मुलुकमा कहिल्यै पनि अस्थिरता हटेन, गणतन्त्र घोषणा यता त झनै देशमा लफडै लफडा मात्र भयो । राजनैतिक दलहरुका अकर्ममन्यताका कारण मुलुक लफडै लफडाको भूमरीभित्र रुमलिइरहेका छन् । यतिमात्र कहाँ हो र मुलुक छिमेकीरुको परेड खेल्ने अखडा बनेको छ । पछिल्लो समयमा निर्वाचननै बन्यो विदेशी शक्तिकेन्द्रको अखडा । गम्भीर र जटिल अवस्थामा राजनैतिक दलहरु राष्ट्र र जनहितको पक्षमा एक ढिक्का हुनुपर्नेमा आआफ्नै स्वार्थी खेलको लफडामा लागि परेका देखिन्छन् । राजनैतिक दलहरुका यस्ता रवैयाका कारण नेपाली जनतामा नैराश्यता जाग्नु अनौठो कुरा होइन ।
यो रास्वपा सरकार पनि कतै विदेशी शक्तिकेन्द्रकै इसारामा नाँच्ने त होइन ? भन्ने आशंका व्यक्त गर्न थालिसकेका छन् नेपाली जनताले ।
नेपालको एकात्मक शासन प्रणालीको अन्त्य सँगसँगै नेपाली जनताहरुले परिवर्तनको ठूलो आशा र भरोसा गरेका थिए । तर ती आशाहरु राजनैतिक दलहरुका बेढंग र अर्कमन्यताका कारण निराशामा परिणन हुनुपुगेको छ । राजनैतिक दल र तीनका नेता तथा कार्यकर्ताहरुले आआफ्ना जनविरोधी शैलीलाई नसच्याएर जनतासँग नङ र मासुको जस्तो होइन, धर्ती र आकाश जस्तो सम्बन्ध रहँदै जानेछ र जाँदैछ । यसर्थ राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुले आआफ्ना दम्भ, घमण्ड, र स्वार्थलाई त्यागी जनविश्वास जित्ने कार्य गर्नु पर्दछ । जनसमक्ष नगई आआफ्नो हकहितलाई महत्वकांक्षीका साथ अगाडि बढे जनताले जसरी हिजो फूलमाला र अविरजात्रा गरेर सिंहदरबार र बालुवाटार छिराएका थिए, त्यसैगरी जनताले नेताहरुलाई ‘चुच्चे ढुंगो, उही टुंगो’मा पुर्याउने छन् । जसरी यो चुनावमा ओलीहरुलाई पुर्याइदिएका छन् ।
अर्काे बिर्सनै नहुने र बुझ्नुपर्ने कुरो के हो भने निर्वाचनको समयमा दलहरुले आदिवासी, मधेसी, उत्पीडित समुदायको सवालमा आकाश पातालका भएनभएका पुर्याउनु सक्ने पुर्याउनै नसक्ने गफ र आश्वासनहरु छाँट्ने गर्छन्, यो निर्वाचनमा पनि गुलिया ललिपफहरु बाँडेका छन्, सबै दलका नेता हुँ भन्नेहरुले । तर जब निर्वाचित हुन्छन्, घुम्ने कुर्सीमा पुग्छन्, तब आदिवासी, मधेसी, सीमान्तकृत समुदायका सबै सवाल बिर्सिहाल्छन् । जुन कारणबस यी समुदायहरुका हक, हित र अधिकारका सवाल हिजो जहाँ र जुन रुपमा थियो, सोही रुपमा यथावत रहेका छन्, कारण आदिवासी, मधेसी, सीमान्तकृत समुदायका सवाल, मर्म र भावनाप्रति दलका नेताहरु जिम्मेवार नभएर हो । यसमा राजनैतिक दलहरुको मात्र दोष छैन, आदिवासी भूमिपुत्रहरुका छाता संगठनहरु र त्यसका पदाधिकारीहरुको त्यतिकै दोषी
देखिन्छन् । आदिवासी भूमिपुत्रका कुरा गर्ने हो भने यसका पूर्व अध्यक्षहरु क्रमशः डा.ओम गुरुङ, पासाङ शेर्पा, परशुराम तामाङदेखि नगेन्द्र कुमालसम्म सबै दोषी छन् । कारण यी सबै राजनैतिक पार्टीकै झोले र बुखेचाको रुपमा देखिए । जसले सिंगो आदिवासी समुदायको हक, हितको सवालमा नभएर उनीहरुले आआफ्नो राजनैतिक दल र त्यसका नेताहरुको सुगा बने र ‘गोपीकृष्ण कहो’ भन्दै रहे । यसरी यिनीहरुले राजनैतिक दलका ‘बुखेचा’को रुपमा काम गरेका कारण पनि भूमिपुत्र समुदायको ‘सवाल’ ज्यूकात्यूँ’रहेको हो । अर्काे कुरो यसको पछाडि भूमिपुत्र समुदायको आचरण एकले अर्काेप्रति ईष्र्या, डाहा गर्ने, नपत्याउने, एकले अर्काेलाई होच्याउने, खुट्टा तान्ने साझा सवालमा एकै ठाउँमा टिकन नसक्ने जस्ता आदिवासी प्रवृत्ति पनि यसका कारक तत्व बनेको छ । यसबाट सिद्ध हुन्छ कि आदिवासी, मधेशी, सिमान्तकृत सवाल ओझेलमा पर्नु ब्राह्मणवादी दलहरुको मात्र नभएर ‘मतवाली’ आचरणको पनि त्यतिकै दोष देखिन्छ ।

