हर्कमाया विश्वकर्मा
वैशाख १, तद्अनुसार अप्रिल १४का दिन डा.भीमराव अम्बेडकरको १३२औं जन्मजयन्ती नेपाल–भारत दलित मैत्री संघ र विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वक्ताहरुले नेपालमा गणतन्त्रको घोषणा भए पनि दलित समुदाय अझै विवेदरहित सामाजिक जीवनमा जिउन नपाउनुको साथै गणतन्त्रको अनुभूतिसम्म पनि गर्न पाउन नसकेको धारणा राखे । सो कार्यक्रममा नेपाली कांग्रेसको मिन विश्वकर्माले दलित समुदायको हक, हित र अधिकारको सुनिश्चितताको लागि केही एने, कानून निर्माण भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो भएको बताउदै मुठिभर दलितहरु जागिर खान सफल भए पनि राज्यको नीति निर्माण गर्ने तहमा अझै पुग्न नसकेको हुँदा दलितको अवस्था ज्यूँकात्यूँ रहेको छ । अर्का वक्ता प्रतिनिधि सभा सदस्य हर्क माया विश्वकर्माले डा.अम्बेडकरकै प्रेरणाले विश्वभरका दलित सीमान्तकृत वर्ग समुदायले आआफ्ना हक, हित र अधिकारको लागि संगठित हुन पुगेको चर्चा गर्दै राज्यद्वारा दलितका सवालमा केही ऐन, कानून निर्माण भए पनि त्यसको उचित कार्यान्वयन हुन नसक्दा दलित समुदाय अझै शोषित पीडित अवस्थाबाटै गुज्रिरहनु परेको छ । उनले अझ थपिन्– दलित समुदाय यसरी पिल्सिनु र शोषित हुनुपर्ने कारण राज्यको मात्रै दोष छैन, स्वयम् दलित समुदायनै पनि दोषी छन्, भन्दा फरक पर्नेवाला छैन । दलित दलितबीचको छुवाछुत प्रथानै दलित मुक्ति आन्दोलनको सबैभन्दा बाधक पक्ष भएको जिकि गर्दै हर्कमाया विश्वकर्माले अगाडि भनिन् कामी र दमाई दुवै कथित अछुत वर्गको भएर पनि कामीले आफुलाई दमाईभन्दा उच्च ठान्दछ र अछुत मान्दछ र सोही अनुसारको व्यवहार गर्दछ । त्यसैगरी दमाइ र सार्कीले वादीलाई आफुभन्दा तल्लो जातको ठान्दै बाहुनहरुले दलितमाथि गर्ने व्यवहार गर्दछन् । तराईका दलितहरु पनि आन्तरिक छुवाछुतबाट टाढा छैनन् । मधेशी समुदायका दुसाध र चमारले अन्य सबै मधेशीमूलका दलितहरुलाई अछुत ठान्दछन् भने ‘खत्तीय र मुसहर’ले ‘डोम र हलखोर’लाई तल्लो जातका ठानी घृणा गर्दछन् । पहाडी भेगमा ‘सार्की र कामी’ बीचमा पनि यस्तै छ । हर्कमाया विश्वकर्माले भनिन् ।
विडम्बना जातीय छुवाछुत शोषण र उत्पीडनका विरुद्ध दलितहरु गैह्रदलितका विरुद्ध खुलेर लागि पर्नु तर दलित दलितबीच हुने गरेका आन्तरिक छुवाछुतलाई चाही नजरअन्दाज गर्नुले दीर्घकालिन रुपमा दलित मुक्ति आन्दोलनलाई ठूलो हानी पुर्याउन सक्दछ । त्यसैले आन्तरिक सुदृढीकरण एवम् जातीय एकताबिना दलित मुक्तिको आन्दोलन किमार्थ सफल हुनै सक्दैन । दलित–दलितबीचको यस प्रकारको व्यवहारले पुरातनवादी, वर्णवादी एवम् जातीय अहंकारवादी समाजलाई मलजल गर्ने कार्य भइरहेको अवस्था छ । आन्तरिक छुवाछुत जस्ता यस्तो खाडलले दलित मुक्ति आन्दोलनलाई भाड्न बल पुर्याउने काम मात्र गरेको छैन सामाजिक रुपान्तरणको प्रयासलाई समेत ठाडै चुनौती दिने काम गरेको छ भन्दै वक्ता हर्कमाया विश्वकर्माले भनिन– नेपाली समाजमा शताब्दीऔदेखि जरोड गाडेर बसेका छुवाछुत प्रथाको कारण समाजमा अत्यन्तै अमानवीय रुपमा जीवन गुजारा गरिरहेका दलित समुदायको सामाजिक रुपान्तरणको लागि राज्यको भूमिका अहम् रहन्छ । तर दलित–दलितबीच रहेको आन्तरिक छुवाछुतको निवारणको लागि भने दलित समुदायनै सबैभन्दा बढी संवेदनशील र सचेत रहनुको विकल्प छैन ।

