यतिबेला सहज अवस्था छैन । असहज अवस्थामै अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई फागुन २१ गते चुनाव गराउनैपर्ने बाध्यता छ । तर प्रधानमन्त्रीसँग जेनजीनै त्यति सन्तुष्ट देखिन्न । जेनजी अगुवा रक्षा बम भन्छिन्– ‘सरकारप्रति हाम्रो असन्तुष्टी छन् । सरकारले आन्दोलनमा उत्रिएका युवाका हत्यारालाई भोलीपल्टनै पक्रियोस् भन्ने लागेको थियो । छिटोभन्दा छिटो न्याय मिल्छ भन्ने अपेषा थियो, तर भएन । कानूनसम्मत गर्न समय लागेको हुन सक्छ । हामीलाई मात्र दमन गर्न खोजिन्छ भने खबरदारी गरिरहन्छौं ।’
यस्तै जेनजी आन्दोलनका अर्का अगुवा सुदन गुरुङ भन्छन्– ‘सरकार बनेको दुई महिना भइसक्यो । घाइते र शहिदका लागि एउटा आयोग बनाउन सकेको छैन । भ्रष्टाचारविरुद्ध छानबिन आयोग पनि बनेन । बनेको भए केही न केही त आउथ्यो । दुई महिनामा जाबो एउटा आयोग बनाउन नसक्ने पनि हुन्छ ? अब २३ गतेका हत्यारालाई छानबिन आयोगले हेर्ने भनियो । अनि अहिले जेनजीलाई पक्रेको किन ? आपराधिक खालको, हत्या र आगजनी गरेकालाई समात्दा पनि हाम्रो असन्तुष्टी छैन । तर, जसले आन्दोलन जित्यो, त्यो मात्र टार्गेटमा किन? सरकारमा बसेर दमनमा उत्रिनेहरुलाई कारवाही किन नगरेको ? हामीले बनाएको सरकार हो यो । जसरी रमेश लेखकलाई कारवाही गर्नुपर्छ भनेका थियांै, त्यसैगरी अहिलेको गृहमन्त्रीले पनि प्रश्नको जवाफ दिनुपर्छ । किनकी शहिद परिवारर घाइते अहिले पनि रोइरहेका छन् । हामीबाट जवाफ खोजिरहेका छन् ।
जेनजी आन्दोलनका घाइते योगेन्द्र भण्डारी भन्छन्– ‘२३ गते दमन गर्नेहरुलाई पक्राउ गर्नुपर्यो । बोलाएर बयान लिनुपर्यो । सरकार बनेको ५५–६० दिन पुगिसक्यो । उल्टै त्यतिखेर सत्तामा रहेका दलहरुले च्यालेञ्ज गर्ने, गाली गर्दा केही नगर्नु भनेको सरकार कमजोर देखिएको हो ।’

