छसस । रैथाने समुदाय आदिवासी, भूमिपुत्र समुदायका सवालप्रति हामी जानकार पनि छौं, उनीहरुका हक, हित र अधिकार हामी बहाली गर्दछौं भन्ने शासकीय मनोवृत्तिले फिरंगी ‘जनजाति’को नाममा देशका मूलवासी भूमिपुत्रहरुलाई झन् झन् पछि धकेल्ने षड्यन्त्रको चाजोपाजो मिलाईरहेका छन् । यसैलाई नै ठूलो उपकार र लोककल्याण ठानेर राजनैतिक दलहरुले विश्व विख्यात समाजशास्त्रीहरुका परिभाषा विपरीत यहाँका प्राकृतिकपुजक, भूमिपुत्र, आदिवासी समुदायलाई ‘फिरंगी जनजाति’ परिभाषा भित्र खुम्चाउने घोर षडयन्त्र गरेर यहाँका आदिवासी भूमिपुत्र समुदायको घोर अपमान गरिरहेका छन् ।
जबकी श्वि विख्यात विद्वानहरुले जसको आफ्नो निश्चित भूभाग, संस्कार, संस्कृति, भाषा, लिपि छैन, त्यो वर्गलाई ‘जनजाति’ भनि परिभाषित गरेका छन् । यस्तो वर्ग नेपालमा भेटिनु मुस्किल छ । जसको खास धर्म, संस्कार, संस्कृति, रहनसहन, रितिरिवाज नहोस् । विद्वानहरुको भनाईलाई आधार मान्ने हो भने नेपालमा जनजाति परिभाषाभित्र पर्ने कुसुण्डा, हुति, चिडिमारा, राउटे समुदायहरुलाई मात्र जनजातिको रुपमा लिन सकिन्छ । एक तथ्यांक अनुसार नेपालमा राउटे लगायत यी समुदायहरुको कुल संख्या आजको मितिसम्ममा सात सय पनि पुगेको देखिन्न । नेपालको सन्दर्भमा यही समुदाय नै विद्वानहरुको राय अनुसार जनजाति परिभाषाभित्र पर्दछन् ।
झनै आफुलाई भूमिपुत्र हौ भन्दै आएका यहाँका भूमिपुत्र समुदायले त यहाँ शासन गरेको इतिहास छ । भाषा, लिपी, धर्म, संस्कार, संस्कृतिको यो समुदाय अमिर छ । ऊ आफुलाई यहाँको भूमिपुत्र कहलाउँछ भने उनीहरु जनजाति परिभाषाभित्र कसरी पर्छन् ? नेपालमा यो समुदायलाई जनजाति परिभाषा भित्र पारिएको छ । जो अचम्मकै विषय बनेको छ । वास्तवमा भन्ने हो भने आर्य–अनार्य, सभ्य–असभ्य, तागाधारी–मतवाली, पानी चल्ने–नचल्ने वर्णाश्रमको व्यवस्था गरेर जनजाति परिभाषा भित्र जर्बजस्ती भूमिपुत्रहरुलाई कोच्ने चक्रव्यूह, इतिहासको कालखण्डदेखि नै गर्दै आएको देखिन्छ । यसतर्फ आम नेपालीले खासगरी भूमिपुत्र समुदायले गम्भीरताका साथ मनन गर्नुपर्ने अवस्था आएको छ ।
शारीरिक बनावट, रगतको रंग, आदि इत्यादि दुरुस्त भएका मानिस फरक कसरी हुन सक्छ । कसैले छोएको पानी समेत खान नहुने, कुनै जन्मिदै आर्य र कोही भने अनन्त कालसम्म अनार्य नै रहीरहने यो पनि कसरी हुन सक्छ ? अतः आदिवासी किरात वर्ग जस्को निश्चित भूभाग छ, संस्कार, संस्कृति र भाषा लिपीको अमिर छ, जसको पुर्खाले शासन सत्ता सम्हालेको इतिहास छ यो वर्ग जनजाति हुन्छ कसरी ? यी सब स्वार्थी निज षड्यन्त्रकारी वर्ग जसलाई चलनचल्तीमा भन्दै आइएको छ यस्ता तत्वले नै यी सबै खाले भ्रम फैलाएका हुन् । यो अकाट्य सत्य पनि हो । यसतर्फ सबै तह र तप्काका नेपालीहरुले गम्भीरताकासाथ लिनुपर्दछ । आर्य अनार्य कुनै धर्म होइन यो केवल शब्द मात्र हो भन्ने बुझौं । आदिवासी किरात समुदायले अबुझपनमै आफुले आफुलाई असभ्य अनार्य भन्दै आए । यो केवल शब्द जाल मात्र हो । आदिवासी भुमिपुत्र किरातहरु ब्राह्मणवादको चक्रव्यूहको शिकार इतिहासदेखि हालसम्म नै बन्दै आएको कारण हामी कहाँ आर्य(सभ्य) हौ र हामी त अनार्य(असभ्य) पो हौ त भन्दै आइरहेका देखिन्छन् । कसैले उनीहरुलाई तिमीहरु पनि आर्य नै हौ, असभ्य होइनौ भने यी वर्गका स्वाठहरुले आदिवासी किरातका सुभेच्छुकलाई गाली गलौज मात्र होइन भक्कु भकुर्छन् पनि यसरी उनीहरु केही अबुझ् व्यक्तिहरुका शिकार हुन्छन् । किराती सुभेच्छुकहरु प्रपन्नाचार्य काले राईको पनि यही हाल भएको थियो । वास्तवमा भुमिपुत्र किरात समुदाय जनजाति वर्ग र अनार्य चै पक्कै होइनन् । माथि भनिए झै ऊ भुमिपुत्र हो । संस्कार संस्कृति र भाषा, लिपी छ उसँग । ऊ राममणि आदिको भनाइझै ‘भुसतिघ्रे र स्वाँठे पनि छैन ।’ र होइन । भने भुमिपुत्रहरु कसरी जनजाति परिभाषा भित्र पर्दछन् त ।
यस्तै चक्रव्यूहमा फसेर आदिवासी भुमिपुत्र किरातहरुले आफ्नो गला आफैले रेट्दै आएका छन् । किरातहरुले बुझ्नु पर्ने कुरा के छ भने–किरातहरु अनादिकालदेखि नै हालसम्म निश्चित भुभाग, रितिरिवाज, भाषा, लिपीका धनि र सभ्य छन् र भविष्यमा पनि रहीरहने छन् । कसैको बहकावमा लागेर, कसैको चक्रव्यूहमा फसेर आफ्नो इतिहास सर्वश्व त्यागेर अब किरातहरु चुप लागेर बस्नु हुन्न । आफ्नो इतिहास र परम्पराको यथार्थ बुझेर अगाडि बढ्नु पर्दछ । अब पनि हामी एक अर्काको खुट्टा तानातान गर्ने प्रवृत्तिलाई नछाडी अर्काकै चक्रव्यूहमा फस्दै गयौ भने हाम्रा भावी सन्तानले पनि अझै दुःख व्यहोर्नुपर्ने छ । सबैलाई चेतना भया ।

