छसस । फागुन २१ को चुनाव जनताको घर आगनमा आइसकेको छ । सदाझैं राष्ट्रिय राजनीतिक पार्टीहरु प्रत्येकले आआफ्नो चुनावी घोषणा पत्रहरुमा नेपाली जनता र खासगरी आदिवासी, समुदायहरुका सवालमा आकर्षक नारा र गुलिया ललिपफ लिएर घर आगनमा आउँदैछन् । तर चुनावपछिका सरकार निर्माणका क्रममा जहिले पनि ब्राह्मणवाद हावी हुने क्रम जारी छ । आदिवासी, सीमान्तकृत, महिला समुदायका प्रतिनिधिहरुको उचित सहभागिता कुनै पनि सरकारमा नहुनु आश्चार्य लाग्नु र अनौठो कुरो भने होइन । मुखमा राम राम, बगलीमा छुरा भन्ने उखानलाई चरितार्थ गर्दै अगाडि बढेका दलहरुले नीहित स्वार्थसिद्ध गर्ने कार्य दोहोराईरहेका छन् । यहाँका आदिवासी, सीमान्तकृत समुदायप्रति कुठाराघात गरिरहेका छन् ।
जसरी पनि सत्तामा पुग्न र बहुमत ल्याउनका लागि प्रत्येक चुनावी घोषणा पत्रहरुमा समानुपातिक, समावेशी प्रतिनिधित्वका देखावटी रुपमा उग्र हिमायती बन्दै सबै राजनैतिक दलहरुले ब्राह्मणवादलाई नै अवलम्वन गर्दै आएको छ । आदिवासी समुदायमा चलेको उखानझैं “सुगुरलाई भालाले घोपेपछि मात्रै शास जाने बेलामा च्वाँ गर्दछ । अर्थात ‘चेतिए’ भनि कराउछ ।” भनेझैं सुगुर र आदिवासी समुदायलाई तुलनात्मक दृष्टिकोणले हेर्ने ब्राह्मणवादी दलहरुलाई फागुन २१ गतेको आसन्न निर्वाचनमा आदिवासी, सीमान्तकृत, महिला जति सबै गोलबद्ध भएर जवाफी हमला गर्नुपर्दछ । यिनीहरुका चक्रव्यूहलाई चीर्दै आउदो चुनावमा आदिवासी, सीमान्तकृत समुदायले आफ्ना हक, हित र अधिकारको लागि समर्पित उम्मेदवारहरुलाई जिताउने अभियाननै चलाउनु पर्दछ । किनभने नेपालको सन्दर्भमा ऐतिहासिक कालदेखिनै ७० प्रतिशत भूमिपुत्र, आदिवासी समुदाय माथि ३० प्रतिशतका समुदायले शासन चलाउँदै र कजाउदै आएको देखिन्छ । यसर्थ यस्ताखाले एकपक्षीय र तानाशाही भिजिलान्ते प्रवृत्तिको भण्डाफोर गर्न एकढिक्का हुनुपर्दछ । अनि मात्रै प्रत्येक समुदाय, भाषाभाषी र धर्मावलम्वीहरुका संस्कार, संस्कृतिको उत्थान हुनेछ । तब मात्र मुलुकमा विकासको लहरले गति लिनेछ ।
आदिवासी समुदायको भूमिको विकासको निमित्त आदिवासी, भूमिपुत्रहरुकै सहभागी रहँदैन भने, अथवा आफ्नो लागि आफैं केही गर्ने अवसरबाट बञ्चित गरिन्छन् र अवसर पाउँदैनन्, आदिवासीहरुले आफुलाई ‘जिउदा लास’ सम्झिए हुन्छ, यो भूमिको भूमिपुत्र हुँ भनेर गौरव नगरे हुन्छ । बुझ्नुपर्ने कुरो के छ भने पञ्चायती कालरात्रीमा जसरी आदिवासी, भूमिपुत्रहरुका मुखुण्डो लगाएर, आदिवासी समुदायमाथि ‘डण्डा’ चलाउँदै आएका थिए, आज पनि उही प्रवृत्ति आदिवासी, भूमिपुत्र, सीमान्तकृत समुदायप्रति हावी छन् । यस्ताहरुको पहिचान गरी घोक्रेठ्याक लगाईहाल्नु पर्दछ । ताकी पुनः यस्ता तत्वहरुले शीर उठाउन नपाओस् ।

