मुलुकमा विद्यमान असमानता, कुरीति, जातीय भेदभाव, उचनीचको कारण देश विकासमा अवरोध खडा भएको । यो साम्प्रदायिकताले जन्मदै ब्राह्मण ठूलो र पूजनीय हुने अवैज्ञानिक परम्परा रहेको छ । अर्थात् प्रतिभा, सीप, विद्वता र कलाको आधारमा नभई यहाँ जातजातिको आधारमा मूल्यांकन हुने गरेको छ । यस्ता गलत प्रवृत्तिको प्रतिकार गर्नेहरुमाथि साम्प्रदायिक भनेर ब्राह्मणवादीहरुले आरोप लगाउँदै आएका छन् । सतीले सराप गरेको देशमा न्याय र समानताको निमित्त आवाज बुलन्द गर्नेहरु अन्यायीहरुको दृष्टिमा सह्य किन हुन्थ्यो र ? हुन त ब्राह्मण्वादको आलोचक, न्यायप्रेमी ब्राह्मणहरु पनि यहाँ नभएका होइनन् । तर अहिले आएर आदिवासी भूमिपुत्रहरु संगठित भएर आफ्ना जायज सवालहरुप्रति सजग हुन थालेका छन् । यस कुराले समेत पनि कट्टरपन्थी, अतिपन्थीहरुको निमित्त असह्य हुन पुगेको छ । उनीहरुले हाल नेपालमा क्रिश्चियन धर्म, हावी भयो, हिन्दूधर्म माथि कुठाराघात भयो भन्न थालेका छन् । तर नेपालका अन्य समुदायको मौलिक धर्म संस्कार, संस्कृतिमाथि ऐतिहासिक कालदेखि नै हिन्दूधर्मले एकछत्र दमन गर्दै आएको कुरा चै किन देख्दैनन् । बोल्दैनन् किन? प्रश्न उठ्नु स्वभाविक छ । ‘ब्राह्मण र ब्राह्मणवाद जस्तो जुन गलत व्याख्या अहिले प्रचारमा आउन थालेको छ, त्यो अत्यन्त निराशाजनक छ ।’ यो भनाई डा.दुर्गा प्रसाद भण्डारीको हो । उहाँले ‘हिन्दुधर्म र संस्कृतिको विरोध एक नयाँ व्यापार’ भनी एक दैनिक समाचारपत्रमा एउटा विचारोत्तजक लेख छपाउनुभएको थियो । उपरोक्त हरफ त्यहीबाट लिइएको हो । हिन्दुधर्म र संस्कृतिको विरोध नयाँ व्यापार हो भने के हिन्दूधर्म र संस्कृतिको समर्थन चै व्यापार ठहरिन्न र ? पशुपतिको भट्टहरु के गर्छन् ? घामझै छर्लंग छ । डा.दुर्गाज्यू आफै ब्राह्मण भएकोले उहाँको हृदयमा ब्राह्मणवादको नकारात्मक पक्षका खण्डन मण्डनले गहिरो चोट पुगेको रहेछ । यहाँ गरिदै आइएको ब्राह्मणवादको विरोध भनेको वेद, गीता, रामाण, महाभारत आदि ग्रन्थहरुको र कुनै ब्राह्मण जातिको विरोध होइन । ब्राह्मणवादको विरोध भनेको रुढीवाद, अवैज्ञानिक, अभौतिक कर्मकाण्ड, अन्धविश्वासको विरोध हो । ‘मनुस्मृति’मा उठाइएका छुवाछुत, जातपात जस्ता अतिनै संकीर्ण र अमानवीय प्रचलनको विरोध हो । ब्राह्मणवादको विरोध एउटा बाहुन मात्रको विरोध भने अवश्य होइन ।
ब्राह्मणवाद भनेको एउटा दृष्टिकोण हो, दर्शन हो । यस दर्शनमा अरुलाई होच्याएर तल्लो दर्जामा दासत्व र प्रभुत्ववादी प्रचलन कायम राख्दै कुनै एक जाति विशेषलार्य मात्र जन्मदै ठूलो र पूजनीय भनी उपल्लो तहमा राखिन्छ । यसखाले प्रवृत्तिको विरोध गर्दा डा. साहवको मुटु दुखेको रहेछ । उहाँको भनाईमा समानताको खोजी अरुले किन गर्नु । ब्राह्मणवादको विरोध गर्नेहरु सबै देशी विदेशी पैसाको ईशारामा चल्ने कायर हुन् ।

