छसस । “जनयुद्धका कमाण्डर प्रचण्डले एनसेल र जनमुक्ति सेना प्रकरणमा २० अर्बभन्दा बढी रकम खाएका छन् । यहीकारण मैले प्रचण्डको साथ छाडेको हुँ ।” संघीय लोकतान्त्रिक नेपालका अभिभावक समेत रहेका पूर्व प्रम डा.बाबुराम भट्टराईले पार्टीका यिनेगिनेका व्यक्तिले नभई स्वयम् जनयुद्धका कमाण्डर तथा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नै उक्त रकम हिनमिना गरेको ठोकुवा गर्दा समेत कहि कतैबाट यसको खण्डन नभएको हुँदा आम नेपालीले प्रचण्डप्रति आशंका गर्नु अस्वभाविक होइन ।
तत्कालिन माओवादी पार्टीका अध्यक्ष प्रचण्डले माओवादीका लडाकुका निमित्त राज्यबाट गएको करिब २० अर्ब रकम भ्रष्टाचार गरेको डा.भट्टराईले ठोकुवा गरेका हुन् । प्रचण्डले सो रकम पचाउनको लागि विदेशी प्रभु गुहारेको आरोपसमेत डा.भट्टराईले लगाएका छन् । यसैगरी प्रचण्डले ७०० हतियार विदेशी दलाललाई बेच्नबाट आफुले जोगाएको समेत डा. भट्टराईले खुलासा तत्कालिन समयमानै गरेका थिए । लामो समयसम्म प्रचण्डसँग सहकार्य गरेका र मुलुककै प्रम भैसकेका भट्टराईले प्रचण्डमाथि लगाएको यस्तो संगीन आरोपलाई एक जना माओवादी योद्धाको सामान्य आक्रोशका रुपमा मात्रै लिनु किमार्थ न्याय हुँदैन । कुनै सामान्य लडाकु वा कार्यकर्ताले लाएको आरोप थियो भने त्यसलाई आक्रोशको अभिव्यक्ति मान्न सकिन्थ्यो पनि होला तर डा.भट्टराई जस्तो ‘हेभीवेट’बाट आएको यस्तो अभिव्यक्तिलाई आम सर्वसाधारणले सामान्य आक्रोशको रुपमा लिएका छैनन् ।

