लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष बितिसक्यो । जति जति यो व्यवस्थाको आयु बढ्दैछ, त्यति नै मुलुकमा राजनैतिक अस्थिरता हुने क्रम बढ्दै छ । चाहे नेपाली कांग्रेस या एमाले, माओवादी या त मिलिजुली समिकरण कै सरकार किन नहोस्, यी सबै सरकारको समयमा राजनैतिक अस्थिरता र अन्यौलताले प्रश्रय पाएकै छ । शहीदहरुको बलिदानीबाट प्राप्त भएको जनाधिकारलाई सबै पार्टीहरुले पुनः तछाड मछाड गर्दै जनाधिकारलाई ओझेलमा पार्ने काम गरेको छ । मुलुक र मुलुकवासीको हितका खातिर दत्तचित्त भई कार्य गर्नुपर्नेमा गणतान्त्रिक सरकारले शहीदहरुको रक्तरञ्जित कुर्सीमा रम्दै जनघाती कार्य गर्दै आइरहेको छ । जनआन्दोलनमा सक्रिय सहभागी भएका नेपाली जनजीवनको किन्चित पनि प्रवाह नगरी राष्ट्रिय राजनीतिक पार्टीहरुले केवल कुर्सी मोहमै मात्र लागेको कारण नेपाली जनताहरु अहिले यसको विकल्प सोच्न बाध्य भएका छन् । राजाको चर्चा यसको उपज हो ।
जब राष्ट्रमा तत्कालिन पञ्चायत व्यवस्थाको अन्तगरी कथित राष्ट्रवादी, राष्ट्रसेवी, जनसेवी एवं राष्ट्रकै लागि सदैब मरी मेट्ने जनजीवनको मर्म बुझ्न व्यक्तिहरु सत्ताको बागडोर मात्र आफ्नो हातमा लिन दौडधुप गर्छन्, तबसम्म मुलुकवासीहरु भय, त्रसीत, महँगाई, भ्रष्टाचार, ढिलासुस्ती, बेरोजगारी जस्ता यावत समस्याहरु भित्र रुमलिई रहेको तितो सत्तय नेपाली जनताको समक्ष देखा परिरहने छ । यो प्रजातन्त्रको पुर्नबहाली निमित्त गरिएको योगदानको फल त होइन ? भन्ने प्रश्न त्यतिकै जनसमुदाय बीच उठिरहन सक्छ, अर्थात बहुदलीय व्यवस्थाको आगमन केवल जनतामा विडम्बना थपिनु रहेछ भन्ने कुरा सोझा सीधा नेपाली जनताहरुले भन्न थालेका छन् ।
समानताको विगुल फुक्न, तछाड मछाड गर्ने शीर्षस्थ पार्टीहरु मुलुकको हरेक जातजातिहरुको साझा सवालहरु बारे चुनावी घोषणा पत्रमा बाहेक व्यवहारमा कहिल्यै पनि चासो लिएको पाइन्न । मुठ्ठिभर ठूलाठालुहरुको निमित्त यो मुलुक स्वर्गै भए पनि अधिकांश नेपाली जनताहरुको निमित्त यो मुलुक अहिले झनै कहाली लाग्दो बन्न पुगेको छ । अतः नेपालको सन्दर्भमा यथार्थतामा भन्दै पर्दा वर्तमान बहुदलीय प्रजातान्त्रिक व्यवस्था र इतिहासको राणाकालिन व्यवस्थामा खासै अन्तर पाइएको छैन । यो व्यवस्थामा पनि पहिलाको झै सिमित स्वार्थी तत्वहरुको मोजमस्ती गने थलोको रुपमा स्थापित भएको महसुस भएको छ । यसरी नै सत्यताको निमित्त राजतन्त्रमा मानवको सट्टा दानब र षड्यन्त्रकारी व्यक्तिहरुको बाहुल्यता सदैव रहीरहने हो भने नेपाली जनता र मुलुकको भविष्य चम्केला भन्न सकिन्न । राष्ट्रको विकास र जनतालाई राहत दिन त सही र योग्य मानवको आवश्यकता अपरिहार्य भएको छ ।

