छाङछा
सदाझैं अन्तर्राष्ट्रिय आदिवासी वर्ष विश्वव्यापी रुपमा मनाउने क्रममा नेपालले पनि हरेक वर्ष मनाउँदै आएको छ । विश्वका राष्ट्रध्यक्ष लगायत राष्ट्र संघका महासचिवको आह्वानमा औपचरिक रुपमा मनाउन थालिएको आदिवासी वर्षको प्रभाव विश्व्भर कुनै न कुनै रुपले पर्दै आएको सर्वविदितै छ । छहरा साप्ताहिकले पनि हरेक वर्ष ‘आदिवासी वर्ष’को स्वागत र सफलताको कामना गर्दै आएको हो र गरिनै रहने छ । छहराले आफ्नै जन्मकालदेखि नै आदिवासी, भूमिपुत्रहरुको हक, हित, आवाज मूल रुपमा उठाउँदै आएको स्मरणीय छ । तर अझैं पनि नेपालका रैथाने जाति आदिवासी समुदायको हक, हित र अधिकारको निमित्त स्थापित संघसंस्थाहरु के गर्दैछन्, यी समुदायको हक, हित र अधिकारको निमित्त के कस्ता कार्यहरु गरिरहेको छन्, कसरी गर्दै छन् ? अझैं प्रश्न हल भएका छैनन् ।
यस्ता प्रश्नहरु मडारिइरहेको आजको अवस्थामा सूचनाको माध्यमबाट जनसमक्ष पुग्नुपर्ने हो, पुगिरहेका छन् कि छैनन् ? नेपालको परिप्रेक्ष्यमा आदिवासी जनजाति महासंघको काम के हो ? यसले किन आफ्नो देशको आदिवासी, भूमिपुत्र समुदायको वस्तुस्थिति र समस्याको निराकरण प्रभावकारी ढंगले मुखरीत गर्न र हल गर्ने प्रयत्न गर्न सकेको छैन र चाहेको छैन । आदिवासी, भूमिपुत्र (जनजाति)को नाममा ढाँटी खाने र भ¥याङ उक्लने संस्था नबन्ने हो भने यसलाई केवल एनजीओको रुपमा मात्र लिनु हुँदैन भन्ने अवधारणा आदिवासी समुदायको झैं छहराका पाठकहरुको पनि रहेको छ ।
अन्तर्राष्ट्रिय आदिवासी वर्षको चरणबद्ध कार्यक्रममा नेपालको ‘आदिवासी जनजाति महासंघ’को के कस्ता र कसरी सहभागिता रहँदै आएको छ ? नेपाली समाजले हेरेर सोचिरहेका छन् । कुनै पनि देशमा रहेको पिछडाइएका आदिवासी समुदाय अल्पसंख्यक जनजाति र बहुसंख्यामा रहेका समुदायहरुको यथोचित तथ्य, समुचित रुपमा जनसमक्ष सूचना, मिडिया, सामाजिक सञ्जाल मार्फत प्रवाह हुनुपर्दछ । तर यस्तो भइरहेको छैन ।
यसतर्फ छहरा साप्ताहिक जस्ताले बलबुत्ताले भ्याएसम्म यसमा आआफ्नो तर्फबाट गर्न सक्ने योगदान र सहयोग पु¥याउँदै आएको छ र पु¥याउने प्रतिबद्धता पनि जाहेर गर्दै आएको छ । कुनै पनि कुराको सवालमा नीति ठीक हुनु मात्र पर्याप्त छैन । नीति लागु गर्ने प्रविधि पनि ठीक हुनुपर्छ र लागु गर्नेहरुको आशय र नियत पनि ठीक हुनुपर्छ । यो हुनु सकेन भने कहिले र कुनै पनि लक्ष्य साकार हुन सक्दैन । आजको समसामयिक समस्या र जनभावनाको सार रुप पनि यही हो । किनकी विश्वमा असल र राम्रो भावना भएको धेरै जन्मिए तर संसार किन राम्रो हुन सकेन ? आदिवासी भूमिपुत्रहरुको समस्या हल गर्नेतर्फ उन्मुख संघसंस्था वा व्यक्तिले यस विषयतर्फ गम्भीर भएर सोचुन् । खासगरी विभिन्न जाति एवम् समुदायका विशुद्ध छाता संगठनमा आबद्ध व्यक्तिहरुले गम्भीरताका साथ मनन् गरुन् र यही दिशातर्फ हिडुन् । छहराका पाठकहरु यही चाहन्छन् ।

