•  २०८३ श्रावण १३
  • जसबहादुर वाइसुर पिल्मो राई
    विषय र प्रसङगले मानिसको ध्यान आकृष्ट हुन्छ भन्ने विद्वानहरूको भनाइ सत्य सावित भएको छ । किरात पिल्मो राई भाषा तथा संस्कृति उत्थान संघ स्थापना हुनुपूर्व पिल्मो भन्ने शब्द सबैलाई थाहा थियो । तर पिल्मो भनेको के हो भनेर एकाध व्यक्ति बाहेक कसैले गहिरो खोजीनिधी गर्दैनथ्यो अथवा कसैले पिल्मो भनेको के हो भनेर चासो राख्दैनथ्यो । पुर्खौली इतिहास र पहिचानको हेक्का राख्ने बुढापाका बाहेक अरू कसैले वास्ता गरेको थियो भन्ने छनक भेटिदैनथ्यो । किरात पिल्मो राई संगठन स्थापनापछि पिल्मो राईको गतिविधि सार्वजनिक हुन थाल्यो । त्यसपछि पिल्मो भन्दा फरक राई र विभिन्न समुदायको पनि ध्यान आकृष्ट हुन पुग्यो । पिल्मो राईको सामाजिक गतिविधि झनझन चुस्त रूपमा बढ्दै गएको देखा परेको छ । कसैले मेरो मावली पिल्मो हो भन्न थालेको छ । मेरी आमाले आफूलाई पिल्मो राईको छोरी भन्नुहुन्थ्यो भन्न थालेको छ । मेरो ससुराली पनि पिल्मो हो । त्यसैगरी कसैले मेरो ज्वाइँ पनि पिल्मो हो, यस्तैयस्तै भेनाजु, बुहारी, सम्धिनी, भाउज्यू नाता जोडेर पिल्मो राईको विषयमा विचार व्यक्त गर्ने व्यक्ति व्यापक रूपमा भेटिन थालेको छ ।
    पिल्मो राईको संस्था स्थापना हुनुपूर्व पिल्मो शब्द जान्नेसुन्ने जोकोही व्यक्तिले पिल्मो भनेर सम्बोधन गरेको बिरलै भेटिन्थ्यो । पिल्मो राई समुदायको चालचुल केही नभएको अवस्थामा नाछिरिङको सम्पर्कमा रहेको केही पिल्मोलाई नाछिरिङले नाछिरिङ हो भनेर नाछिरिङ संगठनमा समावेश गरेको थियो । कुलुङको सम्पर्कमा रहेको पिल्मोलाई कुलुङले कुलुङ हो भनेर कुलुङ संगठनमा समावेश गरेको
    थियो । पछौटे, सिमाङकित र सोझो भएकोले आफ्नो विषयमा आफैले निर्णय गर्न नसक्ने पिल्मो राईको स्वभाव हो । निर्णय विहीन अन्योल र अस्पष्ट रूपमा रहेको पिल्मो राईलाई कुलुङ र नाछिरिङले परोक्ष रूपमा आ–आफ्नो पोल्टामा पारेर भागबन्डा लगाउन सुनिश्चित अवसर पाएको देखिन्छ । त्यसरी नाछिरिङ र कुलुङले पिल्मोलाई आफू भित्र समाहित गरेको थियो । यथार्थमा कुलुङ र नाछिरिङले आफ्नो समुदायको जनसंख्या वृद्धि गर्नको लागि खिचातानीको खेल खेलेका बुझिन्छ । अझ पनि केही पिल्मोहरू कुलुङ संघको केन्द्रीय समितिमा आबद्ध रहेका छन् भने केही पिल्मोहरू नाछिरिङ संगठनको केन्द्रीय समितिमा आबद्ध रहेका छन् ।
    केही समय अघिसम्म कुलुङ संघमा आबद्ध पिल्मोले सम्पूर्ण पिल्मोलाई कुलुङ संगठनमा समायोजन गर्न हरप्रयास गरेका थिए भने नाछिरिङ संघमा आबद्ध पिल्मोले नाछिरिङ संगठनमा समायोजन गर्न भरमग्दुर प्रयास गरेका थिए । तर आफ्नो पुर्खौली इतिहास र अस्तित्व के हो भनेर अध्यान नगरी कोही कुलुङ हुन पुगेको थियो भने कोही नाछिरिङ हुन पुगेको थियो । अहिले नाछिरिङ संगठनमा प्रवेश गराउने र कुलुङ संगठनमा प्रवेश गराउने होडबाजी भने रोकिएको छ । आफ्नो पुर्खौली अस्तित्व र पहिचान बेवास्ता गरेर नाछिरिङको जनशक्ति बन्न पुगेको पिल्मो र कुलुङको जनशक्ति बन्न पुगेको पिल्मो यथास्थानमा बसेर संस्थाको पदभार समाल्दै गरेको बुझिन्छ । किरात पिल्मो राई संगठनमा आबद्ध पिल्मोहरू धेरै कारणले सुषुप्त अवस्थामा रहेको देखिन्छ । पिल्मो संस्थाले सुषुप्त अवस्थामा रहेको पिल्मोहरूलाई झकझकाएर ब्युँझाउदै खाल्डोमा धुलोले पुरिएको पिल्मो इतिहास, अस्तित्व र पहिचानलाई खोतल्न थालेको बुझिन्छ ।
    व्यक्तिगत रीसइबी र पूर्वाग्रह नराखी अघि बढदा सत्य र तथ्य निरूपण हुन्छ । जाति भनेको राजनीतिक पार्टी बदलेर आज एउटा राजनीति पार्टीमा लाग्ने र भोलि चित्त नबुझे फेरि अर्काे पार्टीमा हाम फाल्न पुगे जस्तो होइन भनेर सुझबुझ राख्नु पर्दछ । कसैलाई मन नपरेर वा आपसमा झैझगडा परेको कारणबाट अथवा अर्को जाति मन परेर आफ्नो जाति छोडेर अर्काे जातिमा प्रवेश गर्न कदापि सम्भव हुँदैन । कोही ऐतिहासिक ज्ञानको अभावमा आफ्नो जाति त्यागेर अर्काे जातिमा गाभिन सक्छ, तर त्यो क्षणिक र मिथ्या मात्र हुन्छ । त्यस्तो अज्ञानता सधैँ रहिरहन सक्दैन । इतिहासले देखाएको मार्गदर्शनलाई पालन गरेर अघि बढदा स्वस्फूर्त रूपमा जातीय एकता र सम्मान प्राप्त हुन्छ । अनि त्यसैमा जातीय स्वाभिमान र पहिचान जीवित रहन्छ । कृत्रिम रूपमा जोडिएको जातिमा जातीय मान्यता पाइँदैन । त्यो केवल जनशक्ति उपयोग मात्र हो ।
    जाति निर्माण भएको इतिहास जस्तो छ, त्यहीँ ऐतिहासिक मान्यतामा अघि बढनुको कुनै विकल्प हुँदैन । जाति हुनलाई एउटा ऐतिहासिक घेरा भित्र हुर्किएको तथ्य आवश्यक पर्दछ । संसारको विभिन्न भूभागमा छरिएर बसोबास गरिरहेको मानिसलाई इतिहासको डोरीले कसेर जातीय मान्यता र अस्तित्व प्रदान गर्दछ । जाति निर्माण भएको इतिहासलाई साक्षी राखेर जाति छुटिने र जोडिने गर्दछ । यसको ज्वालन्त उदाहरण नेपालमा केही वर्ष अघिसम्म दुरा जाति गुरुङको एउटा थर भएर बसेको थियो भने आज दुरा अलग जाति भएको छ । त्यस्तै छन्त्यल मगर जातिको एउटा हाँगो अथवा थर थियो । आज छन्त्यल अलग जाति हो । यसरी छुटिनुको पछाडि ऐतिहासिक प्रमाणको आधार रहेको पाइन्छ ।
    मानिसलाई इतिहासले जोडेर एकत्रित बनाउछ । यस विषयमा इजरायलीलाई उदाहरणको रूपमा लिन सकिन्छ । इजरालीहरू विभिन्न देशमा २०० वर्षसम्म दास बनाएर राखिएको थियो । सन् १९४८ सालमा मुक्त गरिएपछि विभिन्न देशबाट इजरायल फर्किएको थियो । २०० वर्षमा १२, १३ पुस्ता पुस्तान्तरण हुन सक्छ । ऐतिहासिक चेतना छैन भने १२, १३ पुस्ताभित्र आधारहीन र शुन्यताले छाइ सक्छ । इजरायलीलाई ऐतिहासिक ज्ञानले २०० वर्पपछि इजरायल फर्कने हिम्मत र उत्साह सिर्जना गरिदियो ।
    इतिहासले पिल्मोलाई कसको सन्तान हो भनेर प्रमाणित गर्दछ ? पिल्मोहरूले बुझ्नु पर्ने विषय इतिहासको मूल ज्वरो, भाषा, सृष्टि पुर्खा, उद्गम्स्थल र संस्कार–संस्कृति हो । युगौयुगदेखि पिल्मो राईको अलिखित इतिहास, भाषा र संस्कार–संस्कृति मौखिक रूपमा पुस्तान्तरण हुँदै आएको छ । यस्ता ज्वलन्त उदाहरणहरू संसारमा धेरै छन् जसबाट प्रेरित भएर आफ्नो इतिहास खोज्ने जिज्ञासु बनौ ।