•  २०८३ जेष्ठ २३
  • छसस । ओली, प्रचण्ड र देउवाहरुको व्यवहार र क्रियाकलापबाट आजित भएका रोजिरोटीको लागि विदेश भासिनु बाध्य भएका नेपालीहरुले अब बन्ने नयाँ सरकारबाट स्वदेशमै रोजगारीको आशा राखेका छन् । रास्वपाको प्रतिबद्धता पत्र ‘स्याल हुँइया’ मात्र होइन र रास्वपा सरकारले जनभावना अनुरुपको कार्य गर्यो भने स्वदेशमै रोजगारीको व्यवस्था हुन सक्दछ ।
    नयाँ सरकारबाट स्वदेशमै रोजगारीको आशा गर्दै भारतको नैनितालमा भारी बोक्न पुगेका ५० वर्षीय भवानी प्रसाद रेग्मी करिब तीन दशकदेखि त्यहाँ ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन् । तीनै रेग्मीले छहरासँगको भेटमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट बहुमत प्राप्त रास्वपा सरकारले मजदुर वर्गको उत्थान गर्लान् की भन्ने आशा गरेका छन् ।
    रेग्मी भन्छन्– ‘हुनेखानेको लागि नैतिताल पर्यटकीय क्षेत्र हो । यहाँ गर्मी छल्न देशभित्र र बाहिरबाट पर्यटकहरु आउने गर्छन्, हामी जस्ता गरिब, गुर्बाको गुजारा चलाउने ठाउ पनि यही हो ।’
    यसैगरी पश्चिम रुकुमका ४८ वर्षीय श्याम बहादुर विष्ट पनि नैनीतालमै भारी ओसारपसार गर्ने काम गर्छन्, उनले पनि रास्वपा सरकार बनेपछि स्वदेशमै ज्यालामजदुरी गर्ने वातावरण हुने अपेक्षा गरेका छन् ।
    यो त एक उदाहरण मात्र हो । भारतीय बेजारमा ज्याला मजदुर गर्न विवश यस्ता हजारौं नेपाली जनताले अब बन्ने रास्वपाको बहुमतप्राप्त शक्तिशाली सरकारबाट धेरै आशा र भरोसा गरेका छन् । नेपाली मजदुरले मात्र नभएर सबै तह र तप्काका नेपाली जनता रास्वपाको अब बन्ने शक्तिशाली सरकारबाट धेरै आशावादी बनेका छन् ।
    हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले १८२ सिट सहित करिब करिब दुईतिहाईको जनादेश प्राप्त गरेर एकल सरकार गठन गर्ने तयारी गरीरहँदा देशैभर यसप्रकारको आशाको संचार पैदा भएको हो ।