—तीर्थ नेपाली
छसस । संघीय गणतान्त्रिक नेपालमा अझै पनि लिखितममा जे सुकै भए पनि व्यवहारमा जातपात, उचनीच, छुवाछुतको तुष यथावत नै छ । डलरका खेतीपाती गर्ने विश्वकर्मा, परियार या त सार्की, गाइने नेताहरले खास दलित वर्गको हकहित र उत्थानका लागि तारे होटलहरुमा सेमिनार या त आम सभाहरुमा खुबै मीठामीठा सपना देखाए पनि उत्तेजित वक्तव्यबाजी गरे पनि त्यो त्यही तारे होटलहरुका सेमिनारहरु र आमसभा, भेलाहरुमा मात्र सिमित हुने गरेको यथार्थ जगजाहेर छ । यद्यपी उनीहरु जातीय मुक्तिको बखान गर्छन् तर वास्तविकतामा छुवाछुत, उचनीच, जातपातको विभेद हाम्रो मुलुकमा अझै टड्कारो रुपमा रहेको छ भन्ने कुरा हालै कञ्चनपुरमा घटेको एक घटनालेनै पुष्टि गर्दछ ।
प्राप्त जानकारी अनुसार यही माघ ९ गते सरस्वती पुजाको दिन कञ्चनपुरको वैद्यनाथ आधारभुत विद्यालयमा सरस्वती पुजाको प्रसाद ग्रहण र वितरण गर्नेक्रममा दलितको लागि बेग्लै व्यवहार भएको खबर छ । खबर अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर कुमार भण्डारीले विद्यालयका सबै शिक्षक, अभिभावक लगायत विद्यार्थीहरुलाई टिका लगाई हातहातमा प्रसाद उपलब्ध गराएका थिए भने उक्त विद्यालयका कामु प्रधानाध्यापक गजिराम सार्कीलाई भने पानी नचल्ने र सानो जाति भएकै प्रचलनका कारण नीज अध्यक्ष भण्डारीले अलग्गै रुखको पातमा टिका राखी उपलब्ध गराई जातीय विभेद गरेको खुल्न आएको छ । यसरी गजिराम सार्कीले आफुमाथि जातीय विभेद भएको चोट थेग्न नसकी नेपाल शिक्षक महासंघ कृष्णपुरमा जातीय विभेद भएको भनि उजुरी हालेपछि महासंघले एक विज्ञप्ती जारी गर्दै, आवश्यक कारवाहीको निमित्त सम्बन्धित निकाय समक्ष ध्यानाकर्षण गराएको छ । यो घटनाले गणतन्त्र नेपालको खिल्ली उठाउँदै देशमा अझै जातीय विभेदको तुष बाँकी नै रहेको पुष्टि गरेको छ । प्रचण्ड, ओली जस्ता टाठाबाठाहरुले छुवाछुत र जातीय विभेद अन्त्य हुनुपर्छ भनेर जतिसुकै ठूलाठूला मञ्चमा भाष्ण छाँटे पनि उनीहरुकै व्यवहारमा एकरत्ति परिवर्तन भएको पाइदैन । दलित मध्यका धनी र बोलक्कड र पढेलेखेका रिमा विश्वकर्मा र मित्र परियारहरु जस्ता त जसलाई पनि आफ्नो प्रभावमा पार्न सक्दछन् । छिनमै रवी र प्रचण्ड जस्ताहरुलाई समते यिनीहरुले मोहित गराई निहित स्वार्थपूर्ति गर्न सफल भए । तर यो टिका प्रकरणमा थाहा पाएर पनि किन कोही बोल्दैनन् ? । सिधासाधा दलितहरुले यिनीहरु जसरी आफ्नो दुनो सोझ्याउन कदापी सक्दैनन् । “यहाँ जातीय भेदभावमा परिवर्तन, बोलक्कड, टाठाबाडा र पैसाको कारणले भएको छ । जो टाठाबाठा र खुरापाती दिमागका छन्, जो धनीमानी छन्, तिनीहरु जसको घरमा पनि निर्धक्कसँग जान, आउन सक्दछन्, तर पैसा पनि छैन र खुरापाती दिमाग र टाठाबाठा पनि छैन भने उनीहरु सँधै अपहेलित भएर बस्नुपरेको छ ।
यसको निराकरणका लागि मुख्य रुपमा दलित शब्दलाई नै हटाउनु पर्दछ । उनीहरु आम नेपाली सरह स्वाभिमानी तरिकाले बाँच्न पाउने वातावरणको सृजना गराउनु पर्दछ र प्रचलित नियम, कानूनलाई राजनैतिक दलका शिर्षस्थ नेता तथा कार्यकर्ताहरुबाटै पूर्ण रुपमा व्यवहारमा उतार्नु पर्दछ । र अहिलेका चर्चित खेलाडीहरु रिमा विश्वकर्मा र मित्र परियारहरु जस्ता जो विदेशमा पाएको अपार सुविधा छोडी नेपालमा जातीय मुक्तिको लागि आएका हौ भन्नेहरुले कञ्चनपुरको यो टीका प्रकरण बारे किन केही बोलेका छैनन्, कि उनीहरुको नजरमा र विचारमा गजिराम सार्कीमाथिको यो घोर अपमान जातीय विभेद भएन ? होइन भने अष्ट्रेलिया र युरोपको अथाह सुविधा सम्पन्न जागिर त्यागी नेपालमा जातीय मुक्ति कै लागि आएका मित्र परियारहरु यसबारे किन चुप ?

