•  २०८२ माघ २
  • देश अहिले शंकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यो मोडमा देश पु¥याउनेहरु को को हुन्, यसको दोषी को को हुन् ? हामीले चाल्नोमा केलाएर हेर्नुपर्छ । यस्तै अवस्था रहिरहे पुर्खाले ‘आर्याको’ देशै रहला कि नरहला यसै भन्न सकिने अवस्था छैन । खासगरी २००७ पछि नेपालका राजा, राणा दिल्लीबीच जुन जुन त्रिपक्षीय सम्झौता भएको थियो । यो सम्झौता पछि विस्तारै विस्तारै शक्तिबाट बाहिरिदै गयो भने, राजा प्रमुख शक्तिको रुपमा उदाए । उता दिल्ली दरबार भने प्रत्यक्ष अप्रत्यक्ष रुपले आजसम्म हाबी हुँदै आइरहेको छ । २०१५ सालमा राजा महेन्द्रले आम चुनाव गराएपछि नेपाली कांग्रेस दुई तिहाई बहुमतका साथ सत्तामा पुग्यो । यता तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ४ सिट ल्याएर संसदीय राजनीतिमा बबुरो देखियो । यद्यपी त्यो बेला कम्युनिष्ट पार्टीका सांसदहरुले खेलेको भूमिका सशक्त र दमदार थियो । बहुमतका साथ उदाएको नेपाली कांग्रेस भने दिल्ली दरबारको बुँखेचा देखियो । उदाहरणको लागि नेपालको उत्तरी सीमामा भारतीय सेनाहरुको चेकपोष्ट राखिनु नै उक्त कुराको पुष्टि हुन्छ । बुझ्नुपर्ने के हो भने के राष्ट्रियताको दृष्टिले भारतीय सेनाहरु नेपालको सीमा सुरक्षामा खटाउन मिल्छ ? गम्भीरताका साथ सोच्नुपर्ने हुन्छ । त्यो भन्दा ठूला राष्ट्रप्रतिको गद्दारी अरु के हुन सक्छ ? कोशी, गण्डकी र महाकालीको प्रशंग त अलि परै राखौं । त्यही भएर पनि राजा महेन्द्रले २०१७ सालको कदम चालेको हुन सक्छ । सन् १९४० ताका नै भारतीय संसदमा तत्कालिन भारतीय गृहमन्त्री बल्लभभाई पटेलले नेपाललाई भारतमा गाभ्नुपर्छ भनेर प्रस्ताव गरेका थिए । तर तत्कालिन भारतीय प्रधानमन्त्री नेहरुले भने हामी आफै त भावनात्मक रुपमा एक हुन सकेको छैनौ भने, सयौं वर्षदेखि सार्वभौम रहेको नेपाललाई कसरी भारतमा विलय गराउन सक्छौं ? भनेर प्रतिउत्तर दिएको यहाँ स्मरणीय छ ।
    माथि उल्लेखित बुँदाहरुले के को संकेत गर्दछ भने २००७ सालदेखि नै दिल्ली दरबारको नेपालप्रति हेर्ने दृष्टिकोण सहि छैन, जो अहिलेसम्म पनि निरन्तर रहिरहेकै छ । भाद्र २३ र २४ को जेनजी आन्दोलनमा पनि भारतीय घुसपैठ रहेको हामी सामु छर्लंग छ । उत्ता २०४६ सालमा जनआन्दोलनको समयमा पनि त्यो बेला होटल सोल्टीमा डेरा डण्डा जमाएर बसेका दिल्ली दरबारका प्रतिनिधिहरुले ल्याएको ‘एग्रीमेन्ट पेपर’मा राजा वीरेन्द्रले सकारात्मक रुपले टाउको हल्लाएको भए अहिले अर्काै कालखण्ड आउन पनि सक्थ्यो । तर विदेशीले जे भन्यो त्यही मान्नु भन्दा आफ्नै नेपाली जनतासामु घुँडा टेक्नु उचित ठानेर राजा वीरेन्द्रले । अहिलेको गणतन्त्रवादी नेताहरु जस्तै त्यसबेला राजा वीरेन्द्रले पनि भारतको इशारामा गोपीकृष्ण कहो भनि दिएको भए नेपालको स्थिति त्यसैबेला भुटानको हाराहारीमा पुगीसक्थ्यो ।
    तर आजहामीले नेपालका कुनै पनि राजनीतिक पार्टीहरु देखिरहेका छैनौ कि जो विदेशीको इशारामा रुमलिएको नहोस् । जेनजी सरकार र नयाँ दलहरु निर्माणमा समेत कसको हात छ, आम नेपाली सामु छर्लंग छ । जेनजी सरकार बनि सकेपछि पनि नेपालका गणतान्त्रिक नेता हौ भन्नेहरु चाहे बाबुराम भट्टराई हुन् कि, प्रचण्ड या कांग्रेसी नै किन नहुन् । एकपछि अर्काे भारतीय निर्देशनमा नै चलिरहेका छन् । अर्थात नेपाली राजनीतिको रिमोट भारतकै हातमा छ । यहाँको राजनीति जहिले पनि अस्थिर भइरहोस् भन्ने मानसिकता राख्ने भारतीयहरुलाई थप चलखेल गर्ने वातावरण भने नेपालकै नेताहरुले बनाइदिने गर्छन् । अहिले पनि नेपालका नेताहरु एकपछि अर्काे गर्दै दिल्ली दौडानमा गएबाट विदेशी चलखेल तीव्र भएको प्रष्ट छ । राजनीतिक विश्लेषकको अनुसार नयाँ पुराना प्रत्येक दलका नेताहरुलाई उचाल्ने र पछार्ने काम विदेशीहरुले नै गरिरहेका छन् ।