छसस । नेपाली राजनैतिक आकाशमा झनझन् कालो बादल मडारीई रहेको छ । खासगरी ठूलो दलका शीर्ष नेताहरुका गैह्र जिम्मेवारी प्रवृत्तिका कारण २०६२÷०६३ को दोस्रो जनआन्दोलनको म्याण्डेटलाई समेत धरापमा पारिएका छन् । राजनैतिक दलका नेताहरु स्वार्थ सिद्ध र सत्ता कब्जा गर्नकै लागि केन्द्रीत भएका कारण देशमा भ्रष्टाचार, व्यभिचार र कुशासन पराकाष्ठमा पुगेपछि, समयको माग अनुसार २०८२ भाद्र २३ र २४ गते जेनजी पुस्ताले आन्दोलन छेड्न पुगेका हुन् । विशेष गरी ठूला दलका शीर्ष नेताहरुको तोरी लाहुरे झगडाले देशमा विग्रह निम्तिएपछि जेनजीको पदार्पण हुनु परेको हो । तर जेनजीको यो आन्दोलन पनि तुहिने अवस्थाबाट गुज्रिरहेको देखिन्छ ।
नेपाली जनताले अहिले चाहेका कुरा भनेको मुलुकबाट भ्रष्टाचार, बेथिति, कुशासन, फरियावाद जस्ता कुरीति हटाउनु नै हो । जुन कुरालाई जेनजी सरकारले छुनै सकिरहेको छैन । वास्तवमा जेनजीले दिएको समय सापेक्ष म्याण्डेटलाई यो सरकारले पुरा गर्नु पर्दछ । किनभने जेनजी पुस्ताले सुशीला सरकारलाई जनता र देशको कुरीति हटाउनको लागि खेतालाको रुपमा पठाएका हुन् । खेतालाले जहिले पनि आफुलाई सुम्पिइएको कामप्रति वफादार हुनुपर्छ । यदि उसलाई सुम्पिइएको काम तमाम भएन भने उसको माम पनि कट्टी हुन्छ । र मालिकले उसलाई कहिल्यै पनि विश्वास गर्दैन । यसो भनौं जनअपेक्षा अनुसारको काम नगरे यो सरकार पनि इतिहासमा कलंकित
दरिन्छ । अतः जेनजी पुस्ताको एजेण्डलाई आत्मसात गर्दै कार्की सरकार अगाडि बढ्नुपर्छ, एजेण्डा मुताबिक काम गर्न नसके अविलम्व कुर्सी छोडी हाल्नु पर्छ । २०७२ सालको नयाँ संविधानको पनि अहिले चर्काे विरोध किन भइरहेको छ ? यी र यस्ता सवालहरुलाई समेत सरकारले गम्भीर भएर सोची अगाडि बढ्नु आवश्यक देखिन्छ । देशमा भ्रष्टाचार, महँगाई, फरियावाद, कुशासन जस्ता कुरीतिहरु चरम अवस्थामा पुगेको छ । कलकारखानाहरु बन्द छन् । कृषि प्रधान देशमा गुन्द्रुक, प्याज जस्ता तरकारी देखि दैनिक उपभोग्य चामल, दालसम्म विदेशीको भरपर्नु परिरहेको छ । यस सवालमा पनि सरकारले चासो राख्नु पर्दछ । देशमा विद्यमान यस्ता कुरीति र समस्या हल गर्दै जानु पर्दछ । सरकारले फागुन २१ गते निर्वाचन गराउने तर्फ ध्यान दिनको साथसाथै सर्वसाधारण जनताको चुलो चौकामा पाक्ने तरकारी देखि चामल, दाल, ग्याँस लगायतका वस्तुहरुमा कमसेकम ५० प्रतिशतले सस्तो गरिदिने हो भने सायद त्यहि नै लोकतान्त्रिक गणतन्त्र मान्ने छन्
जनताले । आफ्नो काँधमा आईपरेको दायित्व ग्रहण गर्दा भ्रष्ट र नालायकहरुका आँखामा खेताला ठहरिए पनि सरकार आफ्नो कर्तव्यबाट च्युत हुनुहुँदैन । भ्रष्ट र जनविरोधीको होइन, जनताको खेतालो बन्न सकेमा जनता जनाद्र्धन खुशी भई, अर्काे पटक पनि पुनः खेतबारीमा खेतालाको रुपमा चुन्नेछन् ।

