•  २०८३ बैशाख १
  • फागुन २१ को निर्वाचन नजिकिदै गर्दा झापा–५ मा बालेन्द्र शाह (बालेन) र केपी शर्मा ओली आमनेसामने हुनुले राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा ल्याएको छ । यो प्रतिस्पर्धा केवल दुई व्यक्तिबीचको चुनावी टक्कर होइन, बरु नेपाली राजनीतिमा स्थापित शक्ति र उदाउँदै गरेको वैकल्पिक नेतृत्वबीचको प्रत्यक्ष परीक्षण हो । प्रश्न स्वाभाविक छ, यो भिडन्तमा वास्तवमा को बलियो छ ?
    केपी शर्मा ओली अनुभव, संगठन र इतिहासका हिसाबले अत्यन्त बलिया उम्मेदवार हुन् । उनी तीनपटक प्रधानमन्त्री भइसकेका नेता मात्र होइनन्, नेकपा एमालेजस्तो बलियो संगठित पार्टीका अध्यक्ष पनि हुन् । झापा–५ उनको परम्परागत राजनीतिक आधार क्षेत्र हो, जहाँ पार्टी संरचना, कार्यकर्ता सञ्जाल र मतदातासँगको लामो सम्बन्धले उनलाई मजबुत बनाएको छ । धेरै मतदाताका लागि ओली स्थिरता र राज्य सञ्चालनको अनुभवी अनुहार हुन् । राष्ट्रिय राजनीति, कूटनीति र विकास परियोजनामा उनको अनुभवलाई अझै पनि विश्वासयोग्य मान्ने ठूलो वर्ग झापा–५ मा विद्यमान छ । यस दृष्टिले हेर्दा ओली संरचनागत रूपमा निकै बलिया देखिन्छन् ।
    तर बालेन्द्र शाह पनि कमका भने देखिदैन । उनी परम्परागत राजनीतिबाट दिक्क भएका मतदाताको मनोविज्ञान प्रतिनिधित्व गर्छन् । काठमाडौं महानगरपालिकाको मेयरका रूपमा उनले देखाएको सक्रियता, कडा निर्णय क्षमता र पुराना राजनीतिक अभ्यासप्रति गरेको खुला चुनौतीले उनलाई “परिवर्तनको प्रतीक” बनाएको छ । झापा–५ जस्तो एमालेको बलियो क्षेत्रमा उम्मेदवारी दिनु नै बालेनको राजनीतिक साहसको संकेत हो । उनको शक्ति पार्टी संगठनभन्दा बढी जनभावना, सामाजिक सञ्जालको प्रभाव र युवापुस्ताको समर्थनमा आधारित छ । विशेषगरी नयाँ मतदाता, शहरमुखी सोच भएका युवा र वैकल्पिक राजनीति खोज्ने वर्ग बालेनतर्फ आकर्षित देखिन्छ ।
    झापा–५ को मतदाता मनोविज्ञान नै अन्तिम निर्णायक हुनेछ । यदि मतदाताले जोखिम मोलेर नयाँ प्रयोग गर्न चाहने भावना बलियो बनाए भने बालेनको शक्ति अप्रत्याशित रूपमा बढ्न सक्छ । तर परम्परागत दलप्रतिको भरोसा र संगठनात्मक अनुशासन निर्णायक रह्यो भने ओलीको बल फेरि प्रमाणित हुन सक्छ ।
    अन्ततः, झापा–५ मा को बलियो भन्ने प्रश्नको उत्तर अहिलेनै यकिन गर्न सकिने अवस्था छैन । संरचनागत रूपमा ओली बलिया छन्, भावनात्मक र प्रतीकात्मक रूपमा बालेन । यही द्वन्द्वले यो निर्वाचनलाई विशेष बनाएको छ ।