“भानुभक्त आचार्य आदिकवि होइनन्” उनलाई त केवल तत्कालिन समयमा दार्जेलिङका साहित्यकारहरुले श्री ३ जुद्ध शमशेरलाई भनसुन गरेर आदिकविको उपाधि दिलाएका हुन् । श्री ३ राणा प्रधानमन्त्रीलाई यसरी अनुरोध गरेर भानुभक्त आचार्यलाई आदिकविको पगरी गुत्थाएको विषयलाई लिएर आज त्यहाँकै साहित्य जगत र विद्वतवर्गले आफ्नो भूल स्वीकार गर्दैछन् ।”
उक्त कुरो छहरा साप्ताहिकका तर्फबाट साहित्यकार डिक बान्तवाको एक प्रश्नको जवाफ दिनुहुँदै २०४७ साल वैशाख ११ गतेका दिन वरिष्ठ साहित्यकार स्व.गुमान सिं चाम्लिङले भन्नु भएको हो । १९४२–१२ मे का दिन टिष्टा बजार दार्जिलिङमा जन्मनुभएका गुमान सिं चाम्लिङ नेपाली साहित्य जगतमा कुनै अपरिचित नाम होइन । नर्थ बंगाल युनिभर्सिटिबाट राजनैतिकशास्त्रमा एम.एं गर्नुभएका श्री चाम्लिङयले विद्यार्थी छदानै साहित्य क्षेत्रमा उल्लेखनीय पुरस्कार तथा पदकहरु पाईसक्नु भएको थियो । बक्तृत्वमा ‘मार्क एन्टोनी’को रुपमा चिनिनुहुने साहित्यकार गुमान सिं चाम्लिङले विभिन्न महत्वपूर्ण ओहदामा रहेर साहित्यफाँटमा योगदान पुर्याई सक्नु भएको थियो । साहित्यको क्षेत्रमा दर्जनौ पुस्तकहरु प्रकाशित गर्नुभएका चाम्लिङले सन् १९८० मा भारतको राष्ट्रिय साहित्य एकेडेमी पुरस्कार नेपालबाट रत्न श्री स्वर्ण पदक, रेडियो नेपाल पुरस्कार र महानन्द पुरस्कार पाइसक्नु भएको थियो ।
ज्ञातव्य रहोस् २०२५ सालमा त्रिविविद्वारा आयोजित भानुजयन्ती समारोह सभामा भानुभक्त आदिकवि होइनन् भनेर गुमान सिं चाम्लिङले भन्नुभएपछि सो बेला नेपाली विद्वत वर्ग, साहित्य जगत दुई भागमा विभाजित हुनु पुगेका थिए । एक समूहले यसको पूर्ण समर्थन गरेका थिए भने अर्काे समूह ‘तै चूप, मै चपू’को शैलीमा उभिएका थिए । केहीले भने मौखिक रुपमा यस कुराको बद्ख्वाई गर्दै हिडेका पनि थिए ।

