•  २०८३ श्रावण १४
  • यहाँ किराती इतिहासलाई, प्रत्येक दृष्टिबाट बिगार्ने मेसो गरेका छन् । स–साना पत्रपत्रिकाहरुदेखि लिएर उपन्यास, इतिहास, आदिमा पनि किराती इतिहास बिगार्ने नियत राखिएका छन् । जसले गर्दा किराती यूवाहरुमा उल्टो असर पर्न गएको छ ।

    —डा.स्वामी प्रपन्नाचार्य

    नेपालका इतिहासकारहरुले आफ्नो असली इतिहासलाई छियाछिया पारेको देखिन्छ । सुर्यविक्रम ज्ञवालीले पनि ‘नेपाल परिचय’ पृ.नं. ३० मा किरातीहरु ‘आर्य’ इतर–अलग्गै हुन् भनेर लेखेका छन् । यस्ता अरु पनि नेपालका इतिहासकारहरुले अर्थात शान्तिसुरभले ‘हाम्रो संस्कृतिः एक सिंहावलाकन’ मदनमणि दीक्षितको ‘रुपरेखा’ पत्रिका २०३४ चैत्र र श्रीदेवी देवकोटा ‘ज्योतिष दर्शन’ आदि ग्रन्थ, पत्रपत्रिकाहरुमा निरन्तर नेपालको इतिहासलाई धमिल्याएको देखिन्छ । भरसक किरातीहरुको इतिहास र किरातीहरुलाई अनार्य र मंगोलियाबाट आएका हुन् भन्ने कुरामा जोड दिएको प्रष्ट बुझिन्छ । अनि यो लेखकहरुमा धेरै जस्तो इतिहास देख्ने अधिकारी पनि छैनन् किनभने ऋग्वेदादी ग्रन्थहरुका अध्ययन नगरीकन खाली ग्रिष्फीथ, थिवो, मैक्समुलर आदि र राहुल, के.पी. जयसवाल आदिको ‘हिन्दुपोलिटि’ को आधारमा दुगुरेको देखिन्छ । यस्ता भ्रमात्मक इतिहास लेखेर समाजको सामुन्ने सबै जनता भ्रममा परेका छन् । विशेष गरेर किरातीहरुमा जो युवावर्गहरु छन् तिनीहरुमाथि साह्रै उल्टो असर पर्न गएको देखिन्छ । अब नवयुवकहरुले र कतिपय अधकल्च लेखकहरुले खुलस्त पाराले हामी मङ्गोलियन हौ भनेर कोर्न थालेको देखिन्छ । यी उपयुक्त ठूला इतिहासकारहरुले ‘किराती’हरुलाई मङ्गोलियाबाट आए भनेर लेखे । यस्तो राजनितीक बुद्धिले लेखेको हो, इतिहास लेख्ने दिमागले होइन । त्यसो हुँदा निश्चित रुपले भन्न सकिन्छ कि नेपालको र भविष्य खतरामा छ । हाम्रो भनाइ चाँहि के छ भने हाम्रो मूल इतिहास ऋग्वेद, यर्जुवेद (१०÷१६) अथर्ववेद (१०÷४÷१४), मनुस्मृति (१०÷४३, ४४), विष्णुपुराण (२२), महाभारत भीष्मपर्व, रामायण ब्रह्माण्डपुराण (५१÷६२), वायुपुराण (४५, १२८, १३) मेरुतन्त्र, हिमवत्खण्ड, कौटिलयको अर्थशास्त्र (१४ अधिकरण अध्याय) परघात प्रयोग सुत्र र अमरकोष वनौषधि वर्ग, १४३ योगिनी तन्त्र आदि अनेकौ ग्रन्थहरुमा कहीपनि किरातीहरु मङ्गोलियन हुन् या मङ्गोलियाबाट आएको प्रमाण भेटिदैन । त्यसो हुँदा अङग्रेजहरुले षड्यन्त्रपूर्ण पारामा लेखि, लेखाई गरेको इतिहासले पुरा सफलता प्राप्त गरेको कुरा प्रष्ट हुँदै छ । यस कुरामाथि धेरैजसो ग्रिष्फीथले भ्रष्ट अनुवाद गरेको ऋग्वेदको (५÷२९÷१०) ‘अनासो दस्यु’ आदि मन्त्रको ‘नेप्टे नाक’ अर्थ गरेर निकै संस्कृत नपढेका विद्वान हँ भन्नेहरुलाई भ्रममा पारेका छन् । जस्तो ग्रिष्फीथ जस्तै राहुल पनि थिए । त्यसो हँदा यस्तोहरुका अर्थ मानेर अनर्थ गरि किरातीहरुलाई मङ्गोलियातिर मन्साउनु ठूलो अन्याय हो । वस्तुतः मूलमन्त्रमा आएको ‘अनास’ शब्दको अर्थ त मूढ या मुर्खै हो । त्यस्तै प्रकारले किरातीहरुमा पनि इमानसिंह चेमजोङ्गले ‘किरात इतिहास’ मा स्वयं संस्कृतज्ञ नहुनाले उहाँ पाश्चात्य अङग्रेजहरुको उदाहरण दिएर लेखेका छन् । त्यसमा पनि एकाङगी भएको देखिन्छ । वस्तुतः कालेम्बुङ निवासी गम्भीर राईको ‘ईसाई मल’ भन्ने किताबमा पनि निकै खोजिनीति गर्ने प्रयत्न भएको छ । तर ग्रन्थ अप्रकाशित छ । धरणीधर दाहालको ‘जाति, भाषा र लिपी’ भन्ने पुस्तक प्रकाशमा आएको छ । यसलाई पनि मैले आद्योपान्त गोडेर हेरें । लेखक संस्कृतज्ञ नभएपनि उनको प्रयास प्रशसंनीय छ । तर ग्रन्थ पूरै दासो संस्करणमा शुद्ध गर्नुपर्ने रहेछ । यद्यपी किरातीहरुको बारेमा निकै ‘मुन्धुम’ खोजेर राख्नुभएको छ । मैले संस्कृतमा ‘शुभकामना’ पनि लेखिदिएको छु । ग्रन्थमा धेरै जसो विषय नै अशुद्ध छ । शुद्ध छपाउने सुझाव अर्को पालि । यस रीतिले नेपालका आदिवासी किरातीहरुको इतिहास सहि रुपमा लेखिनु आवश्यक छ । तर कर्कपेटिक र राइटको वंशावलीबाट मात्रै होईन अपितु अङ्ग्रेजी लेखकको तर्क बाहेक । हाम्रो इतिहास संस्कृतमा लुकेको छ । संस्कृतलाई छोडेर किरातहरुको इतिहास अरु ठाउँमा छदै छैन । त्यसो हुँदा मङ्गोलिया र एशियामाइनरबाट आउनेले जो बीउ रोपिदिए त्यस अंशको इतिहासलाई नसुधारेसम्म नेपाल र नेपालीयता खतरामा छ । ऋग्वेदकालदेखि महाभारतकाल अनि बुद्धकालसम्म पनि ठूलाठूला राजशासन गरेर बस्ने नेपाली किरातीहरुको मङ्गोलियाबाट आउने कल्पना गर्नु नै व्यर्थ छ । नमुचि, शम्बर, धुनि, चमुरि, वर्चिन, आदि ऋग्वेदका राजामहाराजा र ऐतरेय महीदास, मीमासा भाष्कर, शवर स्वामी, यजुर्वेदको ‘गुहाभ्य ः किरातम’, अथर्ववेदको ‘केराँसतका’ हिमाचलप्रवेशको वैद्यनाथको किरग्राम……. किरात ग्राम’, काश्मीरको काश्यप गोत्र, काशी गोत्र, महाभारतको एकलब्य, त्यो भन्दा पूर्वको यलम्बरहाङ् ईत्यादिहरुमा किराती इतिहास लुकेकोः छ र यी इतिहासबाट किरातीहरु आएको सिद्ध हुँदैन । त्यसो हुँदा फुट पार्ने पारा मात्रै हो, इतिहास होइन, अत एवं निश्चित रुपमा भन्न सकिन्छ कि न किराती मङ्गोलियाबाट आए, न आर्यहरु एशियाबाट आए अपितु हामी आर्य हिन्दु मूलतः नेपालका निवासी हौं । हाम्रो सृष्टि सगरमाथाबाट आएको हो’ र त्यहीबाट अरु देशमा गएको हो । तर किरातीहरुको इतिहासलाई प्रत्येक दृष्टिबाट बिगार्ने मेसो पारेका छन् । सानातिना पत्रपत्रिकाहरु देखि लिएर उपन्यास, इतिहास आदिमा पनि किराती इतिहास बिग्रन गएको देखिन्छ । उदाहरणका लागि ‘सुम्निमा’ एउटा प्रसिद्ध नेपाली उपन्यास छ । वरपर यस यस उपन्यासको निकै गहकिला चर्चा छ । सोमदत्त बाहुन र सुम्निमा राईनी केटीको माध्यमबाट उपन्यास औधी सिँगारिएको छ । अनि आर्य, अनार्य कुरा कोट्याउने काम भएको छ । भाषा पनि उपन्यासमा हुनुपर्ने नै छ, पूर्वेली भाषा । कोशीको किनारलाई कथाको पार्श्वभूमि बनाइएको छ । शमीको रुखमूनि निदाएको सोमदत्त बिउँझेपछि सुम्निमासँग भएको बार्तालापमा सबैभन्दा पहिले सुम्निमाको नाङगो आड सर्वाङ्ग देखिने कुराले लेखक प्राचीन इतिहासको पानामा हिँडेको देखिदैन । लेखकको दृष्टिमा किरातीहरु जङगली थिए । तर यो इतिहाससँग विश्वासघात गर्नु हो । अनि शिकार खेल्न आउने राजकुमारबाट आश्रमको रक्षार्थ जो कुरा उठाइए त्यसमा किरातीहरु गोहत्यामा परेका छन् । यो कथानकले पनि लेखकको कल्पनाबाट इतिहासको हत्या भएको देखिन्छ । किरातीहरु शुद्ध गोभक्त आर्य हिन्दु थिए । अनि हिन्दु नै हुन् । यस उपन्यासमा पनि किरातीहरुलाई अनार्य नै सिद्ध गर्ने कुचेष्टा गरेका छन् । लेखक ख्याती प्राप्त मान्छे हुन् । सुम्निमा पनि ख्याति प्राप्त नै छ । तर सुम्निमा पनि सन्देह छ । के लेखकले यो बताउन सक्छन् कि कुनचाँहि सुम्निमा नाङ्गै थिइन ? पारुहाङ की सुम्निमा नाङ्गै थिइन् कि कुनै अर्कि साधारण सुम्निमा ? ताना शर्मा तानामा धेरै तानिएका मान्छे हुन् । उनले पुस्तकको अन्त्यमा “सुम्निमा किराती आदि नारीको चित्रद्वारा दुई संस्कृतिको विवेचना कोइरालाले गर्नुभएको छ भनी लेखे । यसमा ताना शर्माको लेखाई साँचो हो भने त पारुहङकी सुम्निमा नैं ठहरियो । यस परिस्थितीमा लेखक किरात मुन्धुम र इतिहासबाट सय कोश टाढा बसेर झटारो हानेको बुझिन्छ । त्यसो हुँदा सुम्निमाको इतिहाससँग फेला नै परेको देखिन्न । वस्तुतः दश हजार वर्षदेखि यता किरातीहरुको इतिहास निरन्तर लुप्त हुँदै गएको हुनाले र गोस्तिहाङको पालादेखि यता स्वयं किरातीहरु दुर्व्यसन र अशिक्षाको खैरोमा जाकिएका हुनाले किरातीहरुले आफ्नो इतिहासको वास्ता गरेनन् । त्यसको परिमाण यो भयो कि बाहिरकाले त नहुँदा के के कल्पना गरे, तर स्वयं नेपालभित्रका लेखकहरुले पनि अनौठो कल्पनाहरु लेखेर लखेट्ने काम गर्दैछन् । झरीको सिकसिकोमा उभिएर ओभानो पहिल्याउने बानी किरातीहरुको छैन । असलमा किरातीहरु ज्यूदै भएर पनि मरिसकेका छन् । ‘छपनीले छानेको र डबकाले हानेको’ मा मस्त छन् । त्यसो भएको हुनाले त नेपालको इतिहास यस रुपमा विकृत हुन गयो । नेपालको. इतिहाससँग यत्रो भयङ्कर खेलाँची किन गरिन्थ्यो ? अतएव निश्चित रुपले भन्न सकिन्छ कि किरातीहरु जङगली थिएनन्, न बस्त्ररहित थिए, न गाईमारा थिए । अनि ‘सुम्निमा’ पर्वतराजाकी छारी पार्वतीलाई भनिन्छ । किराती भाषामा त पारुहाङ्’ महादेवका नाम हो र ‘सुम्निमा’ पार्वतीको नाम हो । भाषामा मात्रै अन्तर छ । त्यसो हुँदा जसको इष्टदेव सुम्निमा देवी छ त्यसको इष्टदेवमाथि आघात गर्नका लागि ‘सोमनाथ’ बाहुनसँग अवैध सम्बन्ध आदिको कल्पनाबाट इतिहास बिगार्नु उचित होइन । देशका जिम्मेदारहरुबाट फुट पार्ने मेसो हुन्छ भने अरुसँग के आशा गर्ने ? वस्तुत ः सुबुद्ध इतिहासको बाटोमा टेक्ने नीरक्षीविवेकीजनसँग न्यायको अपेक्षा राखेर यत्तिकैमा छोडिएको छ ।