नेपालको इतिहास लामो संघर्ष, सामाजिक असमानता र बहुसांस्कृतिक विविधताबाट भरिएको छ । यहाँका आदिवासी भूमिपुत्र, दलित र अन्य सिमान्तकृत समुदायले देशको सांस्कृतिक, सामाजिक र आर्थिक जीवनमा महत्वपूर्ण योगदान दिएका छन्, तर ऐतिहासिक रूपमा उनीहरूलाई सामाजिक, आर्थिक र राजनीतिक रूपमा पछाडि राखिएको छ । राजा र राज्यको केंद्रीकृत संरचनाले धेरै पीढीसम्म यी समुदायहरूको पहिचान, अधिकार र सहभागिता सीमित गरेको थियो । २००७ सालमा राणा शासनको अन्त्यपछि नेपालमा लोकतान्त्रिक अभ्यास सुरु भए पनि वास्तविक सामाजिक परिवर्तन धेरै समयसम्म अपूर्ण रह्यो । २००७ सालपछि संवैधानिक सुधारहरू भए तापनि सिमान्तकृत समुदायहरू अझै पनि मुख्यधारामा पूर्ण समावेश हुन सकेनन् । दलित समुदाय ऐतिहासिक रूपमा “अछूत” भनेर चिनिने समूह हुन्, जसलाई सामाजिक, धार्मिक र आर्थिक जीवनबाट बहिष्कृत राखिएको थियो । उनीहरू प्रायः शारीरिक श्रम, सीमित आर्थिक अवसरमा मात्र सिमित थिए । त्यस्तै, आदिवासी भूमिपुत्र, जस्तै लिम्बु, मगर, राई, नेवारी, तामाङ, थारु, लगायतका समूहहरूले परम्परागत सांस्कृतिक अभ्यास, कृषि र स्थानीय शासन प्रणालीमा योगदान पुर्याए, तर राज्यको केंद्रीकृत प्रशासनले उनीहरूको भाषा, संस्कृति र राजनीतिक प्रतिनिधित्वलाई सीमित गरेको थियो । नेपालको पहाडी, तराई र हिमाली भेगमा बसोबास गर्ने भूमिपुत्र र अन्य सिमान्तकृत समूहहरू सामाजिक संरचनामा न्यूनतम पहुँचका कारण शिक्षा, स्वास्थ्य र राजनीतिक प्रतिनिधित्वबाट वञ्चित थिए । ऐतिहासिक रूपमा यी समूहको पिछडापन बहुसंख्यक जनतासँगको असमानताको परिणाम थियो ।
राजनीतिक दृष्टिले हेर्दा नेपालका लोकतान्त्रिक आन्दोलनहरू, विशेष गरी २०४६ सालको आन्दोलन र २०६२–६३ को दोस्रो जनआन्दोलनले सिमान्तकृत समुदायका लागि नयाँ अवसर सिर्जना गरे । २०४६ सालको आन्दोलनले बहुदलीय प्रणाली स्थापना गर्दै दलित र आदिवासी भूमिपुत्रलाई मतदान अधिकार र राजनीतिक प्रक्रियामा सहभागिता सुनिश्चित ग¥यो। दोस्रो जनआन्दोलनले राजा वीचको सत्ता समाप्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना ग¥यो र जातीय, भाषिक र लैंगिक समानताका लागि कानुनी आधार तयार भयो । संविधानले विशेष रूपमा सिमान्तकृत समुदायलाई प्रतिनिधित्वमा आरक्षण र सामाजिक न्यायको प्रावधान गरेको छ । संघीय नेपालमा प्रत्येक प्रदेशले जनसंख्या अनुपात अनुसार स्थानीय, प्रदेशीय र राष्ट्रिय प्रतिनिधित्वमा आरक्षण व्यवस्था गरेको छ, जसले दलित, आदिवासी भूमिपुत्र, महिलाहरू र पिछडिएका समुदायलाई राजनीतिक प्रतिनिधित्वको कानुनी सुनिश्चितता दिएको छ । यद्यपि राजनीतिक सहभागिताको वास्तविक अभ्यासमा यी समूहहरू अझै पनि प्रतीकात्मक भूमिका मात्रै पाएका छन् ।
सामाजिक परिवर्तनका प्रयास भए पनि परम्परागत संरचना अझै प्रभावकारी छ । दलित र आदिवासी भूमिपुत्रमा साक्षरता दर राष्ट्रिय औसतभन्दा कम छ र ग्रामीण भेगमा विद्यालयको पहुँच र गुणस्तर पर्याप्त छैन । उच्च शिक्षा र पेशागत प्रशिक्षणमा सीमित पहुँचले रोजगारी र आर्थिक सशक्तीकरणमा बाधा पु¥याउँछ । आर्थिक रूपमा यी समुदायका मुख्य आय स्रोत कृषि र परम्परागत पेशा हुन्, र आधुनिक रोजगारी, वित्तीय पहुँच र उद्यमशीलताका अवसर कम भएका कारण आर्थिक पिछडापन कायम छ । जातीय पूर्वाग्रह, अस्पृश्यता र सामाजिक भेदभाव अझै पनि ग्रामीण र शहरी क्षेत्रमा देखिन्छ । परम्परागत रूपमा बहिष्कृत समूहका सदस्यहरू अझै निर्णय प्रक्रिया र नेतृत्वमा सीमित अवसर पाउँछन् ।
राज्यले सिमान्तकृत समुदायका लागि धेरै कानुनी प्रावधान र योजना ल्याएको छ, तर कार्यान्वयनको स्तर कमजोर छ । संसद, स्थानीय निकाय र प्रदेश सभामा आरक्षण व्यवस्था भए तापनि वास्तविक नेतृत्व भूमिकामा कम मात्र व्यक्ति पुग्छन् । पार्टी नेताहरूले सिमान्तकृत प्रतिनिधि प्रयोग गर्ने तर प्रभावकारी निर्णयमा कम सहभागी गराउने प्रचलन देखिन्छ । शिक्षा, स्वास्थ्य, आवास र रोजगारीमा लक्षित कार्यक्रमहरू भए पनि ग्रामिण र दुर्गम क्षेत्रका लाभार्थीलाई कार्यक्रमको बारेमा जानकारी, पहुँच र कार्यान्वयनको समन्वय पर्याप्त छैन । आदिवासी भूमिपुत्र भाषिक र सांस्कृतिक पहिचान संरक्षणका लागि कानुनी पहल भए पनि शहरीकरण र विकास परियोजनाले सांस्कृतिक विस्थापनको खतरा बढाएको छ ।
अन्तर्राष्ट्रिय दृष्टिले हेर्दा नेपालले युनेस्को, संयुक्त राष्ट्रसङ्घ र अन्य विकास संस्थासँग सहकार्य गर्दै समावेशी विकासको प्रयास गरेको छ । यस्ता निकायहरूले दलित र आदिवासी भूमिपुत्रको शिक्षा, स्वास्थ्य र आर्थिक पहुँचमा सुधारको आवश्यकता जोडेका छन् । अन्य दक्षिण एशियाली मुलुक, जस्तै भारत र भुटानले सिमान्तकृत समुदायका लागि शिक्षा, स्वास्थ्य र आरक्षण नीति प्रभावकारी रूपमा लागू गरेका छन् । नेपालमा कानुनी व्यवस्था भए पनि कार्यान्वयन र निगरानी प्रणाली कमजोर देखिन्छ ।
भविष्यमा सुधारका अवसर अझै व्यापक छन् । डिजिटल शिक्षा, ग्रामीण विद्यालय सुधार र उच्च शिक्षा पहुँचले समुदायलाई सामाजिक–आर्थिक रूपले सशक्त बनाउन सक्छ । कृषि, हस्तकला, पर्यटन र लघु उद्यमशीलता मार्फत आर्थिक अवसर सिर्जना गर्न सकिन्छ । वित्तीय समावेशीकरण र सूक्ष्म ऋण योजनाले उद्यमशीलता प्रवर्धन गर्न सहयोग पु¥याउँछ । सिमान्तकृत समुदायका नेताहरूलाई निर्णय प्रक्रियामा वास्तविक प्रभाव सुनिश्चित गर्नु जरूरी छ । दल र सरकार स्तरमा समावेशी नीति र पारदर्शिता आवश्यक छ । भाषा, परम्परा, रीतिरिवाज र सांगीतिक विविधताको संरक्षण र प्रवर्धन गर्न समुदाय–आधारित कार्यक्रम आवश्यक छ ।
नेपालमा सिमान्तकृत समुदायले ऐतिहासिक पीडा र सामाजिक असमानताको सामना गर्दै आएका छन् । राजनीतिक परिवर्तन र संघीय संरचनाले अवसर प्रदान गरेका छन्, तर कानुनी प्रावधान र घोषणापत्रहरू प्रायः आश्वासनको स्तरमै सीमित छन् । सामाजिक, आर्थिक र सांस्कृतिक समावेशीकरण अझै अपूर्ण छ । वास्तविक सुधारका लागि शिक्षामा पहुँच, आर्थिक सशक्तीकरण, राजनीतिक प्रतिनिधित्व र सांस्कृतिक संरक्षण सुनिश्चित गर्नु अत्यावश्यक छ । यसबाट मात्र बहुसांस्कृतिक, समावेशी र न्यायसंगत समाजको निर्माण सम्भव छ । नत्र भने यी समुदायबाट विभिन्न कालखण्डमा परिवर्तनका दिएका आहुतीको ऋणबाट देश कहिल्यै मुक्त हुन सक्दैन ।

