आज किन हो किन, कसैसँग बातचित नगरी बस्न मन लाग्यो । जतिखेर पनि हिजो त्यो, खत्री कान्छोले भनेको बाक्य झलझली याद आइरहन्छ । “आदिवासी/भूमिपुत्र भनेर ज्यान सित्तैमा फाल्नु भएको छ । काका खोइ तपाईलाई, तपाईकै समुदायले के गरी राखेको छ, के कुनै दिन तपाईको वंशले, भाइहरुले आफ्नो वंशको सवालमा कलम चलाउनु भएकोमा धन्यवाद छ भनेर, धन्यवादसम्म दिएका छन् ?” एक्लै बसेर खत्री कान्छोले भनेको कुरा बारे सोच्न थाले । हुन पनि हो उसको कुरोमा सत्यता छ ।
नेपालमा पञ्चायतीकालमा आदिवासी भूमिपुत्र तथा दलित, उत्पीडित आदि समुदायले आफ्नो जातीय परम्परा र धर्म, संस्कार, संस्कृतिलाई मान्न र भाषा जस्तो कुरालाई औपचारीक रुपमा बोल्न तथा पठनपाठन गर्न पाउनु भनेको “आकाशको फल आँखा तरी मर” भने रहनै हुन्थ्यो ।
जब पञ्चायती व्यवस्थालाई देशवासीहरुले मरेको मानिसलाई जुम्राले सरक्क छोडेको जस्तो गरी छोडे तब हरेक नेपालीमा एक नयाँ भावना पलाएर आयो र सबैले आआफ्नो भाषा, संस्कार, संस्कृति, परम्परा आदि विविध क्रियाकलापहरु अभ्यास गर्न र परिमार्जन गर्न समय र रकम खर्च गर्न थाले । अनि मलाई पनि त्यसको लहरले छोयो, जसले गर्दा आजसम्म पनि आदिवासी, कथित जनजातिको आवाजलाई समेटेर समय र रकम खर्च गरेर, मलाई स्यावास र धन्यवाद दिने तथा मेरो शुभचिन्तक बनेका खबरहरु बग्रेल्ती आए । त्यतिखेर मेरो नाक थेप्चो प्रकृतिको भएको हुनाले होला बढेर अनुहारनै छोपेको महसुस भयो ।
समय बित्दै गयो, मैले कनिकुथि खाईनखाई भेला गरेको रकम पनि सकियो । फेरी कमाउने समय पनि त्यही समुहको आवाज संकलन गर्नमा बित्यो र कमाउनतर्फ लागिएन । अहिले यस्तो स्थिति आइपर्यो कि काम गर्ननै नसकिने भैसकियो र उनै वर्गका मानिसहरुलाई जानकारी गराए, शुभचिन्तकहरुलाई अनुरोध गरे ‘हेर्नुस् म यो तपाईहरुको समुदाय र वर्गको आवाजलाई समेटेर कुनै पत्रपत्रिकामार्फत सार्वजनिक गराइरहेको छ र गराईरहने विचारमा छु चाहे आदिवासीको घैटोमा घाम झुल्कोस् या नझुल्कोस, मप्रति दया गरोस् या नगरोस् ।

