•  २०८३ बैशाख १
  • आदिवासी, भूमिपुत्र भन्नेहरु पढेका पनि छन्, परेका पनि छन् । परिवर्तनका नाममा हुँदै आइरहेका हरेक संघर्षहरुा मरेका पनि छन् । मारेका पनि छन् । तर पनि संघर्ष पश्चात कुनै सरकार बनेपछि या सत्ता परिवर्तन मात्र नभएर व्यवस्थानै परिवर्तन भएपछि प्राप्त हुनुपर्ने सवालहरु, अधिकारहरुबाट किन सँधैबञ्चित हुनुपर्दा पनि यी समुदायका बौद्धिक भनिने, दल आबद्ध व्यक्तिहरु किन ‘चू’सम्म बोल्न सक्दैनन्, लेख्दैनन्, शीर्ष नेताहरु समक्ष ‘राम भक्त, हनुमानझै’ घुँडा टेक्छन् ? के उनीहरुमा बेदना, आत्मसम्मान, स्वाभिमान छैन? किन यी रामभक्त हुनमानहरुको बुद्धि विवेकमा कहिल्यै नखोलिने बिर्काे लागेको छ ? या उनीहरु आदिवासी समुदायमाथि भइरहेको ‘होचो अघ्रेलोको’ भाग छोप्ने दाउ कुरीरहेका छन् ।
    पत्रिका निकाल्नु पनि गाह्रो  भयो । पढेलेखेका भनाउँदाहरु एउटा लेख रचनाको निम्ति दश पल्ट धाउन लगाएर पनि अर्काे अंकलाई भाका राख्दछन्, यसपालि त ‘एक आइएनजीओ कै’ कार्यपत्र लेख्दैछु । यस्तो भनाई तेस्रो धारका सम्पादकहरुबीच हुने गर्छ । सम्पादकहरुको अनुभवमा एउटा रचना लिन आठ नै पटक धाउन मामुली कुरा हो । र पनि राम्रो रचना पाइन्छ भन्ने कुरामा शंकै हुन्छ । सभा, सम्मेलनमा उपस्थित डिग्री होल्डर बौद्धिक भनि माग्नेहरुको सहभागिता र रवैयालाई हेर्दा भ्रम सिर्जना हुन्छ तर व्यवहारिकतामा त्यस्तो पटक्कै हुन्न । हैन कता जान्छन् हँ यी विद्वानहरु जो एनजीओको कार्यपत्रमा आफ्नो मुक्तिको सपना देख्ने गर्छन् । मञ्च पाएर होस् या नपाई आदिवासी विद्वान महोदयहरु बाहुनलाई गाली गर्न थाक्दैनन् तर व्यवहारमा बाहुनवादी बन्छन् । यी कुरा बुझ्न जरुरी भैसकेको छ । यस प्रकारको प्रवृत्ति कतै उनीहरुको सत्ता र डलर भजाउन साधन मात्र त होइन ?
    वर्गीय स्वभावः नेपालमा आदिवासी आवाज उठाउनेहरु यिनै आदिवासी प्रबुद्ध व्यक्तिहरु हुन्, जो केही सम्पन्न, केही शिक्षित, र केही सुविधाभोगी छन् । उनीहरु आफुमाथि भइरहेको होचो अग्लोको विरोध तमाम आदिवासी मुक्तिका खातिर नभएर आफुले पाउने सुविधालाई ध्यानमा राखेर गरिरहेका छन् । पढेलेखेकाहरु तिनै सुब्बा, राई, मुखिया, थकाली, लामा, चौधरी र घले जस्ता घरानाका व्यक्तिहरु हुने जो वास्तवमा आदिवासीका निम्ति वर्गीय स्वभावले शोषक हुन् । उनीहरु आदिवासी कुरालाई व्यक्तित्व विकासको खुड्किलोको रुपमा प्रयोग गर्छन र अवसर छोप्न सभा सम्मेलनमा बौद्धिकता छाट्छन् ।
    आदिवासीका विद्वानहरुको ठूलो अवगुण अर्धसामन्ती अवशेष हो । जो नितान्त व्यक्तिवादी स्वच्छन्दवादी छ । यिनै स्वभाव भएका आदिवासी बौद्धिक व्यक्तिहरु एकलौटे असंगठित पनि छन् । वास्तविक राष्ट्रिय रुपमा घटिरहेका घटनाहरुमाथि आपसमा अन्तरक्रिया गरेर साझा सवालहरुमा एकमत भएर आउनुपथ्र्याे तर  त्यसो हुनु उही स्वभावले नदिँदा बाहुनकै प्रवृत्तिलाई अंगालेर बाहुनवादको फोटोकपी बन्न पुग्छन् । यस्ता व्यक्तिहरु नै ठाउँ र मौसमअनुसार छेपारो भई रंग फेर्दै हिड्छन् ।
    यो प्रवृत्तिका आदिवासीका विद्वानहरु आफै बाहुनवादी संस्कृतिको संखघोष गर्छन् । यस्तै प्रवृत्तिको मारमा परेको समाजशास्त्रका विद्यार्थी(नाम उल्लेख नगर्ने शर्तमा) लेख लेख्न डराउँदै भन्छन् । मित्र तपाईहरु जस्ता पत्रकारहरुलाई रचना दिएर बाहुनवादीको हातबाट कसरी जागिर पाउनु ? जागिरका संयन्त्रहरु तिनै प्रवृत्तिका व्यक्तिहरुको हातमा हुँदा नयाँ व्यक्तिहरुबाट यतातिर हात नचलेको यथार्थ रहेको छ ।
    कमी कमजोरीः आदिवासीको निम्ति ‘नेपाली’ दोस्रो भाषा हो । मानिस दोस्रो भाषामा पहिलो भाषामा झै सक्षम हुदैनन् । यसरी नेपाली भाषामा विचार अभिव्यक्ति गर्न पहिलो भाषिीलाई जस्तो सहज छैन । बोल्ने भाषा र लेख्य भाषाबीच ज्यादै ठूलो दुरी हुन्छ । बोल्दा सामान्यतया उस्तो परिमार्जित हुनु पर्दैन जति लेख्य भाषामा हुन आवश्यक छ । लेख्या भाषामा बढी प्राविधिक र सौम्य हुनुपर्छ । अर्काेतिर अभिव्यक्ति कलाको ज्ञान पनि लेख रचनाको निम्ति अति आवश्यक ठहरिन्छ । विषयवस्तुको ज्ञान भए पनि अभिव्यक्ति कला भएन भने उक्त कुरा ठोस वस्तु बन्न जान्छ । यसरी तयार भएको रचनामा या आक्रोश या त नारा हुन जान्छ । यी त भए प्राविधिक कुरा । लेख्नलाई पहिलो कुरा विचारको हो । जब आदिवासी शिक्षित व्यक्तिहरु निहित स्वार्थमा छन् भने उनीहरु कस्तो प्रकारको विचार सम्प्रेषण गर्ने ? खाँटी कुरा यहीनेर छ । वैचारिक भ्रष्टता सबैभन्दा ठूलो र निन्दनीय हुन्छ । अर्काेतर्फ विचार दिनु भनेको ठाडो विरोध होइन । बाहुनवादको विरोधमा कस्तो विचार सापेक्षित छन् भन्ने कुरा पनि रहनै पर्छ ।
    बौद्धिक लाहुरेः बरु लाहुरे दाजुभाईहरु आफ्नो स्वाभिमान, इमान्दारीता र बफादारीता परिवार, समाज र राष्ट्रको निम्ति भौतिक लगायत नैतिक उपहार ल्याइदिएका छन् । तर हाम्रो विद्वानहरु भने नितान्त रुपमा व्यक्तिवादी भएर बौद्धिक लाहुरे बन्न पुगेका छन् । उनीहरु डलरमा मात्र रिपोर्ट लेख्छन् र अन्तर्राष्ट्रिय कुरासँगै दिवा सपना देख्छन् । एकथरी मात्र पैसाको लागि आफ्नो बौद्धिकता बेचिरहेका छन् जसलाई आदिवासी समुदायको कुरा सुन्दा हिनताबोध होला र आफ्नो प्रगतिको बाधक ठान्लान् । उनीहरुलाई आफ्नो धरातल बुझ्ने चासो तबसम्म हुन्न जबसम्म ठेस लाग्दैन ।