कुमार सोताङ राई
पूर्व नेपालको सोलुखुम्बु जिल्लाको सोताङ गाउँमा आदिमकालदेखि बसोबास गरिआएको राईहरु राताप्खु पुर्खाको सन्तान हुन् । राताप्खुका सन्तानको उद्गम थलो सोताङ गाउँ हो । सोताङ भूमिको नामकरण राताप्खुले गरेको हो । राताप्खु पुर्खाले सोताङ भूमिमाथि पाइला टेक्ने क्रममा सत्तो शब्द प्रयोग गरेका थिए । सत्तो शब्द कालान्तरमा अपभ्रंश भएर सोत्तो भयो । सोत्तो शब्दलाई नेपालीकरण गर्दा सोताङ भनिएको हो । सोताङ राई जातिको भाषामा अहिले पनि सोताङ शब्दलाई सोत्तो नै भन्ने गरिएको छ । सोताङ इलाकामा रहेको वन फाडेर र मानव बसोबास र खेतीपाती गर्न योग्य भूमि बनाउने पहिलो व्यक्ति राताप्खु थिए । उनले रा चालेइ(धानको बिऊ) ल्याएर धानको खेती गर्ने सुरुवात गरेका थिए भन्ने श्रुति इतिहास पाइन्छ । सोताङ जातिले पुज्ने कुलदेवता र रीतिथिति राताप्खुले सिर्जना गरेका थिए । सोताङ जातिमा राताप्खु शीर्ष पुरुष थिए । सोताङमा विकास भएको राई जातिको संस्कार संस्कृतिलगायत सम्पूर्ण कुरा सोताङमा सृष्टि गरिएको मानिन्छ । तथापि सोताङवासी राईले आफ्नो परिचय सोताङ नभनेर नाछिरिङ भन्ने गर्दछन् । रावाखोलाबाट बसाई सरेर राताप्खु वर्तमान सोताङ गाउँ आएको मौखिक इतिहास रहेको छ । तर रीतिथिति सम्पन्न गर्दा बखान गरिने रिसिवामा रावाखोला भूमिलाई पुकार्ने गरिएको पाइदैन । नागी र अन्य कुलदेवताको पूजाआजामा सोताङ क्षेत्रको भूभागमा पर्ने बिदेल्खु र सोवोलु बिचमा अवस्थित ठाउँहरु मात्र पुकार्ने गर्दछन् । यसको अर्थ संस्कार संस्कृतिमा बखान गरिने रिसिवाले सोताङ राईको कूल देवता रावाखोलामा उत्पति भएर रावाखोेलाबाट मान्दै ल्याएको देखिदैन । सोताङ जातिले सोताङमा बसोबास गर्दा नाछिरिङ भन्ने गर्छन् । सोताङ गाउँ छोडेर लाखापाखा लागेपछि नाछिरिङको सट्टा सोताङ भन्ने गर्दछन् । यसरी उद्गम भूमि सोताङ भएको राई जातिले नाछिरिङ र सोताङ दुईटा शब्द प्रयोगमा ल्याउने गरेको पाइन्छ । सोताङ गाउँमा रितिथिति गर्दा सोताङ र नाछिरिङ दुवै शब्द प्रयोग गर्ने गरेको पाइदैन । बरु सोताङ र नाछिरिङ शब्दको सट्टा पुरुषलार्य नास्मी र स्त्रीलाई योक्मा भनेर रिथिथितिमा पुकार्ने गरिन्छ । नास्मी शब्दको प्रयोगले सोताङ राई जातिको सृष्टि पुर्खा नास्मी भएको पुष्टि गर्दछ । सोताङ र नाछिरिङ मध्ये कुन शब्दले वास्तविक पहिचान दर्शाउछ, यस विषयमा सोताङ–सोताङ बीच बहसको आवश्यक देखिन्छ ।
सोताङ, पील्मोङ, पाराली, बाङ्देल, राखाली, दिस्माली आदि नाछिरिङको सन्तान भएको मानिन्छ । राई, लिम्बू, सुनुुवार किरातका सन्तान हुन् । तर यीमध्ये कोही आफ्नो पहिचान किरात लेख्न तयार भएको पाइदैन । प्राय जाति र भाषाको सम्बन्ध भूमिसँग जोडिएको हुन्छ । जातिले बसोबास गरेको थातथलोको नामलाई आधार मानेर भाषा र जातिको नामाकरण गरिएको पाइन्छ । यसको उदाहरण केही शब्दहरु लिऔं बङ्गाल थातथलो हुने बङ्गाली, ब्रिटेन थातथलो हुनेले ब्रिटिशि, आसाम थातथलो हुनेले आसामी आफुलाई भन्छन् । भाषा पनि इङ्ल्याण्डमा बोलिने इङ्लीस, नेपालमा बोलिने नेपाली, बङ्गालमा बोलिने बङगाली रहेको छ । राखाली, पाराली, पिल्मोङ, सोताङ दिम्माली, बाडदेल आदि नाछिरिङको सन्तान भएपनि युगौयुग अघि आपसमा छुट्टिएर बेग्ला बेग्लै ठाउँमा वंश विकास भएको समुदाय हो । फरक–फरक ठाउँमा बसोबास–गरेर वंश विकास गर्ने क्रममा भाषा र संस्कृतिको संरचनामा भौगोलिक भिन्नता आएको हो । नाछिरिङको सन्तानहरू बिच भावनात्मक एकता रहेपनि उनीहरूको भाषा, संस्कृति र उद्गम थलो भिन्नाभिन्नै भएको कारण एकतामा अनेकता हुन पुगेको हो । युगौंयुगसम्म आपसमा भाषिक र सांस्कृतिक सम्पर्क विच्छेद हंवा नाछिरिङको सन्तानहरूको भाषा र संस्कृतिमा आएको भिन्नताले विविध रूप धारण गरेको
छ । नाछिरिङ केवल सबै जातिको साझा पुर्खा अथवा आदिम पुर्खा मात्र मान्न सकिने अवस्था रहेको छ । नाछिरिङको सन्तानहरू विभिन्न स्थानमा विकास भएको हुनाले उनीहरूको उद्गम भूमि एवं विकास थलो नै जातिको रूपमा परिणत भईसकेको अवस्था छ । भाषा र संस्कृति फरक रहेको परिस्थितिमा नाछिरिङका सन्तानहरू नाछिरिङ शब्दको छातामुनि अटाउन सकिने अवस्था क्षीण रहेको छ भने वैज्ञानिक आधार पनि देखिएको छैन । भाषा र संस्कृतिमा रहेको एकरूपताले विविध समुदायलाई जोडेर एकताको गाँठोमा कमेर राख्ने गर्दछ । भाषा र संस्कृति नै भिन्न भएपछि जातीय एकताको पहल निरर्थक हुन्छ । मानव सभ्यताको सुरुवातमा दाजुभाइ छुटिएर बेग्ला बेग्लै स्थानमा बसोबास गर्न पुग्नु भाषा भिन्नताको कारक तत्व हो । फरक–फरक स्थानमा बसोबास गरेका दाजुभाइका सन्तानहरू फरक परिवेशमा हुर्किदै फैलिदै जाँदा भाषा र संस्कृतिको संचरना परिवर्तन भयो । भाषा र संस्कृति भिन्न भएकै कारण नाछिरिङको सन्तानहरू सोताङ, पिल्मोङ, राखाली, पाराली, बाङदेल, दिम्माली आदि समुदायमा विभाजन हुनु परेको हो । दिस्मीका सन्तानहरू माप्य, खप र योङलिहाङ भए । माप्यका सन्तान खालिङ भए । खपका सन्तान कुलुङ भए । योङलिहाङका सन्तानहरू पुलुङ र बाहिङ भए । दिस्मीको सन्तानहरू विभिन्न जालिमा विभाजित छन ्। नाछिरिङका सन्तानहरूले युगौंयुगदेखि कायम गर्दै आएको जातीय एकतालाई जीवन्त राख्ने इच्छा हुँदाहुँदै पनि पृथक जाति र संस्कृतिमा विभाजन हुनुको विकल्प नरहेको देखिन्छ । पुस्तौपुस्ता अघि आआफ्नो पुर्खाले सिर्जना गरेर एकपछि अर्को पुस्ताले मौखिक रूपमा जीवित राख्दै ल्याएको मौलिक भाषा र संस्कृतिको अस्तित्व गुमाएर कसैले आफ्नो जातिकी ऐतिहासिक धरोहर मेटाउनु हुदैन ।

