छहरा । मुलुकमा अझै पनि जातभात, छुवाछुत, उचनीच जस्ता सामाजिक कुरीति निमिट्यान्न हुन नसकेको एकपछि अर्काे घटनाक्रमहरुले पुष्टि
गर्दछ । ठूलाठूला सभा सम्मेलनहरु र तारे होटलहरुमा हुने सेमिनारमा मात्र जातभात, छुवाछुत उन्मुलन भएको उद्घोषण गरिन्छ तर व्यवहारमा ज्यूँकात्यूँ छ । यसलाई विज्ञहरुले हिन्दूवर्ण व्यवस्थाकै अर्थात मनुस्मृतिकै उपज ठानेका छन् । नेपालमा नेपालीको घरभित्र, कुकुर, बिरालो, सुँगुर, कुखुरा आदि जनावर बेरोकतोक पस्न सक्छन्, तर कथित दलित जातका मानिस अझै पनि पस्न सक्दैनन् । नेपालमा चेलीहरुले वरपीपल र बेल जस्ता निर्जिव वस्तुसँग विवाह गर्ने गर्छन् तर एउटा नेपालीले अर्काे नेपालीसँग विवाह अनुमति पाउँदैनन् । कथित अछुत जातले अझै पनि खाद्य पदार्थको होटल या रेष्टुरण्ट खोलेमा त्यसको व्यवसाय चल्दैन, दुध, दही, घ्यूँ समेत बीषतुल्य बन्छ ।
अछुत जातका मानिसका शिक्षकहरुले गाउँका विद्यालयहरुमा अपमानित र कथित उच्च जातिकाहरुबाट तिरष्कृत हुुनपर्छ । ताप्लेजुङमा घटेको हालैको घटनाले यसलाई थप पुष्टि गरेको छ । अझै पनि मुखले जे बोले र जे भट्याए पनि बाहुनक्षेत्री, तामाङ, दमाई, सार्की थरका जातिका मानिसहरु सँगसँगै मिलेर ज्यामी मजदुर काम गरे पनि, बेलुकी सँगै बसेर, खान पकाएर एउटै चुलोमा, एउटै भान्सामा बस्दैनन्, यो तितो सत्य हो । आर्थिक रुपले गरीब, सर्वहारा, सुकुम्वासी भए पनि यथार्थ रुपमा तिनीहरुमा सदिऔदेखि बसालिदै आएको जातिगत संस्कार र परम्पराकै कारण उनीहरु एकै भान्सामा अझै पनि खुलेर रहदैनन् । आफ्नो जातको कुनै एक व्यक्ति राष्ट्रको महत्वपूर्ण पदमा पुगेको छ भने त्यो जातिका मानिसहरुले मनमनै गर्व गरेको हुन्छ । यो मानसिकता नेपालबाट अझै हट्न सकेको छैन । अझैसम्म नेपालमा जातीय अन्तरविरोध छ । यस्तो जातीय अन्तरविरोध या जातीय असमानता हटाउन पीडित जातजातिलाई समानुपातिक तवरले सत्तामा नल्याएसम्म जातीय असमानता हट्दैन । प्रश्न उठ्छ के नेपालमा जातीय विभेद, छुवाछुत, उचनीच जस्ता जघन्य अपराध निमिट्यान्न हुँदैन त ? अर्थात जातीय विभेद पूर्णतया अन्त्य हुनु अझै कति समय लाग्ला ? भन्ने प्रश्न अझैं अनुत्तरीत छ ।

