
डा.युवराज लिम्बू
कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नरहेका, शिक्षित र व्यवशायिक एक जना साथीले प्रसंगवस भन्दै थिए; जुन राजनीतिक पार्टीको भाषण सुन्यो उसैको कुरा ठिक लाग्छ, वास्तवमा ठिक चाहिं कुन हो ? गत भाद्र २३ र २४ मा नेपालमा भएको जेनजी (Gen-Z) आन्दोलन पश्चात देशमा नयाँ राजनीतिक वातावरणमा देखा परेका बिभिन्न नयाँ, पुराना राजनीतिक पार्टीहरुको सन्धर्भमा कुरा चल्दा उठेको एक प्रसंग हो यो l वास्तवमा संसारमा जेनजीको नाममा युवा पुस्ताबाट भईरहेको कुशाशन, भ्रष्टाचार, बेरोजगारी, आर्थिक असमानता आदि बिरुद्ध भईरहेको आन्दोलनहरुको (www.cfr.org>article>how-global-gen…..) आफ्नै बिशेषता छ l यी आन्दोलनहरु परम्परागत राजनीतिक पार्टीहरुबाट अलग छन् l यहि आन्दोलनको तागतले संसारका केहि देशहरु जस्तै बंगलादेश, नेपाल र माडागस्कर आदिमा राज्य सत्ता नै परिवर्तन भईसकेको छ l स्वतस्फुर्त रुपमा भएको नेपालको जेनजी आन्दोलन यहाँको कुशाशन, भ्रष्टाचार, बेरोजगारी, आर्थिक असमानता साथै नेतातन्त्र (Oligarchy) र दलतन्त्र (Kleptocracy) बिरुद्ध नै थियो l प्रजातन्त्रको नाममा जनताबाट प्राप्त अधिकार द्वारा जनताको निमित्त शाशन नभएर जनतामाथि शाशन भईरहेको थियो अर्थात् यहाँ राज्य शक्ति जनताका लागि हुनु पर्छ भन्ने हो, जनता माथि राज गर्न होइन l
एक सचेत नागरिक भएर अलिकति पनि सोच्यो भने समग्र देशको स्थिति निराशाजनक नै भएको देखिन्छ, यहाँ हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप र राजनीतिक भागबण्डाका (Political cronyism) कारण कर्मचारीतन्त्र सक्षम छैन अनि देश बिकाशका आधारहरु; व्यापार, व्यवशाय, उद्ध्योग धन्दा आदिमा राजनीतिक साझेदारीका (Crony capitalism) कारण देश बिकाश प्राय ठप्प नै छ l देशमा बेरोजगारीको समस्या बढ्दो छ, युवाहरु श्रम बेच्न बिदेसिनु पर्ने बाध्यता छ l एकातिर जनताहरु दिनानुदिन गरिवीको चपेटामा पर्नु परिरहेको छ, अर्कोतिर राजनीतिक पार्टीका केहि नेताहरु दिन प्रति दिन धनी भईरहेका छन् र विलाशी जीवन बिताइरहेका छन् (Your luxury, our misery) l एकातिर जनताका छोराछोरीहरुलाई जतिनै पढे पनि यो देशमा आफ्नो भविष्य नदेखेर खाडी मुलुकमा गएर पसिना बगाउनु पर्ने बाध्यता छ, अर्कोतिर यहि देशमा केहि टाठा बाठा नेताहरुका छोराछोरी (Nepo babies/nepo kids) भने विलाशी जीवनमा रमाइरहेका छन् l यसरी देशमा भइरहेका राजनीतिक, सामाजिक र आर्थिक विसंगति प्रति जनताहरु सामाजिक संजाल मार्फत आफ्नो असन्तुष्टिहरु व्यक्त गरिरहेको अवस्थामा लोकतन्त्र र प्रजातन्त्रको जगमा बनेको सरकारले सत्तावादी सरकारको शैलीमा एकाएक सामाजिक संजालहरु बन्द गर्ने निर्णय गरे पछि सचेत जेनजी (पुस्ता) चुप लागेर बस्न सकेनl आजको डिजिटल युगमा Gen-Z won’t be silent, unmute your voice भन्ने नारा राम्ररी बुझेका जेनजी (पुस्ता) शशक्त रुपमा आन्दोलनमा उत्रिए र आफ्नै सर्वसत्तावादी सोँचका कारण तत्कालिन सरकार राजिनामा दिन बाध्य भयो l
आज बिज्ञान र प्रविधीको तिब्र बिकाश भईरहेको युगमा देश बिदेशका कुराहरु बुझ्न संचारको पहुँच सरल भएको छ l स्वाभाविक रुपमा संसारमा भएका सामाजिक, आर्थिक, राजनीतिक आदि घटनाक्रमहरु बारे वर्तमान युवा पुस्ता (जेनजी) अनभिज्ञ रहने कुरै भएन l संचार माध्यमको उपलब्धता सरल भएको कारण एक आपसको विचार र भावना व्यक्त गर्न र सूचना आदान प्रदान गर्न सहज भएको छ, जस्को कारण आजको जेनजी (पुस्ता) लाई वर्तमान समाजमा बिध्यमान बेरोजगारी, कुशाशन, भ्रष्टाचार र आर्थिक असमानता बिरुद्ध आवाज उठाउन सहज बातावरण बन्यो l संसारका बिभिन्न देशहरुमा स्वतस्फुर्त रुपमा जेनजी आन्दोलनहरु सुरु भए l यो आन्दोलन परम्परागत राजनीतिक पार्टीहरुको जस्तो एक नेतृत्व र एक नेताको नेतृत्वमा नभएर नेताविहीन र स्वतस्फूर्त (BBC world question program, Dec 7, 2025) नै हो l प्रजातन्त्र र लोकतन्त्रको नाममा निर्वाचित तत्कालिन सरकारलाई नै सत्ताच्युत गर्न सक्ने गरी नेपालमा गत भाद्र २३ र २४ गते दुई दिन भएको जेनजी आन्दोलन पनि नेताबिहीन र स्वतस्फूर्त नै थियो l सार्वजनिक कार्यक्रमहरुमा (Prime TV, Oct 4,2025) जेनजी अभियन्ताहरु बीच नै एक आपसमा मत भिन्नता देखिनु र ज्ञापनपत्रमा (ज्ञापनपत्र, राष्ट्रपतिको कार्यालय, २०८२/०८/०८) थुप्रै जेनजी समुहको नाम उल्लेखित हुनु बाट पनि नेपालमा भएको जेनजी आन्दोलन पनि स्वतस्फूर्त र नेताविहीन हो भन्ने प्रमाणित हुन्छ l स्वाभाविक रुपमा जेनजी भनेको नेपालको सभ्यता, संस्कृती, इतिहास र राजनीति बुझ्दै गरेको तर यहाँ मौलाएको राजनीतिक कुसंस्कार, बेतिथी, कुशाशन, भ्रष्टाचार र आर्थिक विपन्नता बुझ्न सक्ने पुस्ता हो l हालै नेपालमा सरकार परिवर्तन गर्न सक्ने गरी भएको जेनजी आन्दोलनमा कुनै पनि राजनीतिक नारा थिएन, प्रधानत यो आन्दोलन तत्कालिन सरकारले सर्वसत्ताबादी शैलीमा केहि सामाजिक संजालहरुमा लगाएको प्रतिबन्ध बिरुद्ध र देशमा कर्मचारी तन्त्र, न्यायालय हरेक क्षेत्रमा मौलाएको भ्रष्टाचार र कुशाशन आदि बिरुद्ध लक्षित थियो l
कुनै पनि राजनीतिक नारा रहित वर्तमान देशमा मौलाएको कुशाशन, भ्रष्टाचार, आर्थिक असमानता र देशलाई सुशाशन सहित सम्वृद्धि तिर डोर्याउन सक्ने स्थिर सरकारको माग र तत्कालिन सरकारले सामाजिक संजालमा लगाएको प्रतिबन्धलाई हटाउने माग सहित जेनजी द्वारा भाद्र २३ मा भएको आन्दोलनमा तत्कालिन सरकारको अविवेकपूर्ण निर्णयका कारण कैयौं जेनजी आन्दोलनकारीहरुको शाहदाती, पहिलो दिन १९ जनाको मृत्यु र कैयौं घाइते (आउटलाइन खबर, भाद्र २७, २०८२), पश्चात भने आन्दोलनको स्वरूप बदलिएको थियो l स्वाभाविकरुपमा जीवनको बलिदानी सहित भएको आन्दोलन प्लाकार्ड बोक्ने र नारावाजी गर्ने सवालमा मात्र सिमित रहेन, आन्दोलनको स्वरूप केहि बिद्रोही स्वभावको र शशक्त हुन पुग्यो परिणाम स्वरूप देश दुई दिनको अवधिमा नै राजनीतिक संकट र अन्योलको अवस्थामा गुज्रन पुग्यो l जेनजीको न्यायिक आन्दोलन र तत्कालिन सरकारको सर्वसत्तावादी सोचका कारण सिर्जना भएको देशको संकट, अन्योल र विषम परिस्थितिको फाइदा उठाउँदै जेनजी आन्दोलनमा बिभिन्न राजनीतिक समूहहरु घुस पैठ हुन पुगे र केहि हद सम्म जेनजी आन्दोलनको हाइज्याक पनि भयो (Rayamajhi J, Reels), त्यसपछि भने आन्दोलनमा राजनीतिक आवाजहरु सतहमा आए; गणतन्त्र, राजतन्त्र, धर्मनिरपेक्ष, धर्मसापेक्ष, संघात्मक राज्य, एकात्मक राज्य आदि l देशमा एक किसिमले संकट, राजनीतिक अन्योल र विषमता (Political shock) र शक्ति सून्यताको (Power vacuum) अवस्था सिर्जना हुन पुग्यो l शक् डक्ट्रिनको (Shock doctrine) सिद्धान्त अनुसार यस किसिमको संकट र राजनीतिक अन्योल र विषम अवस्थामा एक सक्षम र बिशेष क्षमतावान व्यक्तिको हातमा नेतृत्व रहोस भन्ने सर्वसाधारण जनताको चाहना हुन्छ (Klein N, The shock doctrine, 2007) तर बिभिन्न राजनीतिक शक्तिहरु भने आफ्नो राजनीतिक अभिलाषा अनुसार बिभिन्न रणनीति अपनाएर यस किसिमको विषम परिस्थितीलाई आफ्नो अनुकूल बनाउन चाहन्छन् l नेपालका बिभिन्न सामाजिक संजालहरुमा साथै बिभिन्न संचार माध्यमहरु आदिमा कहिले उत्तरको त्रास, कहिले दक्षिणको त्रास त कहिले पश्चिमको त्रास देखाएर आफ्नो राजनीतिक अभिलाषा पुरा गर्ने प्रयास हुनु यस्का ज्वलन्त उदाहरणहरु हुन् l
राजनीतिक, अर्थिक वा दैवी प्रकोप जस्ता संकट र विषम परिस्थितीमा राजनीतिक नेताहरु आफ्नो स्वार्थ भन्दा माथि उठेर संकटको समाधान खोज्नु भन्दा बरु विषम परिस्थितीलाई आफू अनुकूल परिवर्तन गर्ने मौकाको रुपमा हेर्दछन् (Guardian, Feb 12, 2009) l हालै भएको सत्ता परिवर्तन गराउने जेनजी आन्दोलन पश्चात नेपालको शाशन सत्ता सम्हाली सकेका कुनै पनि राजनीतिक पार्टीहरु बिगतमा भएका कमि कमजोरीको समीक्षा सहित भावी नेपालको सुशाशन र सम्वृद्धिको योजना लिएर नेपाली जनता सामु आउन चाहेनन्, यो नै विषम परिस्थितीमा राजनीतिक नेताहरु बिध्यमान समस्याको इमान्दार समाधान भन्दा आफ्नो राजनीतिक अभिलाषा प्रति बढि मोहित हुन्छन् भन्ने एक बलियो प्रमाण र उदाहरण पनि हो l देशमा कुशाशन, भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, न्यायिक असमानता, गरिवी छताछुल्ल छन् अझ गम्भीर भएर वास्तविक सामाजिक धरातलमा हेरेर भन्ने हो भने देशमा लोकतन्त्र र गणतन्त्र आए पनि नेपाल जस्तो जाती, भाषा र संस्कृतिको बिबिधतायुक्त देशमा राज्यद्वारा गरिने जातीय, भाषिक र साँस्कृतिक विभेदहरू पंचायतकालिन नेपाल भन्दा एक इन्च पनि सुधार भएको छैन l भाषा, भेष, संस्कृती र समग्रमा राष्ट्रिय पहिचानको (National identity) हिसाबले देश अझै पनि पंचायतकालिन इतिहासमा नै अल्झिएको छ l हिमाल, पहाड, तराई मधेश भूगोललाई राज्यले चिन्दछ तर त्यहाँ बस्ने जनतालाई शंकाको दृष्टिले हेर्दछ l अनुहारको आधारमा गरिने विभेद अझै बाँकि छ l आज स्वाभिमानी युवा जेनजी (पुस्ता) ले समेत यो कुरा बुझी सकेको छ l अनुहारको आधारमा नागरिकता प्रमाणित गर्न जन्मथलो नै पुग्नु पर्ने अवस्था पनि छ (Gurung S. Chautari patrika, 082/08/19) l तराइ, हिमाललाई आफ्नो ठान्ने तर तराइवासी र हिमालीलाई पराई देख्ने राज्यको चरित्र प्रति जेनजी अभियन्ताहरुले औंला ठड्याइसकेका छन् (Indigenous TV. Nov 24, 2025) l नेपालको जेनजी (पुस्ता) ले देशको सामाजिक र सांस्कृतिक बनावट सहित वर्तमान नेपालको राजनीतिक इतिहास केहि हदसम्म बुझेको देखिन्छ l गत मंसिर २४ मा जेनजी र नेपाल सरकार बीच भएको सम्झौता पत्रमा (Mission Nepal. 082/08/25) नेपालको संबिधान २०७२ ले बिर्सिएको नेपाली जनताका बिभिन्न आन्दोलनहरु; आदिवासी आन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन, दलित आन्दोलन आदि स्पष्ट सँग उल्लेख गरिएको छ l
आज नेपाल विषम राजनीतिक परिस्थितीमा (Political shock) गुज्रिरहेको अवस्थामा बिगत देखि नेपालको राजनीतिक धरातलमा उतार चाडव सहित अस्तित्वमा रहेको पहिचानको सवाल अब कसरि अगाडि बढ्छ भन्ने जिज्ञासाहरु सामाजिक संजालमा छरपष्ट छन् l जाती, भाषा र संस्कृतीको हिसाबले बहुपहिचान भएको नेपालमा पहिचानको सवाल एक दमै स्वाभाविक हो l वर्तमान राजनीतिक विषमताको फाइदा उठाउन सबै नयाँ, पुराना राजनीतिक पार्टीहरु भर मग्दूर सँग लागेका छन् l सबैको नारा चर्को छ l सबै सँग भिडको कमि छैन l नेपालको वास्तविक सामाजिक र सांस्कृतिक धरातलको कसै सँग स्पष्ट धारणा छैन l नेपालको सुशाशन र सम्वृद्धिको स्पष्ट बैज्ञानिक खाका कसै सँग छैन, छ त केवल उही अमूर्त स्टेरेयोटाइपिक (Stereotypic) बिकाशको नारा l नेपालको वर्तमान राजनीतिक अवस्थाको फाइदा उठाउँदै लोकतन्त्रलाई नै अपब्याख्या गर्ने, आफुले गरेको मात्र ठिक र अरुले गरेको सबै बेठिक भन्ने, संकट र सुरक्षाको नाममा शक्तिलाई केन्द्रिकृत गर्ने प्रयाश पनि कुनै राजनीतिक समूहको अभिप्राय देखिन्छ; वास्तवमा शक् डक्ट्रिनले यहि कुरालाई इंगित गरेको छ l
नेपाल जस्तो जाती, भाषा, संस्कृती र रितीरिवाजहरुले बिबिधतायुक्त देशमा नेपालको वास्तविक सामाजिक धरातल नबुझी एकोहरो शुगा रटाइमा देशको बिकाश मात्र भनेर यो देशको बिकाश हुने होइन, यो नारा त सारा नेपालीले सुन्दै आएको आधा शताब्दी भन्दा बढि भईसक्यो l यहाँका सबै जाती, भाषा र संस्कृतीले यो देशमा अपनत्व महशुश गरेर काँधमा काँध मिलाए मात्र सुशाशन र सम्वृद्धि सम्भव छ l देशमा जातीय विभेद, भाषिक विभेद, सांस्कृतिक विभेद, लैंगिक विभेद अझै पनि जरा गाडेर बसेको छ l नेपालको सवल र मजबुत राष्ट्रिय पहिचान (National identity) बन्न सकेको छैन l हर चिज भारतसँग मिल्छ भने नेपालको वास्तविक परिचय के हो ? मिडियामा समेत (The monkey news. June, 2025) बहसको बिषय बहेको छ l कुनै पनि देशको राजनीतिक दर्शन र दृष्टिकोण सहि र सोहि बमोजिम कार्यान्वयन भयो भने त्यस देशले छोटो समयमा नै सुशाशन र संवृद्धिको फड्को मार्न सक्तछ भन्ने कुरामा शायद विवाद नहोला l
नेपाल जस्तो बहुसांस्कृतिक देशमा नेपालको राष्ट्रवाद भनेको के हो र यहाँको राष्ट्रिय पहिचान कस्तो हुनु पर्दछ ? अधिकांश नेपालीले बुझ्न सक्तैनन् तर यहाँ राष्ट्रवादको नारा खुबै सँग बिक्छ l एकातिर सयौँ थुँगा फूलका हामी……..भन्ने राष्ट्रिय गीत अर्कोतिर आफ्नो मौलिक संस्कृती र आफ्नो आस्थाको भूमि जोगाउन यहाँका आदिवासीहरुले आफ्नै राज्यसँग लड्नु पर्ने (प्रेस बिज्ञप्ति, फागुन २६, २०८१) l कस्तो बिडम्बना ? एकातिर बिकाश र सम्वृद्धिको नारा दिएर नथाक्ने राजनीति अर्कोतिर बिदेशी भूमिमा युवाले श्रम नबेची देशको अर्थतन्त्र नै संकटमा पर्न सक्ने अवस्था l कस्तो अर्को बिडम्बना ? आज नेपाल राजनीतिक विषम परिस्थितिमा छ, यो परिस्थितिको कारण यहाँका ठूलो संख्यामा रहेका तर राज्यमा अधिनस्थ रहेको आदिवासी, जनजाती र अन्य उत्पीडित समुदायको संस्कृती र पहिचान बढि प्रभावित हुनु पर्ने र बढि गुमाउनु पर्ने अवस्था आउन सक्ने हुन सक्छ l शक् सिद्धान्त अनुसार कुनै पनि प्राकृतिक वा राजनीतिक संकटको अवस्थामा मौकाको फाइदा उठाउँदै राज्य आफ्नो अनुकूल नीति ल्याउन चाहन्छ l बहुसंख्यक आदिवासी, जनजाती, मधेसी लगायतको असन्तुष्टि छँदा छँदै (बीबीसी न्युज, Sept 20, 2022) २०७२ सालको प्राकृतिक प्रकोप भूकम्प पश्चात देश प्राकृतिक संकटमा रहेको बेला तत्कालिन राज्यले नेपालको संबिधान जारी गरेर शक् सिद्धान्तको प्रयोग गरिसकेको छ l अब यो देशमा सुशाशन र सम्वृद्धि ल्याउन शुगा रटाईमा गरिने नाराले पुग्दैन, बिध्यमान जातीय, भाषिक, सांस्कृतिक, लैंगिक आदि विभेदहरुको अन्त्य सँगै सबै जाती, भाषा र संस्कृतीले अपनत्व महशुश गर्न सक्ने, कुनै पनि जाती वा समुदायले आफ्नो संस्कृती र रितीरिवाज राज्यद्वारा बहिष्करणमा पारिएको महशुश गर्नु नपर्ने, सवल र मजबूत नेपालको राष्ट्रिय पहिचान निर्माण सहित सक्षम र इमान्दार नेतृत्वको जरुरत छ l

