काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहको नाम नेपाली राजनीतिमा एउटा अलग पहिचान बनेको छ । परम्परागत दल र शैलीप्रति असन्तुष्ट युवापुस्ताको आशा र भरोसाको प्रतीकका रूपमा उदाएका बालेनले कुनै दलको औपचारिक सदस्यता नलिए पनि उनका विचार, अभिव्यक्ति र संकेतहरूले राष्ट्रिय राजनीतिमा ठुलो प्रभाव पार्दै आएका छन् । यही सन्दर्भमा, बालेनको साथ वा समर्थनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) भित्र र बाहिर थप उत्साह सिर्जना गरेको देखिन्छ ।
रास्वपा आफैंमा पनि पुराना राजनीतिक संरचनाबाट आजित नागरिकहरूको विकल्पका रूपमा उदाएको पार्टी हो । छोटो समयमा संसद्देखि सडकसम्म उपस्थिति जनाउन सफल रास्वपाले सुशासन, पारदर्शिता र जवाफदेहितालाई मुख्य एजेन्डा बनाउँदै आएको छ । बालेन र रास्वपाबीचको वैचारिक समानताले दुबै पक्षलाई नजिक ल्याएको विश्लेषण गर्न सकिन्छ । दुवैले स्थापित राजनीतिक संस्कारमाथि प्रश्न उठाउने, कामबाट विश्वास जित्ने र भाषणभन्दा परिणामलाई प्राथमिकता दिने दृष्टिकोण राख्छन् ।
बालेनको साथले रास्वपामा सबैभन्दा पहिले मनोवैज्ञानिक ऊर्जा थपिएको छ । पार्टीका नेता–कार्यकर्ता मात्र होइन, समर्थक र शुभेच्छुकहरूमा पनि ‘अब परिवर्तन सम्भव छ’ भन्ने आत्मविश्वास बलियो भएको देखिन्छ । विशेषगरी युवा पुस्तामा रास्वपाप्रति आकर्षण बढ्नुमा बालेनको प्रभाव महत्वपूर्ण छ । सामाजिक सञ्जालमा सक्रिय र स्पष्ट अभिव्यक्ति दिने बालेनको शैली रास्वपाको राजनीतिक संचारसँग मेल खान्छ, जसले पार्टीको सन्देश अझ व्यापक रूपमा फैलिन मद्दत पु¥याएको छ ।
अर्को महत्वपूर्ण पक्ष भनेको वैकल्पिक राजनीतिको भरोसा हो । बालेन एक स्वतन्त्र उम्मेदवार भएर जितेको अनुभव बोकेका व्यक्ति हुन् । उनको सफलताले ‘ठूला दल बिना पनि जित सम्भव छ’ भन्ने सन्देश दिएको छ । यही सन्देश रास्वपाका लागि प्रेरणाको स्रोत बनेको छ । बालेनको साथले रास्वपाले आफूलाई केवल अर्को पार्टी होइन, स्थापित प्रणालीलाई चुनौती दिने वास्तविक शक्ति भएको दाबी गर्न थप आधार पाएको छ ।
यद्यपि, यो उत्साहसँगै जिम्मेवारी पनि बढेको छ । बालेनजस्तो जनअपेक्षा बोकेको व्यक्तिको समर्थनले रास्वपामाथि परिणाम देखाउनुपर्ने दबाब बढाउँछ । भाषण, आलोचना र प्रतीकात्मक कदम मात्रै पर्याप्त नहुने, ठोस नीति र कार्यान्वयनमार्फत जनताको भरोसा कायम राख्नुपर्ने चुनौती रास्वपाका सामु छ । बालेनको छविलाई राजनीतिक फाइदाका लागि मात्र प्रयोग गरियो भन्ने धारणा बन्न नदिन पार्टीले सचेत रहनु पनि उत्तिकै आवश्यक छ ।
समग्रमा, बालेनको साथले रास्वपामा थपिएको उत्साह केवल भावनात्मक होइन, रणनीतिक र वैचारिक रूपमा पनि महत्वपूर्ण छ । यदि यो उत्साहलाई दीर्घकालीन संगठन निर्माण, नीति स्पष्टता र जनमुखी काममा रूपान्तरण गर्न सकियो भने, नेपाली राजनीतिमा नयाँ अध्याय सुरु हुने सम्भावना बलियो देखिन्छ ।

