छसस । महिलामाथि हुने हिंसाका घटनाहरू आज पनि दिनदिनै बढिरहेका छन् । घरेलु हिंसा, बलात्कार, मानसिक यातना, दाइजो र सामाजिक विभेदका कारण महिलाहरू निरन्तर पीडित भइरहेका छन् । यस्ता गम्भीर अपराधमा संलग्न दोषीहरूलाई कडा कारबाही हुनुपर्ने भए पनि राज्यको भूमिका अपेक्षाकृत कमजोर देखिन्छ । कानून छन्, तर तिनको प्रभावकारी कार्यान्वयन नहुँदा पीडितले न्याय पाउन सकेका छैनन् ।
पहिले महिलामाथि हुने हिंसा मुख्यतः तराई क्षेत्रका ग्रामीण भेगमा बढी हुने गरेको चर्चा हुन्थ्यो । तर पछिल्लो समय शिक्षित जनशक्ति बसोबास गर्ने शहरी क्षेत्रमा समेत यस्ता घटनाहरू तीव्र रूपमा बढिरहेका छन् । यो समाजका लागि अत्यन्त लज्जास्पद र चिन्ताजनक अवस्था हो । शिक्षा र चेतनाको विकाससँगै हिंसा घट्नुपर्नेमा उल्टै बढ्नुले सामाजिक मूल्य–मान्यतामा गम्भीर प्रश्न खडा गरेको छ । यस संवेदनशील विषयमा सरकार, सुरक्षानिकाय, मानव अधिकारकर्मी र नागरिक समाजले अपेक्षित चासो देखाउन सकेका छैनन् । महिला हिंसालाई व्यक्तिगत घटना होइन, सामाजिक अपराधका रूपमा लिएर राज्यले कडा नीति, छिटो न्याय र प्रभावकारी रोकथामका उपाय अपनाउन जरुरी छ । महिलाको सुरक्षा सुनिश्चित नगरी समृद्ध र सभ्य समाज निर्माण सम्भव हुँदैन ।

