•  २०८२ फाल्गुन १८
  • छसस । लोकतान्त्रिक प्रणालीमा प्रत्येक निर्वाचन एउटा सामाजिक र राजनीतिक दृष्टिले महत्वपूर्ण घटनाको रूपमा आउँछ । विशेष गरी आदिवासी, दलित र अन्य सीमान्तकृत समुदायहरूको भोटिङ प्रवृत्ति लोकतान्त्रिक प्रतिनिधित्व, सामाजिक न्याय र विकासको दृष्टिले संवेदनशील विषय हो । यी समुदायहरू ऐतिहासिक रूपमा सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछाडि परेका छन् । त्यसैले उनीहरूको मतदान निर्णयले नीतिगत र राजनीतिक संरचनामा प्रभाव पार्ने क्षमता राख्छ । त्यसैले गर्दा आफ्नो मतलाई सही सदुपयोग गरी सही नेतृत्वलाई निर्वाचित गराउनु आवश्यक छ जसका लागि निम्नकुराहरुमा ध्यान दिन जरुरी छ ।
    आदिवासी र दलित समुदायहरूलाई परम्परागत रूपमा नेपालको सामाजिक संरचनामा सीमित अधिकार र अवसर प्रदान गरिएको छ । भूमिहीनता, शिक्षा र रोजगारीको कमी, स्वास्थ्य पहुँचमा असमानता, तथा राजनीतिक प्रतिनिधित्वको न्यूनता जस्ता कारणहरूले गर्दा यी समुदाय लामो समयसम्म समाजको मुख्य प्रवाहबाट अलग रहेका छन् । यस पृष्ठभूमिले उनीहरूको मतदान निर्णयलाई विशेष महत्व दिन्छ, किनभने भोट दिने अधिकारले उनीहरूलाई सामाजिक समानता र अधिकारको प्राप्ति गर्न एउटा साधनको रूपमा काम गर्छ ।
    आदिवासी र दलित समुदायले प्रायः आफ्नै समुदायका उम्मेदवारहरूलाई प्राथमिकता दिन्छन् । यदि उम्मेदवार स्वयं आदिवासी, दलित वा अन्य सीमान्तकृत समुदायको हो भने, त्यसले विश्वास र आत्मसमानको भावना जगाउँछ । तर आफ्नो समुदायको व्यक्ति भन्दैमा मत दिँदा पनि पछि समुदायमाथि नै घात हुन सक्छ त्यसैले आफ्नो समुदायलाई बुझेको आफ्नो सांस्कृतिक र भौगोलिक मुद्दा उठाउँने आफ्नै समुदायक. व्यक्ति वा दललाई जिताउँदा राम्रो हुनेछ ।
    त्यसैगरी विगतमा गरेका काम र समाजका यी वर्गहरूले प्रायः राजनीतिक दलको इतिहास र छविलाई पनि ध्यानमा राख्नुपर्छ । विगतमा दलले दलित वा आदिवासी समुदायको हितमा काम गरेको छ, छैन । साथै, दलले ल्याउने नीतिहरू, जस्तै शिक्षा, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र भूमि अधिकार, यी समुदायको समर्थनमा निर्णायक भूमिका खेल्छ खेल्दैन । र जितेपछि दल वा उम्मेदवारले स्थानीय समुदायको माग अनसुना पो गर्छन् की यी सम्पूर्ण कुराहरुमा पनि सजग हुनु पर्दछ ।
    साथै आदिवासी, दलित र सीमान्तकृत समुदायको लागि आवश्यक नीति र विकास कार्यक्रमको प्रभाव अत्यन्त महत्वपूर्ण हुन्छ । शिक्षा पहुँच, स्वास्थ्य सेवा, रोजगारी, महिला सशक्तिकरण, सामाजिक सुरक्षा र पूर्वाधार विकास जस्ता मुद्दामा उम्मेदवारको स्पष्ट योजना र प्रतिबद्धता देखिनु आवश्यक हुन्छ । उदाहरणका लागि, यदि कुनै उम्मेदवारले ग्रामीण क्षेत्रका आदिवासीका लागि स्कूल निर्माण, स्वास्थ्य क्लिनिक स्थापना, वा स्वरोजगार कार्यक्रम ल्याउने योजना प्रस्तुत गर्दछ भने यस्ता व्यक्ति वा दललाई मत दिने बारे विचार गर्न सकिन्छ ।
    आदिवासी समुदायको सांस्कृतिक, धार्मिक र परम्परागत मूल्य मान्यताहरुलाई पनि ध्यानमा राखी जसले काम गर्ने अठोट राख्छन्, क्षमता राख्छन् उनीहरुलाई हेर्नुपर्दछ, रोज्नुपर्दछ ।
    समग्रमा हेर्दा, आदिवासी, दलित र अन्य सीमान्तकृत समुदायको भोट बैंकका रुपमा मात्र लिने गर्दछन् । निर्वाचन अघि मिठामिठा आश्वासन र भाष्ण दिन्छन् र जितेपछि फेरी अर्कै चुनावमा मात्र देखिन्छन् । त्यस्ता किसिमका उम्मेदवार वा दललाई राम्ररी चिन्नुपर्दछ । दलको विगतको क्रियाकलापलाई पनि नियाल्नु पर्दछ । जसले नीतिगत प्रतिबद्धता, सामाजिक न्याय, विकास कार्यक्रम, स्थानीय नेतृत्वको प्रभाव र सांस्कृतिक मुद्दाको उठान गर्दछ र ती क्षेत्रमा काम गर्नसक्ने ल्याकत राख्दछन् त्यस्ता दल वा उम्मेदवारलाई अबको निर्वाचनमा जिताउन पर्दछ ।