दिनानुदिन गरिवीको चपेटामा पर्नु परेको छ l हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप र राजनीतिक पार्टीहरुको भागबन्डा हुँदा योग्य र सक्षम व्यक्तिले अवसर पाउने अवस्था लगभग बन्द नै भईसकेको छ l एकातिर नेपाली जनताहरु अभाव र गरिवीबाट कसरि छुटकारा पाउने भनेर सोच्न बाध्य भईरहेका छन् भने अर्को तिर राजनीतिक नेताहरुको विलाशी जीवन शैली र महलहरु जनताले देखि रहेका छन् l यहि समयमा nepo babies को उदय सुरु भयो, जनताका छोराछोरी भने जतिनै पढे पनि अन्त्यमा खाडी मुलुक तिर नै जानु पर्ने बाध्यता सिर्जना हुँदै गयो l यहि नै आज Gen Z आन्दोलनको प्रमुख कारण हो l
प्रश्न २) तपाईँको बिचारमा नेपालको Gen Z आन्दोलन राजनीतिक आन्दोलन थियो वा यस्का अन्य कारणहरु थिए ?
सहि प्रश्न गर्नु भयो l Gen Z, यो १३ देखि २८ बर्ष उमेर समुहको पुस्ता आफैँमा नेपालको इतिहास र राजनीति बुझिसकेको उमेर समुह होइन, बुझ्दै गरेको उमेर समुह हो l अघिल्लो पुस्ता र यो पुस्तामा केहि फरक छ l यो internet को युगमा हुर्किएको internet generation वा digital natives पुस्ता हो l आज हरेक अत्यावाधिक सूचना र ज्ञान computer र internet को मध्यमबाट प्राप्त गर्न सकिन्छ l घरमा बसेर पनि संसार भरिको समाचार र अवस्था थाहा पाउन सकिन्छ l स्वभाविक रुपमै यो पुस्ताले अन्य बिकशित मुलुकहरुको अवस्था र आफ्नो अवस्था तुलना गर्ने नै भयो अनि बिकशित मुलुकहरु जस्तै आफूलाई पनि हुन पाए हुन्थ्यो भनेर कल्पना गर्ने नै भयो l आज प्रविधिको बिकाशको कारण प्रत्येकको हात हातमा मोबाइल फोन छ सामाजिक संजालमा पहुँच छ अनि सहज रुपमै प्रत्येक घटना क्रमहरुको अत्यावाधिक जानकारी प्राप्त गर्न सहज छ l यो देशको अवस्था बारे यो पुस्ता पनि अनभिज्ञ छैन l यो देशमा मौलाएको कुशाशन र भ्रष्टाचार यो पुस्ताले बुझ्दै छ l यो उमेर समुहले एकातिर आफ्नो समकालीन nepo babies को उदय भएको देखिरहेको छ भने अर्को तिर आफ्नो उज्यालो भविष्य यो देशमा देखिरहेको छैन l जनताका छोराछोरीहरुलाई खाडी मुलुकमा गएर पसिना बगाउनु पर्ने बाध्यता छ र त्यहिँ पसिना बगाएर पठाएको रकमले देश चल्नु परेको छ l नेताहरुले जनताहरुलाई मतदाता र करदाता मात्र सम्झी रहे अनि जनताका छोराछोरीलाई विदेश जाने र रकम पठाउने युवा मात्र सम्झी रहे l यो पुस्ताले यी सबै कुराहरु बुझीरहेको छ l यस्तो अवस्थामा तत्कालिन सरकारले जनताको सहमति बेगर सामाजिक संजालहरुमा प्रतिबन्ध लगाउने निर्णय गर्यो l यसैको परिणाम स्वत स्फूर्त रुपमा नेपालमा यो Gen Z आन्दोलन भएको हो l
प्रश्न ३) तपाईंले भन्नु भएको स्वत स्फूर्त Gen Z आन्दोलनमा घुसपैठ भएको हो ?
म सामाजिक संजाल र उपलब्ध समाचारहरु हेरिरहेको थिएँ l Gen Z आन्दोलनमा संलग्न युवाहरुको विचार र अन्तर्वार्ताहरु सके सम्म हेरी रहेको थिएँ l कुनैमा पनि राजनीतिक नारा थिएन बरु नेपालको कर्मचारीतन्त्रमा मौलाएका कुशाशनहरु अनि कुनै पनि पद पाउन राजनीतिक पार्टीहरुमा धाउनु पर्ने बाध्यताहरु र पदको मोल मोलाई हुने लगायत कुशाशन र भ्रष्टाचारका बिरुद्ध यो आन्दोलन लक्षित रहेको अभिव्यक्तिहरु नै प्रधान रुपमा आईरहेका थिए l तर जब भाद्र २३ मा सरकारले विवेक गुमाएर शान्तिपूर्ण रुपमा रहेका प्रदर्शनकरीहरु माथि एक्कासी गोलि चलायो जस्ले कतिपय त स्कुलड्रेसमा नै भयेका दर्जनौँ युवाहरुको ज्यान लियो र सयौं घाइते भए त्यसपछि भने आन्दोलनको स्वरूप अलिक भिन्न हुन पुग्यो l यस्तो संकट र अन्योल अवस्थाको फाइदा उठाउँदै केहि राजनीतिक समुहहरु आफ्नो राजनीतिक फाइदाका लागि आन्दोलनमा घुसपैठ भएको अन्दाज गर्न सकिन्छ l त्यस पछि देखिएका देशका सार्वजनिक सम्पतिहरु माथि भएका आगजनी लगायतका घटनाहरु बाट यो आन्दोलन Gen Z को नियन्त्रण भन्दा बाहिर गएको अनुमान गर्न सकिन्छ l त्यसो त तत्कालिन सरकारको गैर जिम्मेवारी पूर्ण व्यवहार नै मुख्य रुपमा यस घटनाक्रमहरुको कारण हो l तत्कालिन प्रधानमन्त्रीको राजिनामा पश्चात नयाँ सरकार गठन गर्ने क्रममा उठेका बिभिन्न राजनीतिक मागहरुलाई हेर्दा बर्तमान कुशाशन र भ्रष्ट्राचार बिरुद्ध भएको आन्दोलनमा राजनीतिक घुसपैठ भएको थियो भनेर भन्न सकिन्छ l
प्रश्न ४) यो आन्दोलनको सफलता पश्चात देशले नयाँ महिला प्रधान मन्त्री पाएको छ साथै आगामी निर्वाचनको मिती सहित प्रतिनिधि सभा पनि बिघटन भएको छ l यो आन्दोलनको सुरक्षित अवतरण कसरि हुन सक्थ्यो ?
हो मैले माथि नै भनि सकेको छु, यो आन्दोलन मुख्य त नेपालको राजनीतिमा, न्यायालयमा, कर्मचारीतन्त्रमा हरेक क्षेत्रमा मौलाएको कुशाशन र भ्रष्टाचार बिरुद्ध स्वाभिमानी युवाहरुको आन्दोलन थियो l संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेसिता वर्तमान नेपालको संबिधान र नेपाल राज्यको चार आधारभूत खम्बाहरु हुन् l वर्तमान अवस्थामा बिगतका उपलब्धिको रक्षा गर्दै सुशाशन र सम्वृद्धिको लागि अन्तरिम सरकार र नयाँ जनादेशको लागि तयार हुनु नै यस आन्दोलनको सुरक्षित अवतरण हो l
प्रश्न ५) सुशाशन र सम्बृद्धिका लागि नेपालको राजनीति अब कस्तो हुनु पर्छ ?
प्रथम त राजनीतिक नेतृत्व पूर्ण रुपले नेपाल बुझेको इमान्दार र सक्षम हुनु पर्दछ किनकि देश बिकाश गर्ने भनेको सवल र सक्षम राजनीतिक नेतृत्वले नै हो, उदाहरण हेर्नुहोस् त; सिंगापुर, मलेशिया, चिन, UAE आदि l नेपालको वास्तविक सामाजिक र सांस्कृतिक धरातल नबुझी एकोहोरो बिकाशको नाम जपेर मात्र यो देशको बिकाश सम्भव छैन l नेपाल जाती, भाषा र संस्कृतिको हिसाबले बिबिधता युक्त छ, यहाँका आदिवासीहरुको संख्या ठुलो छ र उनीहरु सांस्कृतिक रुपमा सम्पन्न छन् तर उनीहरु राज्यको मूलधार बाट टाढा छन् l अझ यहाँ दलित शिल्पी समुदाय, मधेशी समुदाय पनि राज्यको मुलधारमा आउन सकेको छैन l यहाँ सामन्तवाद यथावत छ, लैंगीक बिभेदता बिध्यमान छ l यी सबै कुराहरुको उचित सम्बोधन गरेर सवल र सक्षम राजनीतिक नेतृत्वबाट बिज्ञान र प्रविधीको सदुपयोग भयो भने यो देशको बिकाश सम्भव छ l
प्रश्न ६) तपाईँले भन्नु भयो नेपालमा आदिवासीहरुको संख्या ठुलो छ र उनीहरु संस्कृतिक रुपले सम्पन्न पनि छन् तर राज्यको मुलधारमा उनीहरुको संस्कृती छैन l यो कसरि भयो ?
हो यहिनै आजको पेचिलो सवाल हो l नेपाल सबै अल्पसंख्यक जाती, समुदाय र संस्कृतीहरुको सम्मिश्रणले बनेको राज्य हो तर शाशन र राज्यको मूलधारमा सबै छैनन् जबकी सबैले काँधमा काँध मिलाए मात्र यो देशको बिकाश सम्भव छ l बिशेष गरेर यहाँका आदिवासीहरुले राजनीति र आफ्नो संस्कृती बिचको अन्तरसम्बन्ध बुझ्न सकेनन्, आफ्नो संस्कृतीलाई मनोरन्जनात्मक रुपमा तेर्सो चेतनाले मात्र हेरिरहे जस्लाई राजनीतिको ठाडो चेतना अर्थात् राजनीतिक शक्तिले सजिलै अधिनस्थ बनाइदियो l यसैको फल स्वरूप राजनीतिमा प्रभुत्वशाली र वर्चश्वशाली समुदाय अर्थात् खस आर्य समुदायको सांस्कृतिक पहिचान राज्यको मूलधारमा आउन सक्यो l यहिकारण बहुसांस्कृतिक राज्य नेपालको वास्तविक राष्ट्रिय पहिचान बिश्व सामु आउन सकेन l अब नेपालको राष्ट्रिय पहिचान अर्थात् national identity नयाँ रुपमा परिभाषित हुनु पर्दछ l देशको राष्ट्रिय पहिचान मजबुत भयो भने देशमा सुशाशन र सम्वृद्धि सम्भव छ, उदाहरणका लागि हेर्नुहोस; चिन, जापान, कोरिया आदि l
प्रश्न ७) नेपालको राष्ट्रिय पहिचान नयाँ रुमपा परिभाषित हुनु पर्दछ भनेर भन्नुभयो, त्यो भनेको के हो ?
कुनै पनि नागरिकले संस्कृति, भाषा, इतिहास वा अन्य कुनै प्रतिक आदिको मुल्य र मान्यता अनुसार आफु जुन देश वा राज्यको नागरिक हो भनेर बुझ्दछ र गर्व गर्दछ त्यहि नै त्यस देशको राष्ट्रिय पहिचान हो l राजतन्त्रात्मक पंचायतकालिन नेपालको हाम्रो राजा हाम्रो देश, हाम्रो भाषा हाम्रो भेष बाट केवल हाम्रो राजा, हाम्रो देश मात्र हटेको छ तर हाम्रो भाषा हाम्रो भेषको परिभाषा र बुझाई उही नै छ l उही कोशी, उही गण्डकी अनि उही बागमती l पंचायतकालिन नेपालमा जस्तै उही चाड पर्व उही राष्ट्रिय चिन्ह र उही चेतना, त्यसैले यस बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देशको वास्तविक रास्ट्रिय पहिचान बन्न सकेको छैन l अब बहुसांस्कृतिक नेपालले अवलम्बन गरेको राजनीतिक र नागरिक राष्ट्रवादको दृष्टिकोण साथै सांस्कृतिक राष्ट्रवाद अर्थात् cultural nationalism लाई स्थापित गर्नु पर्दछ l हामी यहि बहुसांस्कृतिक चेतनाले एक हुनु पर्दछ l हामी भाषिक बिबिधता साथै बिबिध परम्परा र रीतिरिवाजको चेतनाले एक हुनु पर्दछ l यी सबै कुराहरुको उचित सम्बोधन भयो भने मात्र नेपालको भविष्य सुखद र सम्बृद्ध हुनेछ l

