•  २०८३ बैशाख ५
  • छसस । बुझ्नुपर्ने कुरा के हो भने ‘ब्राह्मणवाद’ भनि बाहुन क्षेत्रीलाई भनेको होयन, न त ‘जातिवाद’ भनेर राष्ट्रले पहिचान गरेका आदिवासी समुदायलाई नै भनेको हो, यो त केवल प्रवृत्तिको मात्र कुरा गरेको हो । ब्राह्मणवाद प्रवृत्ति आदिवासी, दलित सबै समुदाय भित्र पनि छ र आदिवासी, ललित प्रवृत्ति बाहुन क्षेत्री भित्र पनि छ । प्रवृत्तिको विश्लेषण गर्दा केही जाति, समुदाय विशेषको प्रशंग जोडिएपनि कुनै नीहित जातिहरुलाई ईंगित गर्ने आशय छहरा साप्ताहिकको हुँदै होइन ।
    खास गरेर भूमिपुत्र, आदिवासीले जुन प्रकारको आवाज उठाईरहेका छन्, राजनीति गरिरहेका छन्, यी सवालहरुमा एउटा कित्ता छ र त्यो कित्तामा खास गरेर पहिचान गरिएका आदिवासी समुदायहरु राई, लिम्बु, याख्खा–सुनुवार, नेवार, मगर, गुरुङ, तामाङ, शेर्पा, भोटे, कुमाल, कुशबडिया कुसुण्डा, गन्गाई, जिरेल, झाँगड, डोल्पो, ताङगवे, ताजपुरीया, थकाली, तीन गाउँले थकाली, मारफाली थकाली, तोकपेगोला, चेपाङ्ग, छन्त्याल, छैरोपन, थामी, थारु, थुनाम, दनुवार, दराई, दुरा, धानुक(राजवंशी), किसान, धिमाल, पहारी, फिरी, बनकरीया, बराम, बाह्र गाउँले, बोटे, भुजेल, माझी, मुगाली, मेचे(बोडे), राउटे, कोच(राजवंशी), राजी, लार्के, लेप्चा, लोपा, ल्होमी (सिङसावा), बालुङ्ग, व्यासी, सतार, सन्थाल, सियार, सुरेल, हायु लगायतका छन् । यी आदिवासी समुदायहरु आफ्ना हक, अधिकार सुनिश्चित हुनुपर्ने कुरासँग सम्बन्धित विभिन्न मागहरु सहित आफ्ना अधिकार र पहिचानका लागि विभिन्न चरण र स्वभावका आन्दोलनहरु बेला बेला गरिरहेकै छन् । तर उनीहरुको आन्दोलनको गतिले न त शिर्ष र चरम उत्कर्षको शिखर चुमेको छ न त राज्यले नै आत्मसात गरी सम्बोधन नै गरेको छ ।
    आदिवासी÷भूमिपुत्र, समुदायले सारपूर्ण आन्दोलन गरेर आफुहरुले प्राप्त गर्न चाहेका हक र अधिकारका लागि गहकिलो रणनीति बनाउनुपर्नेमा जातिवादी विचार र व्याख्या मात्र बढी गरेकाले न त कुनै निष्कर्ष निक्ल्यो न त समस्याको समाधान जरैदेखिको समाधान गर्न सफल कार्ययोजना नै बनियो । कोसँग, केका लागि, कसरी आफुहरुको हक र अधिकारको प्रत्याभुति गर्ने भन्ने विषयमा अल्मलिइरुहेको देखिन्छ । यही फगत विचार र व्याख्यानै जातिवादको रुपमा विकसित भई आदिवासी भूमिपुत्रहरुका हरेक अभियान र आन्दोलन, रणनीति र राजनीतिमा जातिवाद प्रधान भएको हो । भूमिपुत्रहरुले सामाजिक, पारम्पारिक, धर्म, संस्कृति, भाषा लिपी, आर्थिक, राजनीतिक, शैक्षिक, भौगोलिक क्षेत्रमा आआफ्ना जातीय पहिचान, सामथ्र्य, प्रतिनिधित्व र समावेशीकरणमा आआफ्ना हक, अधिकारको ग्यारेन्टीका लागि गरेका आन्दोलनहरु गन्ती गर्ने हो भने साध्यनै छैन ।
    पृथ्वीनारायण शाहको नेपाल एकीकरणकै समयदेखि १०४ वर्षसम्मको राणाशासनकाल, ३० वर्षसम्मको पञ्चायतकाल, प्रजातन्त्र र अहिले गणतन्त्रसम्म नेपालमा आदिवासी भूमिपुत्र समुदायले निरन्तर रुपमा आन्दोलन गरिरहेका छन् । यो आन्दोलन एक युगदेखि अर्काे युगसम्म बाँचिरहे पनि एक पुस्तादेखि अर्काे पुस्तामा सर्न बाहेक सफलता चाहि हात लागे शून्यनै छ । आदिवासी भूमिपुत्रहरुका हरेक मोभमेन्टमा जातिवाद अघि लागेपछि आदिवासी भूमिपुत्र समुदायको आन्दोलनलाई निष्क्रिय बनाउन आदिवासी समुदायभित्रै अनेक गुट, फुट, वैमनस्यता, विभाजन, ध्रुविकरण, राजनीति चलखेल आदि वातावरण सृजना गरेर आदिवासी समुदायलाई कहिल्यै मिल्न नदिने रणनीति सदियौैदेखि अर्काे एउटा कित्ता ब्राह्मणवाद हुँदै आएको पनि सत्य हो । आदिवासी समुदायले आआफ्नो हक अधिकारको लागि गर्दै आएको आन्दोलनमा बढीभन्दा बढी जातिवादको रंग, रुप, भाषा, भेषभुषा, जातिगत मनोभावनालाई अग्ररुपमा उपभोग गरेपछि भोली जातिवादको बर्चश्व भयो भने आफ्नो पहिचान शुन्य हुने हो की भन्ने शंका अर्काे कित्तालाई लाग्नु स्वभाविकै हो । त्यसैले आदिवासी समुदायका बीच तरंग फैलाएर आफ्नो प्रभाव कायमै राख्ने ब्राह्मणवाद विकसित भएर गएको हो भनिन्छ ।
    ब्राह्मणवादभित्र पनि जातिवादका सूत्रधार भनिने आदिवासीहरु र जातिवादभित्र पनि ब्राह्मणवादका सूत्रधार मानिने बाहुन, क्षेत्री प्रवेश भएको हुनाले, जातिवादले ब्राह्मणवादको र ब्राह्मणवादले जातिवादको खुलेर विरोध नगरी घुमाउरो पारामा बरु ब्राह्मणवादभित्र रहेका आदिवासीहरु र जातिवादभित्र रहेका बाहुन क्षेत्रीमार्फत आदिवासी समुदायलाई सक्रिय हुन र अघि बढ्न नदिने र जातिवादको भीडभित्र रहेका अनेक विचार र व्याख्यालाई अनेक किसिमको रणनीतिले र ब्राह्मणवाद अस्त्र प्रहार गरी अगाडि खाल्डो नहेरी छलाङ मार्न खोज्ने जातिवादको आन्दोलन जारी रहन दिने तर निष्कर्षमा पनि पुग्न नदिने रणनीति बनाएको छ । एकातर्फ जातिवादलाई दुर्बल बनाइरहन ब्राह्मणवादले आदिवासीहरुलाई नै उपयोग गरी जातिवादलाई आफ्नो वैशाखी टेकाइरहनु पर्ने र ब्राह्मणवादको वैशाखी नटेक्ने हो भने खोच्याउँदै हिड्नुपर्ने गरी अपाङ्ग बनाइएको छ । आदिवासी समुदायको विशेष जनघनत्व भएका क्षेत्रहरुमा स्वभाविक रुपले आदिवासी समुदायका मुद्दा र आन्दोलनहरु जल्दोबल्दो र सक्रियता देखिएता पनि त्यहाँ रहेका अन्य बाहुन, क्षेत्रीहरुले त्यसलाई जातिवादी मुद्दा र आन्दोलन हो भन्ने बुझेका हुनाले सक्रिय नभएको तटस्थ रहेको पाइएको छ । त्यसैगरी बाहुनक्षेत्रीहरुको जनघनत्व भएका क्षेत्रहरुमा भएको बाहुनक्षेत्रीहरुको मुद्दा र आन्दोलनको सवालमा त्यहाँ बसोबास गर्ने आदिवासी समुदायहरु चुप बस्ने गरेका छन् । कारण आदिवासीहरुको बुझाईमा त्यो ब्राह्मणवादी मुद्दा र आन्दोलन हो । राजनीतिक पार्टीगत रुपमा त एउटै भान्साकाहरु पनि अलगअलग सिद्धान्त र वैचारिक धारमा अनेक पार्टीको कित्तामा विभाजित भएका हुन्छन् नै तर आदिवासी मुद्दामा र आन्दोलनको सैद्धान्तिक, वैचारिक दृष्टिकोणमा भने एउटै भान्साकाहरु नभएर आदिवासी, बाहुन क्षेत्र भनेर जातहरुका बीच कित्ता विभाजन हुने गरेको यथार्थ हो । यदि आदिवासीहरुले गर्दै आएका आन्दोलनमा अर्काे कित्ता ब्राह्मणवाद तटस्थ रहेपछि या त्यसको रोकावट बनेपछि ब्राह्मणवाद जातिवादको पक्षमा छैन भन्ने कुरा स्पष्ट हुन्छ । करिब २०२४÷०२५ सालदेखि २०४१÷०४२ सालसम्म नेपालको कम्युनिष्टहरुका लागि शोषक–सामन्तको विरुद्धमा विभिन्न वर्गहरुका हितको लागि रिने एउटा निर्विकल्प अन्तहिन संघर्ष वर्गीय आन्दोलननै एक मात्र लक्ष्य र बाटो थियो । आदिवासी समुदाय र भाषा, संस्कृतिको सवालमा पनि वर्गीय समानताको प्रशिक्षण दिइन्थ्यो, तै पनि वर्गीय समानताको वकालत गर्ने नेपाली कम्युनिष्ट भित्र पनि पहिल्यैदेखि ब्राह्मणवाद र जातिवादको दुई कित्ता सुषुप्त रुपले रहेको थियो । त्यसबेला पनि बाहुन क्षेत्रीको भाष जर्बजस्ती लाद्न खोजेको भनेर संस्कृत भाषामाथि कम्युनिष्ट आदिवासी नेताहरुनै विरोध गर्न अघि सर्थे र उनीहरु खुकुरीको घान अचानोमा परेझै घानमा पर्दथे । तर समानताको प्रशिक्षण दिने कम्युनिष्ट बाहुन क्षेत्र नेताहरुले त्यसबेला पनि संस्कृत भाषाको खासै विरोध गरेनन् । त्यसबेलाको वर्गीय संघर्षका आजका तिनै आदिवासी समुदाय भनेर पहिचान गरिएका समुदायहरु समावेश थिए, जो आज वर्गीय आन्दोलनलाई एकातिर थन्क्याई सकेका छन् र जल्दोबल्दो रुपमा आदिवासी समुदायका हक, अधिकारको लागि आन्दोलन गरिरहेका छन् । नेपालको हरेक राजनीतिक लडाइमा अब आदिवासी, दलित, उत्पीडितहरुलाई उनीहरुको सामुदायिक जातीय शक्तिको रुपमा समावेश गरिनुपर्ने र आदिवासी समुदायको हक, हित अधिकार र जनजीविकाको सवालमा बोल्नैपर्ने आदिवासी आन्दोलनलाई आफ्नो आन्दोलनको एउटा एजेण्डा बनाउनै पर्ने जस्ता आदिवासी समुदायलाई उपेक्षा गर्न नसकिने गरी जातीयताको विषय निल्नु न ओकल्नु जस्तो हरेक राजनीतिक पार्टीहरुलाई भएको बेलामा यस्तो अनुकूल परिस्थितिबाट फाइदा उठाएर जातीयताका हक, अधिकारलाई सुनिश्चित बनाउन उपयुक्त कदम चाल्नुपर्ने हो तर आदिवासी भूमिपुत्रहरु आत्मसमर्पण, अवसर र पलायनमूखी बढी हुन खोजेकाले गर्दा आदिवासी आन्दोलन सफल हुन नसकेको र ब्राह्मणवाद र आदिवासी समुदायभित्रको ब्राह्मणवादले समेत सफल बनाउन नदिइरहेको हो । आदिवासी समुदाय विभिन्न राजनीतिक दलहरुमा प्रवेश गरेका हुनाले राजनीतिक पार्टीहरुमा ब्राह्मणवाद र जातिवाद, अवसरवाद, उपयोगवाद र यथास्थितिवाद हावी भइरहेको छ ।