मधेशमा अहिले विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । वर्षायामको समयमा पनि पर्याप्त वर्षा नहुँदा र भएको चापाकल र पानीको मुहान समेत सुकेको हुँदा रोपाईं त परको कुरा, अहिले खानेपानी समेत हाहाकार चलिरहेको छ । यस्तो अवस्थामा शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टरबाट मधेशका विभिन्न भागहरुको अवलोकण गर्न पुगे तर, प्रधानमन्त्रीले मधेशको सुख्खा हटाउन रातारात गर्न सक्ने केही छैन ।
किनभने यो अवस्था आउनुको कारण केपी शर्मा ओली र उनी जस्तै सरकारको नेतृत्वमा बसेकाहरुले वर्षौंदेखि गर्दै आएको गल्तीको परिणाम हो । अहिले कल र धारा सुक्दा मधेश तिर्खाएको छ, झन् खडेरीमा परेका तराईका खेतले भविष्यमा भोका पेटको समस्या अझै बढाउने निश्चित जस्तै छ ।
खडेरीको तापमा जलिरहेको सिंगै मधेशका लागि हेलिकप्टरबाट उत्रिएका प्रधानमन्त्री रमिते मात्रै हुन् । किनकी उनी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना लिएर मधेश गएका थिएनन् । त्यसैको फलस्वरुप प्रधामनन्त्रीले महोत्तरी र धनुषा पुगेर निर्देशन मात्र दिए, तर त्यसले तत्कालै केही भइहाल्ने छैन किनभने प्रधानमन्त्री जानुभन्दा पहिलादेखि नै त्यहाँ निर्णय र निर्देशनको बाढी लागिसकेको हो ।
प्रमको हेलिकप्टरबाट मधेशको भ्रमण केवल एउटा झुटा आश्वासन देखाउने बहाना मात्र थियो भन्ने कुरा प्रमको सचिवालयले मिडियाहरुलाई पठाएको फोटोबाटै प्रष्ट हुन्छ जसमा प्रधानमन्त्री ओली हेलिकप्टरबाट तराई–मधेशका बाझा खेतबारी हेरिरहेका थिए ।

