झलक शाही
नेपाल प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले सम्पन्न एक सुन्दर र सम्भावनायुक्त राष्ट्र हो । हिमाल, पहाड र तराईको विविध भौगोलिक संरचना, बहुजातीय तथा बहुसांस्कृतिक समाज, धार्मिक सहिष्णुता, मौलिक परम्परा र अतिथि सत्कारको संस्कृतिले नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यहरूमध्ये एक बनाएको छ । यिनै विशेषताहरूका कारण पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै आएको छ । आजको आधुनिक विश्वमा पर्यटन केवल मनोरञ्जन वा घुमघामको माध्यम मात्र नभई राष्ट्रको आर्थिक समृद्धि, सामाजिक विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रमुख साधन बनेको छ ।
नेपालको आर्थिक विकासमा पर्यटनको योगदान बहुआयामिक छ । सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विदेशी मुद्रा आर्जन हो । प्रत्येक वर्ष नेपाल भ्रमण गर्न आउने हजारौं विदेशी पर्यटकहरूले होटल, यातायात, भोजन, गाइड सेवा, ट्रेकिङ, हस्तकला सामग्री तथा अन्य सेवाहरूमा खर्च गर्छन् । यसबाट देशमा ठूलो मात्रामा विदेशी मुद्रा भित्रिन्छ । नेपालको अर्थतन्त्र आयातमा बढी निर्भर भएकाले विदेशी मुद्रा अत्यन्त आवश्यक हुन्छ । पर्यटनबाट प्राप्त हुने विदेशी मुद्रा देशको व्यापार घाटा घटाउन र भुक्तानी सन्तुलन सुधार गर्न महत्वपूर्ण माध्यम बन्न सक्छ ।
पर्यटन क्षेत्र रोजगारी सिर्जनाको हिसाबले पनि अत्यन्त प्रभावकारी छ । यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौं मानिसहरूलाई रोजगारी प्रदान गरेको
छ । होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी, गाइड, पोर्टर, चालक, हस्तकला व्यवसायी, किसान, स्थानीय व्यापारी लगायत विभिन्न पेशामा आबद्ध व्यक्तिहरू पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका बासिन्दाहरूका लागि पर्यटन आयआर्जनको प्रमुख स्रोत बनेको छ । यसले गरिबी न्यूनीकरण, आर्थिक आत्मनिर्भरता र जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ ।
त्यसैगरी, पर्यटनले स्थानीय उत्पादन तथा उद्योगहरूको विकासमा समेत सकारात्मक प्रभाव पार्दछ । नेपालका विभिन्न स्थानमा उत्पादन हुने हस्तकला सामग्री, ढाका कपडा, काष्ठकला, धातुकला, थाङ्का चित्रकला, स्थानीय खाद्य परिकार तथा कृषि उत्पादनहरूको माग पर्यटनसँगै बढ्दै गएको छ । यसले साना तथा मझौला उद्योगहरूको प्रवद्र्धन गरी स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाएको छ । पर्यटनका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच पाउने अवसर पाएको छ ।
नेपालको सांस्कृतिक तथा धार्मिक सम्पदाहरू पनि पर्यटन विकासका महत्वपूर्ण आधार हुन् । देशभर रहेका मन्दिर, गुम्बा, स्तूप, ऐतिहासिक दरबार तथा सांस्कृतिक सम्पदाहरूले पर्यटकहरूलाई आकर्षित गरिरहेका
छन् । विशेषगरी लुम्बिनी, पशुपतिनाथ मन्दिर, जनकपुरधाम, स्वयम्भूनाथ स्तूप र बौद्धनाथ स्तूप जस्ता धार्मिक स्थलहरूले नेपाललाई विश्वभर परिचित बनाएका छन् । यी स्थलहरू केवल धार्मिक आस्थाका केन्द्र मात्र नभई आर्थिक गतिविधिका केन्द्र पनि बनेका छन् । धार्मिक पर्यटनले होटल, यातायात, पसल तथा अन्य सेवाहरूमा आर्थिक क्रियाकलाप बढाउन महत्वपूर्ण योगदान पु¥याउँछ ।
प्राकृतिक दृष्टिले पनि नेपाल अत्यन्त धनी छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत अन्य हिमालहरू, सुन्दर तालतलैया, हरियाली वनजंगल तथा राष्ट्रिय निकुञ्जहरूले नेपाललाई साहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गरेका छन् । ट्रेकिङ, पर्वतारोहण, राफ्टिङ, प्याराग्लाइडिङ, जंगल सफारी जस्ता गतिविधिहरूले विदेशी पर्यटकहरूलाई आकर्षित गर्छन् । यसले पर्यटन क्षेत्रको विस्तार मात्र होइन, देशको अन्तर्राष्ट्रिय छवि निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ ।
पर्यटनको विकाससँगै पूर्वाधार विकासमा पनि तीव्रता आएको छ । सडक, पुल, विमानस्थल, होटल, रिसोर्ट, सञ्चार सेवा, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाइ जस्ता क्षेत्रमा सुधार भएको छ । यसले स्थानीय बासिन्दाहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ । पर्यटनको कारण दुर्गम क्षेत्रहरूमा समेत विकासका सम्भावनाहरू बढेका छन् ।
यद्यपि, पर्यटन क्षेत्रले अपार सम्भावना बोकेको भए पनि यसमा विभिन्न चुनौतीहरू रहेका छन् । पूर्वाधारको अभाव, सडक तथा यातायातको कमजोर अवस्था, सेवा गुणस्तरमा कमी, प्रशिक्षित जनशक्तिको अभाव, वातावरणीय प्रदूषण, प्राकृतिक विपद् तथा राजनीतिक अस्थिरता जस्ता समस्याहरूले पर्यटन विकासमा बाधा पु¥याएका छन् । साथै, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र प्रचारप्रसारको कमीका कारण पनि नेपालले आफ्नो पूर्ण पर्यटन क्षमता उपयोग गर्न सकेको छैन ।
पर्यटनको दिगो विकासका लागि वातावरण संरक्षण अत्यन्त आवश्यक
छ । यदि प्राकृतिक सम्पदाको संरक्षण गर्न सकिएन भने पर्यटन क्षेत्र दीर्घकालीन रूपमा टिक्न सक्दैन । त्यसैले, हरित पर्यटन, जिम्मेवार पर्यटन तथा सामुदायिक पर्यटनको अवधारणालाई प्रवद्र्धन गर्नु
पर्छ । स्थानीय समुदायको सहभागिता सुनिश्चित गरी पर्यटनको लाभ उनीहरूसम्म पु¥याउन आवश्यक छ ।
सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी दीर्घकालीन योजना तथा रणनीति बनाउनुपर्छ । निजी क्षेत्रसँग सहकार्य गरी पूर्वाधार विकास, सेवा सुधार तथा प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रभावकारी प्रचारप्रसार गर्न डिजिटल माध्यमहरूको प्रयोग गर्नुपर्छ । साथै, पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता अभिवृद्धि गर्न तालिम तथा शिक्षामा लगानी गर्न आवश्यक छ ।
अन्ततः, पर्यटन नेपालको आर्थिक विकासको मेरुदण्ड बन्न सक्ने अत्यन्त महत्वपूर्ण क्षेत्र हो । यसले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, पूर्वाधार विकास, सांस्कृतिक संरक्षण तथा अन्तर्राष्ट्रिय पहिचान निर्माणमा ठूलो योगदान पु¥याउँदै आएको छ । यदि यस क्षेत्रलाई व्यवस्थित, योजनाबद्ध र दिगो रूपमा विकास गर्न सकियो भने, नेपाललाई समृद्ध, आत्मनिर्भर र विकसित राष्ट्र बनाउने दिशामा पर्यटनले अग्रणी भूमिका खेल्नेछ । त्यसैले, पर्यटन क्षेत्रको समुचित विकास आजको आवश्यकता मात्र नभई राष्ट्रको उज्ज्वल भविष्यको आधार पनि हो ।

