•  २०८३ बैशाख १
  • -अभिषेक काेइरालाहामी नेपाली जनताले लामो समयदेखि खोज्दै आएको समावेशी प्रतिनिधित्व, प्रत्यक्ष र उत्तरदायी कार्यकारी नेतृत्व, धर्मनिरपेक्षता, न्यायपूर्ण सुशासन तथा जनताप्रति जिम्मेवार राज्य व्यवस्था अब केवल राजनीतिक भाषण र घोषणापत्रमा सीमित रहनु हुँदैन । यस्ता मूल्य, मान्यता र आदर्शलाई व्यवहारमा उतार्न सक्ने नेतृत्वको चयन नै अबको प्रमुख चुनौती हो । आउँदै गरेको २०८२ फागुन २१ को प्रतिनिधि सभा निर्वाचनले देशले कस्ता उम्मेदवार पाउनेछ र जनताले कस्ता जनप्रतिनिधि पाउनेछन् भन्ने प्रश्नलाई केन्द्रमा ल्याएको छ । यो निर्वाचन केवल सांसद चयन गर्ने प्रक्रिया होइन, यो नेपाल राज्यको आर्थिक, सामाजिक, राजनीतिक र नैतिक भविष्यको दिशानिर्देशक बन्ने ऐतिहासिक अवसर हो ।
    आज आम नेपाली नागरिकमा गहिरो निराशा र चिन्ता व्याप्त छ । यसको मूल कारण राजनीतिक दलहरूभित्र बढ्दो विकृति र उम्मेदवार छनोटको गलत संस्कार हो। जनताको सेवा, देशको विकास र सार्वजनिक हितका लागि योगदान गर्न सक्ने योग्य, इमानदार र सक्षम व्यक्तिलाई अघि सार्नुको सट्टा दलका शीर्ष नेताहरूले आफ्ना नजिकका नातेदार, पहुँच भएका व्यक्ति, धन र शक्तिको आडमा राजनीति गर्नेहरू, तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई टिकट दिने प्रवृत्ति मौलाउँदै गएको छ । यसले लोकतन्त्रको मर्ममाथि गम्भीर चोट पु¥याएको छ र देशको भविष्यलाई अनिश्चित बनाइदिएको छ ।
    लोकतन्त्रको आत्मा भनेकै मतदाता हो। मतदाताले गर्ने छनोटले देशको दिशा तय गर्छ । तर दुर्भाग्यवश, हाम्रो समाजमा अझै पनि दीर्घकालीन राष्ट्रिय हितभन्दा क्षणिक लाभलाई महत्व दिने प्रवृत्ति विद्यमान छ । केही नोट, अस्थायी आश्वासन, व्यक्तिगत फाइदा वा भावनात्मक उक्साहटको कारण गलत व्यक्तिलाई मतदान गर्ने चलन अझै हट्न सकेको छैन । आफूले चाहेको उम्मेदवार नपरेको झोंकमा ‘जो आए पनि उस्तै हो’ भन्ने निराश सोचले गलत विकल्प रोज्नु देशप्रति गरिएको ठूलो अन्याय हो । यस्तो सोचले विकास होइन, विनाशलाई निम्त्याउँछ ।
    देशप्रेम, जनसेवा र राष्ट्रिय निर्माणको भावना बोकेर न्याय, समानता र सुशासनका लागि निरन्तर संघर्ष गरिरहेका राजनीतिक दल र तिनका उम्मेदवारको पहिचान गर्नु आजको अनिवार्य आवश्यकता हो । मतदान भनेको केवल अधिकारको प्रयोग मात्र होइन, यो गम्भीर जिम्मेवारी पनि हो । केही क्षणिक स्वार्थ वा लोभमा परेर मतदान गर्नु भनेको आफ्नो र भावी पुस्ताको भविष्यलाई जोखिममा पार्नु हो । त्यसैले मतदाताले सचेत, विवेकशील र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुपर्छ ।
    नेपालले जनआन्दोलन र जनयुद्ध मार्फत धेरै ठूला राजनीतिक परिवर्तनहरू हासिल गरेको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता र मौलिक हकहरू यिनै संघर्षका उपलब्धि हुन् । यी उपलब्धिहरूको रक्षा गर्दै उन्नत लोकतन्त्र सहितको समाजवादतर्फ अघि बढ्नु आजको ऐतिहासिक आवश्यकता हो । उन्नत लोकतन्त्रसहितको समाजवादले मात्र सामाजिक न्याय, आर्थिक समानता र दिगो विकास सुनिश्चित गर्न सक्छ । त्यसैले यस मार्गमा प्रतिबद्ध नेतृत्वको चयन अपरिहार्य छ ।
    सामाजिक न्याय, सुशासन, समावेशीता र समानुपातिक प्रतिनिधित्व सहितको राष्ट्र निर्माणका लागि धेरै नेपालीले आफ्नो जीवन आहुति दिएका छन् । ती बलिदानको सम्मान गर्नु भनेको सही नेतृत्व चयन गर्नु हो । यदि हामीले गलत व्यक्ति र गलत विचारलाई सत्तामा पु¥यायौं भने ती बलिदानप्रति गम्भीर अपमान हुनेछ । मतदाताले आफ्नो मतमार्फत ती सहिदहरूको सपना पूरा गर्ने वा तोड्ने शक्ति राख्छ ।
    निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन राजनीतिक दल, आम नागरिक, सुरक्षा निकाय, सरकार र निर्वाचन आयोग सबैले आ–आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गर्नुपर्छ । डर, धम्की, प्रलोभन र दबाबमुक्त वातावरणमा मत हाल्न पाउने अधिकार जनताको मौलिक अधिकार हो । यदि निर्वाचन प्रक्रिया नै दूषित भयो भने त्यसबाट जन्मिने सरकार जनताप्रति उत्तरदायी हुन सक्दैन ।
    आजको नेपालले समृद्ध राष्ट्र, स्वदेशमै रोजगारी, उद्यमशीलताको प्रवद्र्धन, लगानीकर्तालाई सुरक्षाको ग्यारेन्टी र जनताप्रति उत्तरदायी शासन प्रणालीको आवश्यकता महसुस गरिरहेको छ । यी सबै लक्ष्य हासिल गर्न सही नीति र त्यसलाई कार्यान्वयन गर्न सक्ने सही नेतृत्व चाहिन्छ । त्यसैले प्रतिनिधि सभा निर्वाचन केवल राजनीतिक औपचारिकता होइन, यो राष्ट्रिय पुनर्निर्माणको मेरुदण्ड हो ।
    आजको राष्ट्रिय आवश्यकता भनेको सही व्यक्ति र सही विचार बोकेको राजनीतिक शक्ति सत्तामा पुग्नु हो । यसका लागि नागरिक स्वयं सचेत हुनु पर्छ । “कसले देशका लागि के गर्न सक्छ ?” भन्ने प्रश्नको उत्तर खोज्नु जरुरी छ, न कि “कसले मलाई के दिन्छ ?” भन्ने संकुचित सोचमा सीमित हुनु । सही व्यक्ति छनोट गरौं, राष्ट्रलाई निकास दिऔं भन्ने नारालाई व्यवहारमा उतार्न अब ढिला गर्नु हुँदैन ।
    हाल विभिन्न राजनीतिक दलहरुले समानुपातिक सूचीमा नाता–गोता, आफन्त, यहाँसम्म कि नेताका व्यक्तिगत नजिकका सम्बन्धका व्यक्तिहरू समेटिएको भन्ने आलोचना व्यापक आयो । समानुपातिक प्रतिनिधित्व प्रणाली मूलतः पछाडि पारिएका वर्ग, समुदाय र आवाजविहीन नागरिकको प्रतिनिधित्व सुनिश्चित गर्न बनाइएको हो । तर यसको दुरुपयोग हुँदा लोकतन्त्रको आत्मामाथि नै आघात पुग्छ । यस्तो विकृतिको विरोध गर्नु र सुधारका लागि दबाब सिर्जना गर्नु नागरिकको लोकतान्त्रिक कर्तव्य हो ।
    अन्ततः देश बनाउने जिम्मेवारी नेताहरूको मात्र होइन, प्रत्येक मतदाताको पनि हो। हाम्रो एक–एक मतले देशको भविष्य निर्माण गर्छ । विवेक, चेतना र जिम्मेवारीका साथ मतदान गर्नु नै साँचो देशप्रेम हो । सही व्यक्ति, सही विचार र सही मार्गको चयन गरेर मात्र हामी समृद्ध, न्यायपूर्ण, समावेशी र सुशासित नेपालको सपना साकार गर्न सक्छौं । यही सचेत निर्णय नै हाम्रो पुस्ताले भावी पुस्तालाई दिन सक्ने सबैभन्दा ठूलो उपहार हुनेछ ।