छसस । गणतन्त्र घोषणापछि नयाँ नेपालमा लोकतान्त्रिक दलका नेता, कार्यकर्ताहरुले यहाँ जेमन्त झनै बढ्न थालेको छ । हत्या, अपहरण, डकैत, बलात्कार जस्ता अपराधिक क्रियाकलापहरु त दालभात खाए सरह भएको छ । नियम, कानूलाई पंगु बनाउँदै ‘जसको लाठी, उसैको भैसी’ उखानलाई चरितार्थ भएको पाइन्छ । यसले गर्दा ‘लोकतन्त्र’ भनेको जसले जे गरे पनि हुने भन्ने गलत अर्थ लाग्न थालेको छ । मुलुकमा राजनैतिक दलहरु र तीनका नेता तथा कार्यकर्ताहरुले यसरी मनलागी गर्न थालेपछि जनताले लोकतन्त्रको अर्थ यसरी लगाउन थालेका छन् । मुलुकको हरेक निकायहरुमा अनियन्त्रित तवरले यसरी मनपरीतन्त्र चलिरहेको छ । अर्काेतर्फ बजारभाऊ, भहँगाई आकाशिदो छ । नातावाद, कृपावाद, भ्रष्टाचार भने पंचायती व्यवस्थालाई माथ गरिदिने गरी मौलाएको छ । तस्कर, हत्यारा, बलात्कारीका मनोबल उच्च बनाउने काम भईरहेको छ, नियम, कानूनको कुनै अर्थ छैन ।
यस्तो दयनीय अवस्था छ मुलुकको तर दलहरु जनताको जनजीविकाको सवालमा भन्दा आफ्नो कुर्सी कसरी सुरक्षित राख्ने भन्ने ध्याउन्नमै दत्तचित्त रहेका छन् । वर्तमान लोकतान्त्रिक गणतन्त्रमा सबै नेपाली समुदायको प्रतिनिधित्व र समर्थनमा भएको भनियो तर वास्तविकता त्यस्तो देखिएन । अझै लिम्बुवान, खम्बुवान, तमुवान, नेवा, ताम्सालिङ, थारुवान आदि पहिचानवादी समुदायको चित्त वर्तमान गणतान्त्रिक व्यवस्थाले बुझाउन सकेको छैन । यी सब हुनुको पछाडी दलीय गठबन्धनको अकर्मन्यताको पराकाष्ठालेनै हो । जनताको अहम् सवाल एकापट्टि छ, दलहरुका पाँडे पजनी अर्काेतर्फ छ । सत्ताधारी शक्तिले सिंगो मुलुकको भावना बुझ्न नसकेपछि मुलुकको समस्या झनै झाँगिएको छ । पूर्वको पहिचानको लडाई यहीकारण लडिएको हो । यसरीनै दलहरुको गठबन्धन सरकार सुस्तमनस्थितिबाट अगाडि बढ्ने हो भने देश बर्बाद
हुनेछ । अतः सबै राजनैतिक दलहरु राष्ट्रिय हित अनुकूल देशका सबै समस्याको समाधान गर्नेतर्फ उन्मुख हुनुपर्छ र नेपाली जनताको अधिकार र हकलाई सुनिश्चित तुल्याउने कार्य गर्नु पर्दछ । यो कार्य सम्पन्न तब मात्र हुन्छ, जब सरकारमा आसिन पार्टी नेतृत्वका ब्राह्मणवादी प्रवृत्ति निस्तेज हुन्छ । राष्ट्रको सबै समस्याको कारक तत्व यही ब्राह्मणवादी प्रवृत्ति नै हो । त्यसैले यस ब्राह्मणवादी प्रवृत्तिमा परिवर्तन नआएसम्म देशका पहिचानवादी समुदायको चित्त बुझ्ने सम्भावना देखिदैन ।

