•  २०८२ फाल्गुन १८
  • छसस । गणतान्त्रिक संविधान घोषणा सँगसँगै मुलुकमा अर्काे विद्रोहको थालनी भएको छ र हो । जनआन्दोलन २ पछिका घटनाक्रममा पनि सयौं न्यायप्रेमी जनताको ज्यान गएको छ भने त्यतिनै अंगभंग पनि भएका छन् । यो हुनुमा जनआन्दोलन २ को भावना र मर्मलाई कुठाराघात गर्दै गरेको कुकर्मको प्रतिफल ठानिएको छ । यसको जिम्मेवार कथित सबै गणतान्त्रिक दलहरुले लिनु पर्दछ । यही परिवेशमा जनआन्दोलनमा रायमाझी आयोगले किटान गरेको दोषीहरुलाई मल्लिक आयोगका प्रतिवेदनलाई झैं रद्दिको टोकरीमा फालिए । यस्ता आयोगका प्रतिवेदनहरुलाई रद्दिको टोकरी फाल्ने जस्ता जनविरोधी क्रियाकलाप हिजो मात्र थिएन, त्यस्ता जनभावना विपरीतका कार्यले आज पनि निरन्तरता पाईरहेकै छ । आज पनि ब्राह्मणवादी प्रवृत्ति भएकाहरुले । यहाँका भूमिपुत्रहरुलाई आपसमा जुँधाई मौकामा चौका दाउँ लगाई रहेका छन् । स्पष्ट छ, देशमा सहि गणतन्त्र स्थापना हुन नदिने प्रपञ्च यीनै तत्वको हात रहेको छ ।
    छहरा प्रकाशनले आफ्नो स्थापना कालदेखिनै असमानता, जातीय विभेद, उचनीच र सामाजिक कुरीतिका कारण देश विकासमा अवरोध खडा भएको कुरा उल्लेख गर्दै आएको हो । जन्मदै कुनै जात ठूलो र पुजनीय हुने अवैज्ञानिक परम्पराको विरोधमा कलम चलाउँदा राज्यबाट यसपत्रिकाका प्रकाशकलाई चीसो छिडिको बास समेत गराइयो । प्रतिभा, सीप, विद्वता र कला र योग्यताको आधारमा नभई यहाँ साना र ठूला कथित जातको आधारमा मूल्यांकन हुने गरेको परम्पराले नै मुलुकलाई विकराल रुपले अझैंसम्म पनि गाँजेको छ । यस्तै बेथिति, भ्रष्टाचार, कुशासन अन्त्यको लागि २०८२ भाद्र २३÷२४ गतेको जेनजी आन्दोलन भएको कुरालाई कसैले नकार्न सक्दैन । अपशोच जेनजी आन्दोलनको वैशाखी टेकेर बनेको यो सरकारले पनि जेनजी र सारा नेपाली जनता र भावना विपरीत कार्य एकपछि अर्काे गरेर मुलुकमारा, जनभावना विपरीत कार्य गरिरहेको कारण हिमाल, पहाड र तराईभर असन्तुष्टिका लहर फैलिरहेको देखिन्छ ।
    यस्ता असमानता, बेथिति, सामाजिक कुरीति जातीय विभेद, उचनीच जस्ता गलत प्रवृत्तिको प्रतिकार गर्नेहरु माथि अझै पनि साम्प्रदायिक भनेर ब्राह्मणवादका पृष्ठपोषकहरुले आरोप लगाउने कार्यले आज पनि निरन्तरता पाएको छ । यदि छहरा प्रकाशन र छहरा साप्ताहिक जस्ता संस्थाहरुले विगतदेखि उठान गर्दै आएको जायज सवालहरुलाई त्यतिबेलैदेखि शासकहरुले गम्भीरताका साथ लिएका भए आज सबै मठमन्दिर र खसम कहालिएकाहरुको चुला चौकाहरुमा कामी, दमाइ, सार्की, गाइने आदि जस्ता कथित पानी नचल्ने जातिहरु बेरोकटोक पस्न पाउथे, छुन पाउथे । र सिंगो देश र समाजबाट जातीय विभेदको ‘तुष’ यसरी बाँकी रहने थिएन ।
    सतीले सराप गरेको भनिएको देशमा न्याय र समानताको निमित्त आवाज बुलन्द गर्नेहरु, अन्याय, अत्याचारी र व्यभिचारीहरुको दृष्टिमा सह्य किन हुन्थ्यो र ? शासकहरुको यस्तै अविवेकीपूर्ण व्यवहार र क्रियाकलापका कारण यतिबेलासम्म यहाँका धर्तीपुत्रहरु ‘पहिचान’का खोजिमा भौतारीरहनु परेको छ । शान्तिकामी, आदिवासी, मधेसी, शील्पी समुदायहरु पहिचानको खोजिमा भौतारीदै गर्दा यसले सशस्त्र विद्रोहको रुप नलेला भन्न सकिन्न । यसतर्फ राज्यले समयमानै सजग र सतर्कता नअपनाए भोलिका सम्भावित भीषण रुपलाई देशले थेग्न सक्ने अवस्था रहला नरहला । यसको सम्पूर्ण जिम्मेवार नयाँ, पुराना सबै दलहरुले लिनु पर्दछ ।