•  २०८३ बैशाख ५
  • सहकारी ठगी प्रकरणकाे छानबिनका लागि लगातार सदन अवराेध गर्दै आएकाे प्रमुख विपक्षी दल नेपाली कांग्रेस आइतबारदेखि सडकमा ओर्लेकाे छ । कांग्रेसले आज काठमाडाैंमा विराेध प्रदर्शन गर्‍याे । सदनमा लगातार वेल घेराउ गरे पनि सभामुख देवराज घिमिरेले संसद बैठक कार्यसूचीमा अघि बढाइरहेका छन् ।

    बैठककाे कार्यसूचीमा विशेष समय र शून्य समय राखिएकाे छैन । नाराबाजी र वेल घेराउकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए । मार्सल लगाएरै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आइतबार पारित गराए । कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र प्रमाण नष्ट गर्न सक्ने भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

    प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बीच सरकारले नीति तथा कार्यक्रम पास गराएकाे छ ।  १ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेस गरेका थिए । आजको बैठकमा सभामुख घिमिरेले नीति तथा कार्यक्रममाथिको छलफलका लागि १ घण्टाको समय छुट्याएका थिए । उक्त समयमा विपक्षी दलका दुई सांसद चित्रबहादुर केसी र प्रेम सुवालबाहेक सत्तापक्षका चार जना सांसदले आफ्नो धारणा राखेर नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइयो ।