•  २०८२ फाल्गुन १८
  • सर्वहारावर्गको उत्थान, भ्रष्ट र सामन्ती व्यवस्थाको अन्त्य गर्दै, मुलुकमा आमूल परिवर्तन ल्याउनका लागि घोषित जनयुद्धको अवसानपछि पनि नेपाली जनताको दुर्दिन ‘ज्यूकात्यू’ नै रह्यो । झनै पछिल्ला दिनहरुमा राजनैतिक घटनाक्रमहरुले देश ‘भताभुङ्गे राजाको, लथालिङ्गे चाला, ज–जसले पाउला, त्यस–त्यसले खाला’को अवस्थाबाट गुज्रिरहेको छ । देश यो अवस्थामा पुग्नुको पछाडि, कथित गणतान्त्रिक दलका नेताहरुकै प्रमुख जिम्मेवार हुन् । त्यसपछि यसको दोष सम्पूर्ण नेपाली जनता र विदेशी दातृ राष्ट्रहरुलाई जान्छ । सत्ता लिप्सा र नीहित स्वार्थसिद्ध खातिर दलहरुले जस्तासुकै क्रान्तिकारी नाराहरु लगाउने, राष्ट्रघाति, जनघाति कार्य गर्न गराउन सहमति जनाउने र व्यापक मात्रामा विदेशी चलखेललाई आत्मसात गर्दै अगाडि बढेकाले आज देशको अवस्था यो गतिमा गुजर्नु परेको हो ।
    राजतन्त्र समाप्त गरी, गणतन्त्रको नाममा नेपाली नागरिकता विदेशीलाई बाँडिएपछि महाकाली सन्धीलाई राष्ट्रघाती सन्धि भन्नेहरुले नै अपर कर्णाली विदेशीलाई सुम्पने काम गरेनन् कि, आन्तरिक सामन्त अन्त्य गर्ने नाममा, विदेशी हस्तक्षेप भित्र्याएनन् कि ? जाति, धर्मको नाममा समाजमा जातीय र धार्मिक सद्भाव भड्काउने काम गरेनन् कि, के गरेनन् । यस्ता विकृति शिवाय मुलुकमा राजनैतिक दलहरुले देश र जनताको पक्षमा पटक्कै काम गरेको देख्न पाइएन ।
    छिमेकी देशको राजनैतिक घटनाक्रमहरुलाई हेर्दा मात्र पनि राष्ट्रवादी भावना पलाउनु पर्ने हो, तर हाम्रा राजनेताहरुमा राष्ट्रवादी भावना कहिल्यै फरेको पाइएन । भारतको सन्दर्भ हेर्दा त्यहाँ ब्रिटिश साम्राज्यवाद विरुद्ध नेता र जनता मिलेर राष्ट्रियताको पक्षमा जेहाद छेडेको पाइन्छ । अहिले पनि भारतको पक्ष विपक्ष दुवै खेमाका नेताहरुमा विमति देखिए पनि राष्ट्रियताको सवालमा भने जस्तोसुकै परिस्थितिमा पनि एकमतले गोलबद्ध हुन्छन् । त्यसैगरी जनवादी गणतन्त्र चीनको ईतिहासले के देखाउछ भने माओले विदेशीको हस्तक्षेप विरुद्ध जनताको साथ लिएर लडेका थिए । अर्काे छिमेकी भुटानलाईनै हेरौ भारतको प्रभाव दक्षिण एशियाको मुलुकमध्ये यहाँ बढीरहेको भनिन्छ । त्यहाँ भारतीय नागरिक प्रशासनिक तहमा छन्, तर पनि भुटानमा कुनै पनि भारतीयले बिना अनुमति रात बिताउन पाउँदैनन् । नेपाल स्वतन्त्र र सार्वभौम सत्ता देश भनिएता पनि यहाँका झोले नेताहरु सहसचिवस्तरको राजदूतको चाकरी गर्न तछाँडमँछाड हुन्छन् ।
    राजनीति भन्दा राष्ट्र ठूलो कुरा हो । राष्ट्रनै पराधिन भए, केका लागि राजनीति ? देश र जनताको हित गर्न नसक्ने, भावना समेट्नु नसक्ने कस्तो राजनीति हाम्रा नेता तथा राजनीतिक दलहरुले गरिरहेका छन् ? नेपाली जनता बेखबर छन् । विस्तारवादीको दलाल भनिने स्व.विश्वेश्वर प्रसाद कोइराला र सामन्तको नायक भनिने राजा ज्ञानेन्द्र जतिपनि राष्ट्रवादी भावना र व्यवहार कथित गणतान्त्रि नेताहरुमा नदेखिनु आश्चार्यकै विषय बनेको छ ।
    पछिल्ला दिनहरुमा नेपाली जनताले देशलाई यस्तो दुर्दशामा पुर्याउने को हुन् ? भनेर खोजबिन गरिरहेका छन् । राणाकाल अघि नायकका रुपमा बरु पृथ्वीनारायण शाह देखिए जसले नेपाल एकीकरणको अभियान चलाएको कारण आज नेपालीले हाम्रो देश नेपाल भनेर गर्व गर्न पाएका छौं । त्यसपछि राणामा जंगबहादुर देशभक्त देखिए । निरंकुशताका प्रतिकनै भए पनि उनको प्रभावका कारण नयाँ नेपाल फर्कियो । पछिल्ला समयमा गद्दारहरुले राजालाई गुमराहमा पारेर राजा र जनताबीचको दुरी बढाउने कार्यमा लागे । अहिले राजतन्त्रको अन्त्य र गणतान्त्रिक व्यवस्थाको प्रादुर्भाव पश्चात पनि यिनै कथित गणतान्त्रिकवादीहरुले, यहाँका आदिवासी, भूमिपुत्र लगायत सबै तह र तप्काका नेपाली जनताहरुलाई भ्रममा पारेर आआफ्नो दुनो सोझ्याउने काम गरिरहेका छन् । यसप्रति आम नेपाली चनाखो रहनु पर्दछ ।