जेन्जी आन्दोलनपश्चान बनेको अन्तरिम सरकाले गर्नुपर्ने महत्वपूर्ण कार्य फागुन २१ को चुनाव नजिकिँदै गर्दा नेपाल फेरि एक महत्वपूर्ण राजनीतिक मोडमा उभिएको छ । चुनाव लोकतन्त्रको मूल आधार हो, तर विगतका अनुभवले देखाएको छ कि चुनाव मात्रैले परिवर्तन सुनिश्चित हुँदैन । परिवर्तन तब सम्भव हुन्छ, जब जनता सचेत भएर सही निर्णय गर्न सक्षम हुन्छन् । त्यसैले यस चुनावमा जनताले विगतका गल्ती र अनुभवबाट आवश्यक पाठ सिक्नु अत्यन्त जरुरी छ । विगतमा आकर्षक नारा, व्यक्तिपूजा, जातीय वा क्षेत्रीय पहिचानले मतदातालाई प्रभावित ग¥यो । तर यस्ता आधारमा निर्वाचित प्रतिनिधिहरूले अपेक्षित काम गर्न नसकेको अनुभव जनतासँग छ । यसले सिकाउँछ कि मत हाल्दा भावनाभन्दा विवेक, भाषणभन्दा नीति र नतिजालाई प्राथमिकता दिनुपर्छ । चुनावअघि सार्वजनिक गरिने घोषणापत्रप्रति पनि जनताको दृष्टिकोण परिपक्व हुनुपर्छ । विगतमा घोषणापत्रलाई गम्भीरतापूर्वक मूल्यांकन नगरी विश्वास गरिएको देखिन्छ । परिणामस्वरूप, अव्यावहारिक र दोहोरिएका वाचाहरू निरन्तर आइरहे । अब जनताले दल र उम्मेदवारले अघिल्लो कार्यकालमा के गरे, कति प्रतिबद्धता पूरा भए र नयाँ वाचा कति सम्भव छन् भन्ने कुरा हेरेर निर्णय गर्नुपर्छ ।
नेपाली राजनीतिमा व्यक्तिकेन्द्रित सोच अर्को ठूलो कमजोरी हो । कुनै एक नेताले सबै समस्या समाधान गर्छ भन्ने धारणा विगतले असफल प्रमाणित गरिसकेको छ । व्यक्ति परिवर्तन भए पनि प्रणाली, नीति र कार्यशैली परिवर्तन नभएसम्म अवस्था उस्तै रहने गरेको छ । त्यसैले जनताले अब व्यक्ति होइन, संस्थागत क्षमता, स्पष्ट नीति र जवाफदेही नेतृत्वलाई महत्व दिनुपर्छ ।
भ्रष्टाचारप्रति उदासीनता पनि विगतको गम्भीर कमजोरी हो । भ्रष्टाचारका आरोप लागेका उम्मेदवारहरू पटक–पटक निर्वाचित हुनु लोकतन्त्रकै कमजोरी हो । यस पटकको चुनावमा जनताले स्वच्छ छवि भएका उम्मेदवारलाई रोजेर भ्रष्टाचारविरुद्ध स्पष्ट सन्देश दिनुपर्छ ।
चुनावमा मतदान मात्र गरेर जिम्मेवारी पूरा भयो भन्ने सोच पनि गलत सावित भइसकेको छ । विगतमा चुनावपछि जनताको चासो घट्दा निर्वाचित प्रतिनिधिहरू जवाफदेही बन्न सकेनन् । त्यसैले अब जनताले चुनावपछि पनि निरन्तर निगरानी, प्रश्न र सहभागिता जनाउनुपर्छ भन्ने पाठ सिक्नुपर्छ । विगतमा तत्कालीन लाभ, साना सुविधा र क्षणिक लोभमा मतदान गर्दा दीर्घकालीन विकास ओझेलमा परेको देखिन्छ । विकासको अर्थ केवल भौतिक संरचना होइन, नागरिकको जीवनस्तर सुधार हो । शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनजस्ता विषयमा स्पष्ट दृष्टि भएका उम्मेदवारलाई प्राथमिकता दिनु आवश्यक छ । युवा वर्गको भूमिकाबाट पनि महत्वपूर्ण पाठ सिक्नुपर्छ ।
अन्ततः, फागुन २१ को चुनाव विगतका गल्ती दोहो¥याउने कि सुधारतर्फ अघि बढ्ने भन्ने निर्णायक अवसर हो । सचेत, जिम्मेवार र विवेकपूर्ण निर्णय गर्ने जनता नै सक्षम र जवाफदेही नेतृत्वको आधार हुन् । विगतबाट पाठ सिकेर गरिएको सही निर्णयले मात्र देशलाई स्थायित्व र समृद्धितर्फ लैजान सक्छ ।

