•  २०८२ माघ २
  • छसस । लोकतान्त्रिक प्रजातन्त्र भनेको लोकसम्मतीको आधारमा जनताका लागि जनताद्वारा, जनतामा समर्पित व्यवस्था हो । प्रजातन्त्रको आधार निर्वाचन हो । स्वच्छ, निष्पक्ष निर्वाचन हुन सकेन भने प्रजातन्त्र, लोकतन्त्र सुदृढ हुन सक्दैन । मुलुकमा आउदो २०८२ साल फागुन २१ गते आम निर्वाचन हुँदैछ । यो निर्वाचनमा पनि विगतमाझै विभिन्न देशीविदेशी प्रतिक्रियावादी तत्वहरुले निर्वाचन बिथोल्ने, स्वच्छ हुन नदिने खेलहरु हुन सक्दछन् । जनताका समस्याहरुलाई एउटा कुनामा थन्काएर नितान्त व्यक्तिगत र दलगत स्वार्थलाई मात्र अँगाल्दै आएका पुराना राजनैतिक दलहरुले प्रजातन्त्र–लोकतन्त्रको मूल्य र मान्यतामाथि नै प्रहार गरेर लोकतन्त्रलाई बिरुप पारेका छन् । यी दलहरु समुन्नत समाजको लागि प्रतिबद्ध नभएकै कारण जेनजी पुस्ताले बिद्रोह गर्नु परेको यथार्थलाई यहाँ नकार्न सकिन्न । दलका नेताहरु सत्तामा रहँदा मुलुकमारा नीति अख्तियार गरेको कारण आज देश भ्रष्टाचारले ग्रस्त, कुशासनयुक्त अवस्थाबाट गुज्रिनु परेको हो । पार्टीले लिने चन्दा र देशमा आउने पारदर्शिता नभएकै पार्टीका नेताहरु दिनप्रतिदिन अरब र करोडपति र नेपाली जनता दिनदिनै गरिब बन्दै गएका र देशमा आकाशिदो मूल्यवृद्धिको चपेटामा पर्दै गएको कुरा आम नेपालीले बुझ्नु जरुरी छ ।
    भन्सार छुटमा गाडी झिकाएर माडवारीलाई बिक्रि गरेर राज्यकोषको दुरुपयोग गने भ्रष्टाचार गर्ने, कमिशन खाने, रातोपासपोर्ट बेच्ने, चेलीबेटी बेच्ने, राष्ट्रघाति सन्धी, सम्झौता गरी स्वार्थपूर्ति गर्ने, जनताको त्यागपूर्ण आन्दोलन दबाउने, तस्करी, माफियाहरुलाई संरक्षण गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण गर्ने, विकास निर्माणका कार्यमा ध्यान नदिने, पुरुष भएर पनि सुत्केरी खर्च लिने जस्ता विकृति जन्य काम गर्ने जनताको नजरमा दङ्गदङ्ग गन्हाईसकेका दलका उम्मेदवारहरुलाई आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा यस पटक ‘लोप्पा’ खुवाउनु पर्ने दायित्व जनताको काँधमा आएको छ । आसन्न निर्वाचनमा योग्य, इमान्दार राष्ट्रवादी आदिवासी, दलित, मधेसी पक्षधर उम्मेदवारलाई रोजी रोजी र खोजी खोजी फूलको माला पहिर्याई दिनु पर्दछ । हामीले नेतामुखि होइन, जनमुखि लोकतान्त्रिक प्रजातन्त्र चाहेका हौं । जहाँ कार्यपालिका, विधायिका, न्यायपालिका र संवैधानिक अंगहरुले आआफ्ना काम र कर्तव्य, स्वाभिमानका साथ गर्न पाउने वातावरण सृजना गर्न र काममा पारदर्शिता, मितव्ययिता, सरलताका साथै ढिला सुस्ति र भ्रष्टाचार र कुशासनको अन्त्य गर्न सक्ने योग्य उम्मेदवारलाई जनताले यस पटक जागरुक र सचेत हुँदै आफ्नो स्वविवेक प्रयोग गरी जिताउनु पर्दछ ।