देवदास राई
प्राचीनकालदेखि नै अस्तित्वमा रहेको किरात लिपीलाई आजका केही लिम्बू लेखकहरुले लिम्बू लिपी भनेर लेख्न थालेका छन् । वास्तवमा यो स्वार्थपरक धारणा हो कि विवेकको कमी हो ? हामी राई जातिले पनि लेख्दै आएको या मान्दै आएको ‘किरात लिपी’लाई ‘लिम्बू लिपी’ भनेर विभिन्न छापाहरुमा आउनु राम्रो होइन । यस्ता विवादले किरात जातिको एकतामा आँच पुग्दछ । यसो भएमा हामी शुन्यकै अवस्थामा विलय हुनेछौं ।
हामीले यस्तो स्थितिको सृजना गर्नु हुँदैन भन्ने मेरो मनसाय हो । तर आज ‘किराती लिपी’ जबरजस्ती लाद्न खोजिएको देखिन्छ । यथार्थमा यही ऐतिहासिक तथ्य हो भने ‘लिम्बू लिपी’ कसैको बाध्यता हुन सक्दैन । सत्य कुरालाई बंग्याएर हाम्रो स्वाभिमानभित्र कलंकको छाप पर्न दिनु हुँदैन । कि त राईहरु चुपचाप, शान्त भएर बस्नु पर्ने हो कि ? कि त एउटा साँघुरो मस्तिष्कभित्र आएको कुरालाई के हो भनेर चित्त बुझाउनु पर्यो कि त छाडी दियौै यस्ता कुरा भन्नुपर्ने हो । यस्तै हो भने विनोवाभावले भने जस्तै हुन सक्छ । विनोवाभावेले भनेका छन् “इतिहासको सवक सिक्न नसके इतिहास दोहोरिन्छ ।”
यहाँ अब ‘लिम्बू लिपी’ बारेमा केही कुराहरु उल्लेख गर्न चाहान्छु । भारत सिक्किमका भूपू मुख्यमन्त्री सञ्चमान लिम्बूले ‘किरात लिपी’लाई ‘लिम्बू लिपी’ भनेर बारम्बार भनी राख्नु भएको थियो । यसरी नै पाँचथर घर हाल काठमाडौं बस्नु भएको कवि, साहित्यकार वैरागी काइला र दार्जिलिङ मिरिकका विरही काइलाले पनि ‘किरात लिपी’लाई ‘लिम्बू लिपी’ भनेर ठोकुवा गरेका छन् । यसैक्रममा झापा विर्तामोडका टिकमध्वज लिम्बू, भुवन चन्द्र लिम्बू र अमित लिम्बू समेत तीन जनाको संयुक्त रुपमा ‘किरात लिम्बू वर्णमाला’ वि.सं. २०६० सालमा प्रकाशित गरेका छन् । यसरी नै वि.सं. २०६० सालको फाल्गुनन्द विशेषाङ्कमा पाँचथर नागीका योङहाङ मच्छिन्द्र योङहाङ मच्छिन्द्र लिम्बूको पनि ‘युग पुरुष फाल्गुनन्द’ शीर्षक लेखको एक ठाउँमा महागुर फाल्गुनन्दको बारेमा यसरी लेखेका छन्– “धर्मको कर्मकाण्ड आफ्नै लिम्बू भाषामा तयार गरी श्रीजङ्गा लिपीको प्रचार–प्रसार आजीवन गर्नुभयो ।”
वास्तवमा केही लिम्बू लेखकहरुले ‘किरात लिपी’लाई ‘लिम्बू लिपी’ भन्नुको अर्थ के हो भने जस्तै किरात धर्मको सम्पूर्ण कर्मकाण्ड लिम्बू भाषामै लेखिएको हो भने हामी राई जातिलाई स्वीकार्य हुने छैन । किनभने राईहरुको पनि आफ्नै भाषा छ । तर भाषा अलग भए पनि लिपी एउटै हो भन्ने सम्झनु पर्दछ । बितेका गौरवलाई हामीले कहिल्यै विर्सनु हुँदैन । ऐतिहासिक तथ्यलाई हेर्दा हामी राई, लिम्बू सबै किरात हौं । आजसम्म हामीले जानेका बुझेका ‘किरात लिपी’ भनेर भ्रम एवम् अन्यौलमा पार्न खोज्नु “फुटाऊ र शासन गर” भन्ने सोचको उपज हो । यसरी फुट गराउने तत्वसँग हामी सँधै सजग रहनु पर्दछ । किनभने हामी राई, लिम्बू किरात हौं भन्ने कुरा स्वीकार गरिसकेका छौं । यदी यो यथार्थतालाई बुझ्न सकेनौ भने भोलिका दिनमा किरात इतिहास कलंकमा दरिन पुग्दछ । त्यतिबेला विश्वकवि रविन्द्रनाथ टेगौरले भने जस्तै हुने छ । विश्वकवि टेगौरले भनेका छन्– “यदि सूर्यलाई गुमाएर आसु बगाउँछौ भने तिमीले तारा पनि गुमाउनेछौं ।”
किरात लिपीको वास्तविकताः
हिजोआज हामीबीच चलन चल्तीमा आएको लिपीलाई ‘किरात लिपी’ भनेर लेखिएको उदाहरणहरु प्रशस्त देखिन्छन् । किरात भाषाविद् एवम् इतिहासकार इमानसिंह चेम्जोङले आफ्ना कतिपय पुस्तकहरुमा ‘किरात लिपी’ नै लेखेका छन् । यसबाहेक लेफ्टिनेन्ट कर्णेल भन्सिटार्ट, डा.ब्राइन हडसन, कर्णेल कर्कपेट्रिक, प्रोफेसर आर.के. स्पीङ्ग, मेजर डब्लु क्रुक, क्याप्टन सी.जे. मोरिस, डा.कमला साकृत्यायन आदि विदेशी विद्वानहरुले पनि किरात जाति र किरात लिपीको बारेमा खोज अनुसन्धान गरी आआफ्नो पुस्तकमा स्पष्ट पारी सकेका छन् । वर्तमान किरात धर्मगुरु लिङदेन आत्मानन्द सेइङले पनि ‘किरात लिपी’लाई समर्थन गर्नुभएको छ । तब हामी ‘लिम्बू लिपी’ भनेर किन लेख्ने ? फर्केर हेर्दा ‘किरात लिपी’को हस्तलिखित पुस्तकहरु लण्डनको ‘इण्डिया लाइब्रेरी’मा सुरक्षित रहेको छ भनिन्छ । वास्तवमा किरात जातिको भाषा, लिपीको खोज अनुसन्धान उल्लिखित विदेशी विद्वानहरुले गरेका हुनाले नै यसबारे जान्न बुझ्न हामीलाई सहज सुविधा भएको छ ।
फेरि फर्केर हेर्दा ‘किरात लिपी’कै प्रशंगमा जाऊ
तत्कालिन श्री ५ को सरकार, शिक्षा मन्त्रालय, पुरातत्व विभाग, राष्ट्रिय अनुसन्धान शाखाको अभिलेख उपशाखाले प्रकाशन गरेको लिपी विकासको तालिका’ अहिलेको सन्दर्भमा हेर्न बुझ्न ज्यादै आवश्यक छ । त्यस तालिकामा नेपालमा लिच्छवी पूर्वकाल, लिच्छवीकाल, मल्लकाल र शाहवंशकालसम्म र चलनचल्तीमा आएको ब्राह्मी, पूर्व लिच्छवी, उत्तर लिच्छवी, किरात, रञ्जना, भूजिमो, नेवार, मैथिली, तिब्बती, नन्दिगिरी, देवनागरी समेतका लिपीहरु उल्लेख भएको पाइन्छ । तर त्यो लिपी सरसर्ति हेर्दा त्यहाँ राई लिपी र लिम्बू लिपीको अस्तित्व नरहेको देखिन्छ । अतः किरात इतिहासको मूल्य मान्यता एवम् भाषा लिपीको अस्तित्व नरहेको देखिन्छ । किरात इतिहासको मूल्य मान्यता एवम् भाषा लिपीको मान्यतामाथि खेलवाड गर्नु गराउन हास्यास्पद हुन जानेछ । यस्तै क्रियाकलापमाथि मध्यनजर राख्ने ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितामा कवि भूपि शेरचनले यस्ता कुरा लेखेका होलान ‘हामीले आफ्नो पूर्व स्मृति गुमाई सक्यो, हामीले आफ्नो विगत उचाईलाई बिर्सि सक्यौ ।’
अन्त्यमा उल्लिखित कुराहरुलाई सम्पूर्ण किरातीहरुले मनन गर्नुपर्दछ, बुझ्नु पर्दछ । किनभने हामी किरात किरात नै हौं । किरात लिपी, लिम्बू लिपी र श्रीजंगा लिपी भनेर तर्क बहस गरिरहनु राम्रो होइन । हामीले सद्भाव सचेतना र एकताको भावना जगाउनु पर्दछ । किरात इतिहासलाई कहिल्यै उपेक्षा गरिनु हुँदैन । इतिहास हेरेर केही लिम्बू लेखकहरुले ‘किरात लिपी’ भनेर लेख्न थाल्यो भने राईहरुले पनि भोलिका दिनमा ‘राई लिपी’ खोज्न थाल्नेछ । हामीबीच यस्तो भयो भने हाम्रो किरात अस्तित्व च्याङलिएको थाङ्ना जस्तो हुन जानेछ । तसर्थ अब आडम्बरको पराकाष्टमा पुगेर किरात इतिहासलाई खोक्रो प्रतिक बनाउनु हुँदैन । किनभने हामी किरातीहरु बीच ‘किरात लिपी’लाई कसैले लिम्बू लिपी कसैले श्रीजंगा लिपीको मतमतान्तरमा बहस गरिरह्यौं भने हाम्रो लक्ष्य कहिले पुरा हुन सक्दैन र हामी बैरागिएका पथिक झैं हुनेछौं र बेदनाले भरिएको पर्खालभित्र सीमित रहनेछौं । तब हामी निस्पन्द, निश्चिल, शिथिल र चुपचाप भएर बस्नुपर्ने हुन्छ । तसर्थ हामीले वर्तमानको सोचाईप्रति जागरुक हुन आवश्यक देखिन्छ । ‘किरात लिपी’ बारे भ्रमको खेती गर्न हुन्न । किरात समाजमा दुःखद स्थितिको सृजना पनि गर्नु हुँदैन । अब हामीले सच्चाइएको अनुभव गर्नुपर्दछ । वास्तविकता के हो ? गहिरिएर बुझ्नु पर्दछ । यसरी बुझ्न सक्यौं भने स्वस्थ सोचमा शुद्धता आई जातीय एकतामा क्रियाशीलता आउन सक्दछ । त्यसैले आयन्दा ्े ‘किरात लिपी’लाई नै विवादरहित अगाडि बढाउन सक्यौ भने हामी किराती(राई–लिम्बू)हरु बीचको साइनो पनि झाङ्गिदै जान सक्दछ ।

