छसस । मुलुकमा गणतन्त्रको प्रादुर्भाव पश्चान पपिन सबैभन्दा बढी उछालिएको मुद्दा भनेको जातीय सवालनै हो । त्यसमा पनि हिजो जसको कुशासनको कारणले जातीय समस्याको चाङ अथवा थुप्रो लाग्यो यो भूमिको रैथाने समुदायहरुको पहिचानजनित अस्तित्व शंकटग्रस्त नै छ ।
नेपालका प्राय सबै राजनैतिक दलहरुले यो मुलुकका भूमिपुत्रहरुको उपयोगिताका आवश्यकता र महत्व बारे महसुस गरेकै छैन । यहीकारणले उनीहरुको कित्तामा जातीय पहिचान र समस्याको प्रश्नमा छलफल हुने कुरै भएन, या यसो भनौ वर्तमान अवस्थामा सतहमा आएको जातीय समस्याको सवालहरु नेपालका ठूला दल कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी या भर्खर बामे सर्दै गरेको नयाँ दलहरु सबैका लागि अछुत नै देखिएको छ । यसैकारण यी सबै राजनीतिक दलहरु जातीय समस्याको सवालदेखि टाढै रहन चाहन्छन् । यहीकारण जातीय पहिचान सहितको संघीयता र संघीयतासहितको गणतान्त्रिक संविधान बन्न नसकेको हो । कथम्कदाचित कसैकसैले आँट गरेर आफ्नो पार्टीभित्र पहिचानको सवाललाई प्रवेश गराईहाले पनि त्यो व्यक्ति हिन्दुवर्णाश्रमद्वारा अपहेलित कथित दलित जातिझै पार्टीभित्र अछुत रहनुपर्ने
हुन्छ । प्रचण्डहरुले भने आफुहरुले सञ्चालन गरेको जनयुद्धमा समग्र मुलुकलाई नौ वटा जातीय राज्यको खाका सहित जातीय जनसरकार घोषणा गरेर देशमा भ्रम पैदा गरायो । हो यही भ्रमको रणभुल्लमा परेर यो मुलुकका भूमिपुत्रहरुले आफ्नो अमूल्य मत दिएर ए.नेकपा माओवादीलाई संविधानसभाको सबैभन्दा ठूला पार्टी बनायो । तर जब माओवादी भित्र बहसको लागि भनेर राज्य पुर्नसंरचनाको खाका प्रस्तुत गरियो । ए.नेकपा माओवादीको स्वायत्त राज्य चिनियाँ मोडलभन्दा माथिको नहुने र उक्त राज्यमा यो मुलुकको भूमिपुत्रहरु शासक नभएर जागिरेको हैसियतमा मात्र नियुक्ति पाउने तथ्य औल्याइयो । त्यसमाथि जातीय राज्यको माग लिएर क्रियाशील रहने राजनैतिक संगठनमाथि अप्रेशन गर्ने निर्णय माओवादीको क्याबिनेटले गर्यो, सोही आधारमा जातीय सवाल लगायतका राजनीतिक संगठनको नेतृत्वलाई सिध्याउने तरिकाले गरिएको चरम दमनबाट ए.नेकपा माओवादीले जातीय मुक्ति र जातीय स्वायत्त राज्यको नारा छोडेर कांग्रेस, एमालेको कित्तामा उभिन पुग्यो र भूमिपुत्रहरुलाई प्रचण्डहरुले ‘थाङनामा सुताउने’ काम गर्यो ।
राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दुअधिराज्यको वकालत गर्दछ । जुन अनौठो होइन । किनभने भोक लाग्दा बाछोले गाईनै खोज्दछ, बघेनी त खोज्दैन । अनौठो चाहि के भइरहेको छ भने हिजोसम्म खस बाहुनको नाममा यो मुलुकमा गर्नसम्म रजाई गरे तर आज तिनैलाई खस बाहुन छोडेर जनजातिमा सूचिकृत हुनु पर्यो रे । यो प्रश्नभित्र लुकेको रहस्य के छ ? आजको विश्व चरा, मुसा, पशु आदिको समेत संरक्षण गर्नुपर्छ भनेर लागेको बेलामा आफ्नो जातीय पहिचानको संरक्षण र सम्वद्र्धनको निम्ति अनिवार्य आधारमा भनेको राज्यनै हो । त्यसकारण यो मुलुकका भूमिपुत्रहरुले राज्यसत्ताको कुरा गर्दा तागाधारी समुदायले जातीय राज्यको विरोध गरिरहेछन् किन ? उनीहरुको टाउको किन दुख्छ ? यो मुलुकका भूमिपुत्रहरुले स्वायत्त राज्यको माग राख्दा, यस्तो छटपटी उनीहरुमा किन ? किरात स्वायत्तराज्य प्राप्ति भएको खण्डमा के गर्लान् ? यो मुलुकमा निस्सासिएर–जक्डीएर बसेको जातीय समस्यालाई समाधान नगरेर, तागाधारीका संघसंगठनहरुले ओझेलमा पार्ने प्रयासतर्फ अझैं उनीहरु उद्दत देखिन्छन् । स्वायत्त राज्य प्राप्तिको लडाइमा राज्यभन्दा पनि यी संगठनहरु पर्खाल भएर उभिने स्थितिमा टड्कारो रुपमा देखा पर्न थालेका छन् ।

