•  २०८३ जेष्ठ २३
  • छसस । नेपालमा जातीय पहिचानको आधारमा प्रदेश बनाउन सम्भव नहुने सवालहरु उठाइएका छन् । कुनै एक जातिले पाएपछि अरुले किन नपाउने, पाउनुपर्छ भन्ने जस्ता भड्कावपूर्ण सवाल पनि उठाइएका छन् । नेपालको सन्दर्भमा जातीय पहिचानबाट राज्यको नामकरण त्यसै हुनुपर्छ भन्ने कुरो होइन । जातीय राज्यको पहिचान निर्माण गर्दा केही मापदण्डलाई अंगीकार गर्नुपर्ने सवाल तड्कारो रुपमा खडा भएको छ । यसको मापदण्ड भनेको जातिहरुको थातथलो, ऐतिहासिकता र उनीहरुको उल्लेख्य जातीय जनसंख्या नै हो, यही आधारमा यहाँका भूमिपुत्रहरुले जातीय पहिचानका सवाल उठाएका हन् । माध्यमिक तहमा अध्ययन गर्दै गरेको विद्यार्थीले स्नातक गरेको योग्यता र प्रमाणपत्र आवश्यक पर्ने शाखा अधिकृतको लागि लोकसेवा लड्छु भनेर कहिल्यै भन्दैन । यसरी उल्लिखित मापदण्ड नपुगेका नेपालमा भएका अन्य जातिले आफ्नो जातीय पहिचान कायम गराउन जातीय राज्य नै चाहिन्छ भन्दैन । तर, त्यहाँको राजनीति र प्रशासनमा त्यहाँ बसोबास गर्ने सबै जातिको प्रतिनिधित्व चाहि अवश्य हुनु पर्दछ । जहाँसम्म उनीहरुको पनि पहिचानको कुरा छ त्यसका लागि विभिन्न ऐतिहासिक ठाउँ र भूगोलको नाम उनीहरुको जातिका आधारमा कानूनी मान्या पाउने गरी नामाकरण गर्न सकिन्छ । ठूलो कुरो, हरेक तहमा राजनीतिक भूमिका सुनिश्चित हुने व्यवस्था उनीहरुका लागि अवश्य हुनुपर्छ ।
    जस्तो कुनै प्रान्तको नाम ‘मगरात’ राज्य भयो भन्दैमा त्यो मगरहरुको मात्र जातीय राज्य हुन सक्दैन । त्यो त नामाकरण मात्र हो । त्यो मगरातमा बस्ने अन्य जातिहरु लोकतान्त्रिक प्रक्रियाबाट नीति निर्माण गर्ने निकायमा पुग्न सकिन्छ । कुनै पनि प्रान्तमा रहने जातिको उत्तिकै बराबर राजनीतिक हक र अधिकार रहेको छ ।
    जोकोहीले अरु कोहीको पहिचानबाट त्रसित हुनुपर्ने कुनै तुक छैन । कांग्रेस, एमाले र माओवादीको राजनीतिक नेतृत्वमा बसेका र सर्वसाधारण बाहुन क्षेत्र समुदाय अरु जातिको पहिचानबाट गराउनु र त्रसित हुनुपर्ने कुनै कारण छैन । किनकी बाहुन क्षेत्रीको पहिचानलाई गैरबाहुन क्षेत्रको पहिचान स्थापित गर्न गैरबाहुन क्षेत्रीले त्यसरी नै जीवनपद्धति बाँचिदिएका छन् ।
    पहिचान भनेको त प्रकटतुल्य चिजको अस्तित्वको स्वीकारोक्तीय  अभिव्यक्ति मात्र हो । जसले एक अर्कालाई बोधगम्य बनाउँछ । पहिचान खतरा होइन, एक अर्कालाई बुझ्ने माध्यम हो । नेपालको सन्दर्भमा जातिको आधारमा हुने प्रान्तीय राज्यहरुको नामाकरण सम्बन्धित जातिको मात्र पहिचान हो, उनीहरुको त्यो प्रान्त जातीय राज्य कदापी होइन । त्यसकारण कसैले पनि कोहीप्रति सशंकित हुनुपर्ने र डराउनुपर्ने कुनै अवस्था नै आउँदैन ।
    आदिवासी समुदायले एकल जातीय पहिचानको कुरा उठायो र हामी बाहुन क्षेत्रीले पनि आफ्नो जातिको संघसंस्था खोलेर उनीहरुलाई प्रतिवाद गनुपर्छ भन्ने सोच बाहुन क्षेत्रीमा आउनु अनिष्टको संकेत हो । यस्तो काम प्रायोजित रुपमा हुँदै आएको पनि छ । खसर बाहुनको संगठन र अखण्ड सुदूरपश्चिम जस्ता मुद्दा यसरी नै उचालिएर नियोजित रुपमा यथास्थितिवादी साम्प्रदायिक तत्वहरुद्वारा आएका छन् । के श्रीमतीले महिला संगठन खोल्यो भन्दैमा लोग्नेले पनि पुरुष संगठन खोलेर हिड्न मिल्छ ? अवश्य कुनै सज्जन पुरुषले त्यसो गर्दैन । यहाँका उत्पीडन र राजनीतिक शोषणमा परेका समुदायले आफ्नो हक, अधिकार स्थापित गर्ने संगठन खोल्यो भन्दैमा बाहुन क्षेत्र पनि त्यस्तै नक्कल गरेर हिड्ने हो भने यहाँभन्दा ठूलो प्रहसन के हुन सक्छ ? राज्यमा जनता बस्छ । जनता भनेको जाति नै हो । राज्य एक हिसाबले जातीय नै
    हुन्छ । कुनै एउटा जातिको जातीय वर्चश्व कायम गराउने राज्य नै जातीय राज्य हो । यहाँ एउटा मात्र जातिको राजनीतिक, आर्थिक र सांस्कृतिक अधिनायकत्व स्थापित भएको राज्य नै जातीय राज्य हो । राज्य कुनै जाति विशेषको हुन सक्दैन । एउटै मात्र जाति भएको राज्य सायदै कम
    हुन्छ । हिजो युरोपमा जातीय राज्य निर्माण अभियान पनि नचलेको होइन । राज्यभित्र विभिन्न जाति बसोबास गरेको हुन्छ । त्यसो भएकाले राज्य जातीय त जातीय नै हुन्छ तर एक जातीय नभएर बहुजातीय हुन्छ र त्यो धेरै जाति भएको राज्यलाई बहुजातीय राज्य भनिन्छ । हो, नेपाल बहुजातीय मुलुक हो । सबै जातिको हैसियत राज्यले कायम गर्नैपर्ने हुन्छ । भन्न खोजिएको राष्ट्र राज्य होइन, राज्य राष्ट्र हो । नेपाललाई राष्ट्र राज्यबाट राज्य राष्ट्र बनाउनपर्छ भन्ने आजको आवश्यकता हो । राष्ट्र राज्य भनेको जातीय राज्य हो । तर राज्य राष्ट्र भनेको धेरै जातिको एउटै राज्य हुनुपर्छ भन्ने राजनीतिक आकांक्षा हो । नेपालीको आकांक्षा जातीय राज्य भन्ने कुरा नै होइन ।
    राष्ट्र राज्यले जाति विशेषको छुट्टै राज्य हुनुपर्छ भन्ने सिद्धान्तलाई आत्मसात् गर्छ । एक जाति बराबर एक राज्य भन्ने मान्यता राष्ट्र राज्यमा पर्छ । यो वास्तवमा एक जातीय राज्य हो । त्यो राज्यमा अरु जाति भए पनि अन्य जातिको कुनै गुञ्जायस हुँदैन । कुनै एक जातिको मात्र राष्ट्र राज्यमा प्रभुत्व रहेको हुन्छ । तर राज्य राष्ट्र भनेको कुनै एक जाति विशेषको मात्र नभएर त्यो मुलुकमा बस्ने सबै जातिहरुको राज्य हो । बहुजातीय राज्य नै राज्य राष्ट्र चरित्र हो । राज्यभित्र रहने सम्पूर्ण जातिको एउटै राज्य हुनुपर्छ भन्ने सिद्धान्त राज्य राष्ट्रको हो । धेरै जाति भए पनि ती जातिहरु एउट राज्यमा रहन सक्छ भन्ने मान्यता यसले राख्छ । त्यसो भएको हुँदा अहिले राष्ट्र राज्यभन्दा राज्य राष्ट्र नै सबैका लागि कल्याणको कुरा
    हो । अहिलेको युगमा एकल जातीय राज्य सान्दर्भिक हुन सक्दैन । कुनै पनि राज्य कुनै एक जातिको कदापी हुन सक्दैन । त्यो राज्यमा बसोबास गर्ने सबै नागरिक जातिको एक राज्य नै सर्वाेत्तम हो ।