नेपालमा भएका हरेक जनआन्दोलत तथा क्रान्तिहरुले नेपाली जनतामा नयाँ आशा जगाउने र त्यो आशालाई केही समयमै निराशामा परिणत गरिदिने चलननै बसेको छ । जस्तो कि २०६२÷०६३ जनआन्दोलनको म्याण्डेटलाई गणतान्त्रिक संविधानले आत्मसात नगर्दा स्वाभिमानी नेपालीहरु ‘पुर्पुरोमा हात राख्न’ विवश छन् । आम नेपालीले चाहेको र खोजेको जस्तो ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान पाउन सकेनन् । नेपालीहरुले अढाई सय वर्षयतादेखि उठाउँदै आएका जातीय समानुपातिक समावेशीको नारा नारामै सिमित रह्यो । जनआन्दोलनमा उठाइएका नाराहरु गणतन्त्र पश्चात पनि फुस्सा भए । नेपालीले विभेदको नीति कहिल्यै भोग्न नपरोस्, शान्तिमय र विभेद रहित ढंगले मुलुक अगाडि बढोस्, भ्रष्टाचारी, घुसखोरी, अहंकरवादी, रक्तपिपासुहरुको शिर झुकोस्, साम्प्रदायिक सद्भावमाथि कहिकतैबाट खलल पुर्याउने काम नहोस् र आत्मनिर्णयको अधिकार, जातीय, भाषिक, स्वशासनको आधारमा राज्यको पुर्नसंरचना, पहिचानको सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना होस् भन्ने नेपाली जनइच्छा थियो । तर यस्ता सवालहरुलाई पहिलो गाँसमै ढुंगा भनिएझै संविधान निर्माण क्रममा ओझेलमा पारियो । फलस्वरुप नयाँ संविधानको विरोधमा आन्दोलनका तरंगहरु मुलुक व्यापी रुपमा देखा प¥यो । संविधान निर्माण पश्चात पनि कुरा त्यही भयो जुन नहुनु थियो । मधेश मात्र होइन भित्रभित्रै पहाड पनि आक्रान्त बन्यो । दलहरुले गणतन्त्र घोषणा पश्चात पनि पञ्चायती ढर्रामा नै नातावाद, कृपावाद र डनवाद जस्ता शैलीलाई नै निरन्तरता दिएको कारण यसतो अवस्थाको सिर्जना भएको हो । संविधान सभामा राजैतिक दलहरुले त समानुपातिक प्रणालीबाट जितेका कोटामा समेत नातावाद, कृपावाद, फरियावाद र डनवादलाई नै अवलम्वन गर्दै पञ्चायती शैलीलाई नै मात गरिदिए । त्यसैको फलस्वरुप जेनजी आन्दोलनको विजारेपण भयो । जेनजी आन्दोलनले २४ घण्टामै नेपाली राजनीतिमा उथलपुथल ल्याईदियो जसले नेपाली जनतामा फेरी नयाँ आशा पलायो तर त्यो पनि निराशामै परिणत हुने देखिएको छ । जेनजी आन्दोलनको माग एउटा र जेनजीले बनाएको सरकाले गर्ने काम अर्काे हुँदै गर्दा युवाहरुको आन्दोलन पनि हात्ति आयो हात्ती आयो फुस्साहुने देखिएको छ जसले गर्दा नेपाली जनता फेरी पनि पुर्पुरोमा हात लाएर बस्नु शिवाय अरु उपाय देखिदैन ।

